अर्थमन्त्री पौडेलले घटाए बजेटको आकार

बिएल संवाददाता

काठमाडाै‌ं

वर्तमान अर्थमन्त्री विष्णु पौडेलले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको बजेटको आकार घटाएका छन्।

अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक समीक्षामा बोल्दै अर्थमन्त्री पौडेलले १ खर्ब ३० अर्ब बजेट रुपैयाँ घटाएको बताए। उनले चालू आवका लागि १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने संशोधित अनुमान सार्वजनिक गरे।

सरकारले गत जेठ १५ गते संघीय संसद्मा आर्थिक वर्ष २०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पेश गरेको थियो।

सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचन र कोरोनाको खोपको लागि पूर्वसहमति दिएका ठूला आयोजनाहरु नरोकिनेगरी बजेटको आकार घटाएको हो। प्रतिनिधिसभा निर्वाचनका लागि सात अर्व रुपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थ मन्त्रालयले चालू खर्च ९ खर्ब ४८ अर्ब ९४ करोडबाट घटाएर ९ खर्ब १४ अर्ब ७८ करोडमा रुपैयाँमा झारेको छ । पूँजीगत खर्च ३ खर्ब ५२ अर्ब ९१ करोडबाट घटाएर २ खर्ब ८३ अर्ब ४ करोडमा झारिएको छ।

अर्थमन्त्री पौडेलले वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब ८९ करोडको बजेटको आकार घटाएर १ खर्ब ४६ अर्ब ८६ करोडमा सीमित हुने अनुमान गरेका छन्

प्रकाशित मिति: : 2021-02-10 17:59:00

प्रतिकृया दिनुहोस्