सुनसरीमा ढिस्कोले पुरिएर १४ वर्षीय बालकको मृत्यु भएको छ।
बराहक्षेत्र नगरपालिका-८ सालबन्दीस्थित कोशी नदीको पोखरीको डिलमा खेल्ने क्रममा बालुवा र माटो सहितको ढिस्को झरेर सोही ठाउँ बस्ने बखत बहादुर राईको छोरा १४ वर्षीय प्रज्वल राईको शनिबार मृत्यु भएको हो।
गम्भीर घाइते भएका प्रज्वलको बराहक्षेत्र नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनका भाइ १० वर्षीय राजन राईलाई भने थप उपचारको लागि घोपा अस्पताल धरान पठाइएको छ।
त्यसैगरी पाल्पाको पूर्बखोला गाउँपालिका-४ बलीपोखरा छेबकुनस्थित बालुका खानीमा बालुवा खन्ने क्रममा ढिस्कोले पुरेर सोही ठाउँ बस्ने १३ वर्षीया पबित्रा सारूको र ३६ वर्षीया माया देबी सिंहको मृत्यु भएको छ।
पबित्रा सारूको घटनास्थलमै र माया देबीको उपचारको लागि स्थानीय मेडिकलतर्फ ल्याउनेक्रममा बाटोमै मृत्यु भएको हो।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।