कृषि नीतिको अभावमा किसान मर्कामा : कृषिमन्त्री साह

विजय साह

जनकपुर

प्रदेश २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले उचित कृषि नीतिको अभावमा किसान मर्कामा परेको बताएका छन्।

आइतबार महोत्तरीको बर्दिबासमा समाजवादी किसान महासंघ नेपालको प्रदेश २ स्तरीय अगुवा किसान भेलालाई सम्बोधन गर्दै मन्त्री साहले उचित कृषि नीतिको अभावमा किसान मर्कामा परेको बताउँदै संघीय सरकारसँग किसान मैत्री नीति बनाउन माग समेत गरे।

उनले कृषि नीति नबनेसम्म किसानको स्तर बृद्धि नहुने भन्दै नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको महत्वपूर्ण योगदान रहँदै आएको बताए।

देशको कुल ग्राहस्थ उत्पादनमा करिब एक तिहाई योगदान र करिब दुई तिहाई जनसंख्या रोजगारी तथा जीविकोपार्जनका लागि यसै क्षेत्रमा निर्भर रहँदै आएको जनाए।

कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखिँदै आएको भएपनि अपेक्षाकृत रुपमा यस क्षेत्रको विकास हुन नसकेको बताउँदै बाली उत्पादनमा बृद्धि ल्याउन प्रदेश सरकारले किसान लक्षित विभिन्न कार्यक्रम संचालन गरिरहेको मन्त्री साहले बताए।

भेलालाई समाजवादी किसान महासंघ प्रदेश २ का अध्यक्ष संजय सिंह, प्रदेश सभासदस्य बच्चा यादव, अशोक यादव र भूमि किसान संघका जगदेव यादवले पनि सम्बोधन गरेका थिए।

प्रकाशित मिति: : 2021-02-28 17:03:00

प्रतिकृया दिनुहोस्