प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरताको चक्रव्यूहलाई तोड्न चुनाव घोषणा गरिएको बताएका छन्।
७१औं प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘बढो गम्भीर ढंगले, परापूर्वकालदेखिका अनुभवहरु सँगालेर चक्रव्यूहको निर्माण गरिरहेका थिए। त्यो चक्रव्यूहको अन्तिम समयमा त्यो तोडियो।’
प्रतिनिधिसभा विघटनपश्चात दर्ता गराइएको अविश्वासको प्रस्तावले तयारी कस्तो रहेछ भन्ने कुरा देखाउने भनाइ पनि प्रधानमन्त्रीको थियो।
‘बहुमतको पार्टी फुटाउने चक्रव्यूह थियो त्यहाँ। पार्टी फुटाउने र अल्पमतका टुक्राहरु जोडेर, महेन्जोदारो र हरप्पा उत्खनन् गरिएका टुक्राहरु जोडेर अस्थिरताको एउटा लहर सृर्जना गर्ने’, उनले भने।
यसकार्यमा देशलाई अस्थिरताको भूमरीमा हरारहेको कुहिराको काग बनाएर रुमल्याउने उद्देश्य निहीत रहेको भनाइ पनि प्रधानमन्त्रीको थियो।
‘यी प्रयासहरुलाई सफल हुन दिइएन र फेरि ताजा जनादेशमा जानुप¥यो। संविधान कहाँनिर मिचियो ?’, प्रधानमन्त्रीको प्रश्न छ। चुनावले लोकतन्त्रलाई ताजापन दिनेसमेत प्रधानमन्त्रीले बताए।
आफू झगडिया जस्तो जेसुकै कुरामा मुद्दा हाल्दै हिँड्ने नभई परिणाम बेहोर्ने र फेरि अघि बढ्ने व्यक्ति भएको पनि उनले बताए।
‘जुनसुकै बाटो गए पनि लोकतन्त्रलाई तलमाथि पर्न दिइँदैन’, प्रधानमन्त्रीले भने। निर्वाचन गराउने जिम्मेवारी पाएका निकायबाट जनताले थाहा पाउने गरी निर्वाचनको तयारी हुनुपर्नेमा पनि प्रधानमन्त्रीको जोड थियो।
देशको स्वाधीनता व्यावहारिक रुपमै कार्यान्वयन गरिनुपर्ने विचार व्यक्त गर्दै प्रधानमन्त्रीले भौगोलिक अखण्डतालाई कायम राख्न देशको भूमि सग्लो रुपमा आफ्नो गराइने पनि बताए।
‘राष्ट्रवाद हात्तव्को देखाउने दाँत होइन। राष्ट्रवाद चिप्लेकीराको सिङ जस्तो मौका मिले देखाउने र नमिले भित्र लुकाउने हुुँदैन। राष्टवाद एउटा निष्ठा र कर्तव्य हो’ , उनले भने।
विगतमा राजनीतिक स्वार्थ पूरा गर्न जात, भाषा, धर्म र भूगोलका नाममा जनतालाई एक आपसमा भिडाउन खोजिएको पनि प्रधानमन्त्रीले उल्लेख गरे।
यस्ता प्रयास हिजो सन् १९९० को दशकमा रुस, पुर्वीयुरोप र अफ्रिकी देशहरुमा गरिएको र कतिपय देशमा विनास समेत देखिएको भनाई प्रधानमन्त्रीको थियो।
‘यो बहुजाती, बहुभाषा र बहुआस्था भएको देशलाई एकतामा बाँध्छौं र लोकतन्त्रलाई सृदृढ गराउने बाटो तर्फ लाग्छौं’, प्रधानमन्त्रीले थपे।
यस बाटोबाट मुलुकलाई हिँडन नदिने र आफूले भने जस्तो भएन भने ‘यसो वा उसो गरिदिन्छौं’ भनेर तर्साउने र धम्क्याउने कार्य भइरहेको पनि उनले बताए।
‘कोही भन्छन्, न्यायाधीशलाई घिसारेर सडकमा ल्याउँछु, मैले तिनै मान्छेबाट मौका परेका बेला शक्ति पृथकीकरणको सिद्धान्त तथा न्यायपालिकाको सम्मान र गरिमाको व्याख्या सुनेको छु। फेरि तिनै मान्छे ‘मैले सम्मानित सर्वोच्च अदालतको अपहेलना गरेँ’ भनेर मुद्दा लिएर जान्छन्’, उनको भनाई थियो।
आफ्नो उद्देश्य दम्भ देखाउनु नभई सामाजिक न्याय र समानता एवं एकतामार्फत जनताले सम्मानपुर्वक बाँच्न पाउने अवस्था सिर्जना गर्नु रहेको पनि प्रधानमन्त्रीले बताए।
‘समृद्ध नेपाल सुखी नेपाली‘ लाई कतिपयले स्वीकार्न नसकेको पनि प्रधानमन्त्रीले बताए। यो परापूर्वकालदेखिकै ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः’ कै रुप भएको उनको भनाई थियो।
कार्यक्रममा प्रधानमन्त्रीले प्रज्ञा प्रतिष्ठान तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित राष्ट्रिय समृद्धि यात्रामा युवावर्गको दायित्व’ विषयक राष्ट्रव्यापी निबन्ध प्रतियोगिता तथा कविता प्रतियोगिताका विजयीहरुलाई पुरस्कार प्रदान गरेका थिए।
कार्यक्रममा प्रज्ञा प्रतिष्ठान र साँस्कृतिक संस्थानले देशभक्ति पूर्ण तथा देशको विविध साँस्कृतिक सम्पदा झल्काउने गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए।