आफ्नै देशमा यसरी मारिएका थिए, इरानी ‘बमका पिता’ मोहसिन 

photo : ZUMAPRESS
photo : ZUMAPRESS

स्थानः इरानको राजधानी तेहरान
मितिः २७ नोभेम्बर २०२०
समयः साँझको ६ बजे। 

उच्च सतर्कता रहेको ठाउँमा अचानक ५ वटा कालो रंगको गाडी प्रवेश गर्छ र फिल्मीशैलीमा एउटा गाडीमाथि अन्धाधुन्ध फायरिङ हुन्छ। केही सेकेण्डमै कारमा बसेको अधबैसे एक व्यक्तिको निधन हुन्छ।

बाहिरबाट आएको गाडीहरू एक्कासी रोकिन्छन्। यही अवस्थामा केही टाढा रहेको पिकअप भ्यानमा एक्कासी बिस्फोट हुन्छ। धुलो र धुँवा उडेको त्यो ठाउँ जब शान्त हुन्छ, यसपछि मात्र सबैले थाहा पाउँछन्, इरानका सबैभन्दा ठूला न्युक्लियर साइन्टिस्ट मोहसिन फखरीजादेहको हत्या भएको। 

यसबीच थुप्रै प्रश्न उठ्यो। मोहसिनको हत्या कसले र किन गरियो? इरानको जासुसी संस्थाले पहिले नै इजराइल र अमेरिकामाथि शंका नगरेको होइन। तर, यथेस्ट प्रमाण उसँग थिएन। 

इजरायलको एउटा अखबार ज्युउस क्रोनिकलले हालै यो घटनाको खुलासा गर्दै इरानी ‘बमका पिता’ भनेर चिनिने मोहसिनको हत्यामा देशको सबैभन्दा शक्तिशाली जासुसी संस्था मोसाद सलंग्न रहेको पुष्टी गरेको छ। पत्रिकाले आफ्नो विशेष लेखमार्फत यसको खुलासा गरेको छ। 
इजरायल, अमेरिका र अरबका अन्य देशहरू कुनै पनि हालतमा इरानलाई ‘न्युक्लियर पावर’ भएको देश बन्न नदिने अभियानमा थिए। इजरायलको निशानामा पहिलेदेखि नै इरानी न्युक्लियर साइन्टिस्ट थिए। आखिर यसैको सिकार उनी बने। मोसादले यो अभियानमा इरानको केही एजेन्सीसँग पनि सहयोग लिएको थियो। लगभग २० एजेन्ट यो मिसनमा सलंग्न रहेको पत्रिकाको दावी छ। 

मोसादसँग मोहसिनको हरेक गतिविधिको जानकारी थियो। ८ महिनासम्म त उनको रेकी गरिएको थियो। उनको हत्यामा जासुसी सयन्त्रमात्र प्रयोग भयो। मोहसिनले ६ वर्षअघि अर्थात २०१४ मा इरानको इटमी कार्यक्रमको मोर्चा सम्हालेका थिए। तर, इजरायलले उनलाई त्यतिबेला लक्षित ग¥यो, जब उनको एटमी कार्यक्रम सफलतातर्फ अग्रसर हुँदैथियो। 

५९ वर्षका मोहसिन इरानमा ‘बमका पिता’ भनेर चिनिन्थे। उनको शरीरमा १३ गोली लागेको थियो। कारको सिट छेउमा बसेकी श्रीमती र उनको सुरक्षामा खटिएका अन्य गाडी तथा उनको १२ जना बडीगार्डलाई भने केही भएन। 

इरानका एक अधिकारीले घटनाको विषयमा जानकारी दिँदै भनेका थिए, ‘६२ जनाको समूहमा आएका बन्धुकधारीले उनको हत्या गरेका थिए।’
मोहसिनको हत्याका लागि एउटा मेसिनगनलाई गोप्य तरिकाले तेहरानस्थित एजेन्ट कहाँ सुरक्षित पु¥याइएको थियो। उनको हत्याको योजनाका लागि निसान कम्पनीको एउटा पिकअप भ्यान खरिद गरिएको थियो। जसमा मेसिनगन जडान गरियो। ८ महिना लामो योजनापछि दिन र समय छनोट गरिएको थियो। मोहसिन कडा सुरक्षा व्यवस्थाबीच हिँडिरहेकै बेला उनीमाथि हमला भएको थियो। 

योजना पुरा भएपछि मोसादका एजेन्ट्सहरूले पिकअप भ्यानलाई बमद्धारा उडाएका थिए। धुलो र धुँवाको बीचमा एजेन्टहरू सबैको आँखा छलेर भाग्न सफल भएका थिए। यो घटनामा मोसाद एक्लै संलग्न थियो। अमेरिका र अन्य देशको सहयोग लिएको थिएन। 

मोहसिन इरानका लागि कति महत्वपूर्ण थिए भन्ने कुरा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका सुरक्षा सल्लाहकार ज्याकब नागेलको एउटा बयानले नै स्पष्ट हुन्छ, ‘हामीलाई पूर्ण जानकारी थियो, उनी एटम बम बनाउने योजनाको नजिक थिए। उनले बनाउन लागेको बम निकै घातक थियो। एउटै बमले हिरोसिमा जस्तो पाँचवटा शहर नस्ट पार्न सकिने अवस्था निर्माण हुन्थ्यो।’

प्रकाशित मिति: : 2021-02-13 07:39:00

प्रतिकृया दिनुहोस्