दोलखाको मेलुङ गाउँपालिकाले पञ्जिकरणसम्बन्धी व्यक्तिगत घटना दर्ता अनलाइनबाट शुरुआत गरेको छ।
गाउँपालिकाले वडा नं ७ का नरमाया श्रेष्ठको मृत्युदर्ताको अनलाईन मार्फत व्यक्तिगत घटना दर्ता गराई मृत्युदर्ताको प्रमाणपत्र प्रदान गरी अनलाइन प्रणलीको शुरु गरेको हो।
अनलाइनमार्फत मृत्यु दर्ता गराई मृत्यु दार्ताको प्रमाणपत्र लिएका मृतकका परिवारलाई व्यक्तिगत घटना ३५ दिनभित्र दर्ता गराएबापत गाउँपालिकाले प्रदान गर्दै आएको नगद रु पाँच हजारसमेत प्रदान गरिएको छ।
व्यक्तिगत घटना वडा कार्यालयमा समयमा नै दर्ता गराउन प्रोत्साहन गर्ने उद्देश्यले ३५ दिनभित्र घटना दर्ता गराएमा गाउँपालिकाले परिवारलाई नगद रु पाँच हजार प्रोत्साहनस्वरुप रकम प्रदान गर्दै आएको छ।
आइतबार गाउँपालिकाको वडा नं ६ र ७ बाट व्यक्तिगत घटना अनलाइनबाट दर्ता गराई सेवा दिन शुुरु गरेको र सात दिनभित्र गाउँपालिकाको सबै वडामा अनलाइन दर्ता प्रणालीको विकास गराई सेवा प्रवाह गर्ने तयारी रहेको मेलुङ गाउँपालिकाका प्रवक्ता हिरा थोकरले जानकारी दिए।
व्यक्तिगत घटना दर्ताका लागि आउने सेवाग्राहीलाई छिटो र छरितो तरिकाले अनलाइन प्रणालीमा घटना दर्तालाई व्यवस्थित बनाउनका लागि अनलाइन घटना दर्ता शुरु गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र विश्वकर्माले बताउए।
गाउँपालिकाको सबै वडा कार्यालयमा इन्टरनेट र सफ्टवयरको विकास गराई अनलाइन प्रणालीको शुरुआत गरेको पालिकाले जनाएको छ ।
हालसम्म व्यक्तिगत घटना दर्ताको काम हातले लेखी ढड्डामा उतारी प्रमाणपत्र प्रदान गर्ने प्रचलन रहेकामा प्रविधिको विस्तार उपलब्धतालाई मध्यनजर गरी अनलाइनमा नै दर्ता गराई प्रिन्ट गरी प्रमाणपत्र प्रदान गर्दा सेवाग्राही र कर्मचारी दुवैलाई सहज हुने उनले बताए।
अनलाइनमा घटना दर्ता गराउँदा दर्ता प्रमाण हराएमा वा केही भएमा पुरानो प्रणालीअन्तर्गत खाजी राख्न समस्या नहुने र सजिलै कम्प्युटरका माध्यमबाट प्रदान गर्न सकिनेछ।
सरकारले सेवाग्राहीलाई छिटोछरितो तरिकाले सेवा प्रदान गर्ने उद्देश्यले २०७२ सालदेखि पञ्जीकरणसम्बन्धी व्यक्तिगत घटना दर्ता अनलाइन प्रक्रियामार्फत गर्ने घोषण भएपनि गाउँपालिकामा इन्टर तथा पूर्वाधारका कारण अनलाइन प्रणाली शुरु हुन सकेको थिएन।
मेलुङले प्रत्येक वडामा भौतिक पूर्वाधार निर्माण गरी इन्टरनेट विस्तार तथा सफ्टवयरको काम गरी वडाको प्रत्येक कर्मचारीलाई तालीम दिएर यो सेवा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिए।
अनलाइन घटना दर्ता प्रणालीबाट जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद, बसाइँसराइ जस्ता व्यक्तिगत घटनाको व्यवस्थापन एवं नियन्त्रण तथा समाजिक सुरक्षा कार्यक्रम सञ्चालन व्यवस्थापनका लागि सहज हुनेछ।
अनलाइनमार्फत फाराम भरी टोकन नम्बर तोकिएका समयमा सम्बन्धित वडा कार्यालयमा प्रमाणसहित पेश गर्न सकिने र सफ्टवयरमार्फत प्रत्येकलाई नदोहोरिने गरी व्यक्तिगत दर्ता नम्बर उपलब्ध हुने व्यवस्था रहेको छ। रासस