प्रदेश–२ को नवनियुक्त प्रदेश प्रमुख डा राजेश झाले आफ्नो पदभार सम्हालेलगत्तै आज रेडियो नेपालको महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाको गौरीडाँडास्थित प्रादेशिक प्रशारण केन्द्रको निरीक्षण गरेका छन्।
निरीक्षण गर्दै प्रमुख झाले सबै जातजातिको साझा धरोहरको रुपमा रहेको रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्रको अनुगमनबाट आफूले कामको थालनी गरेको बताए।
उनले सबै जातजातिको भाषा, संस्कृतिको विकासमा रेडियो नेपालले खेलेको भूमिका प्रशंसनीय रहेकाले यसको विकासमा सहयोग गर्ने बताए।
प्रमुख झाले रेडियो नेपालको प्रसारण पहुँच नेपालमा सबैभन्दा बढी भएकाले यो राष्ट्रिय धरोहर रहेको बताउँदै रेडियो नेपालको अझै विकास हुनुपर्ने धारणा व्यक्त गरे।
सो अवसरमा रेडियो नेपालका प्रादेशिक प्रसारण केन्द्र बर्दिवासका कार्यालय प्रमुख रामपुकार रामसहितका कर्मचारी तथा समाचार शाखाका समाचार सम्पादक हृदयकान्त झाले प्रदेश प्रमुख झालाई केन्द्रका बारेमा जानकारी गराएका थिए। रासस