२०७७ पुस ५ गते बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस राष्ट्रपतिसमक्ष गरे। केही घण्टा नबित्दै राष्ट्रपति विद्यादेवी भण्डारीबाट विघटनको सिफारिस सदर भयो। त्यसपछि मुलुकको ध्यान सर्वोच्च अदालतिर तानियो।
संसद विघटनसम्बन्धी सरकारको सिफारिस राष्ट्रपतिबाट सदर भएलगत्तै केही कानुन व्यवसायी रिट लिएर सर्वोच्च पुगेका थिए। तर, त्यस दिन सर्वोच्च अदालतमा रिट दर्ता भएन। भोलिपल्ट पुस ६ गते १३ वटा रिट दर्ता भए।
यो दुई महिनाको अवधिमा ती रिटहरुमाथि पक्ष र विपक्षीमा बहस र जवाफी बहसहरु भए। अदालतका सहयोगी (एमीकस क्युरी)को राय प्रस्तुत भए।
आज जनताको ध्यान तानिएको सर्वोच्च अदालतको संवैधानिक इजलास भित्र र अदालत परिसरमा यसवीचमा केही रोचक र घोचक दृश्यहरु देखिए, यसको यहाँ स्मरण गर्ने प्रयास गरिएको छ।
प्रधानन्यायाधीशको शैली
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि भएका बहसमा धेरैले ‘मिस’ गरेको एउटा दृश्य छ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको शैली।
प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा कानुन व्यावसायीहरु गरमागरम बहस गरिरहेका हुन्थे। गम्भीर प्रश्नहरु उठाउँथे। अनेक कोणबाट तर्क गर्दै इजलासलाई कन्भिन्स गर्न खोज्थे। प्रधानन्यायाधीश जबरा भने बिन्दास रुपमा प्रस्तुत हुन्थे।
गम्भीर प्रश्न गर्थे, तर प्रश्नसँगै लामो हाँसो हासिँदिन्थे। हरेकजसो प्रश्नमा जबरा हँसमुख देखिन्थे। मुसुक्क हाँस्दै प्रश्न सोध्ने उनको शैली एकदमै फरक दृश्यका रुपमा देखापर्यो। बिन्दास बनेर प्रधानन्यायाधीश जबराको कार्यशैली यो अवधिमा धेरैले प्रत्यक्ष महसुस गर्न पाए।