कोरोना प्रभावित उद्योगलाई पुर्नउत्थानका लागि नीतिगत व्यवस्था गर्न माग

Nepal flash

निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड प्रभावित उद्योगलाई पुर्नउत्थान र पुनःसञ्चालनका लागि नीतिगत एवं कार्यगत संंरक्षणको आवश्यकता रहेकामा जोड दिएको छ। 

महासङ्घको उद्योग समितिका सभापति भरतराज आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले आज उद्योग विभागका महानिर्देशक जीवलाल भुसाललाई भेट गरी उद्योग क्षेत्रमा आपसी सहकार्यका विषयमा छलफल गरेको थियो। सो अवसरमा सभापति आचार्यले महासङ्घको उद्योग समितिका कार्य क्षेत्र एवं समितिका आगामी कार्ययोजनाबारे जानकारी गराए। 

भेटवार्तामा उद्योगको लागि आवश्यक जग्गा प्राप्तिलाई सहज गरिनुपर्ने, एकल विन्दु सेवाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, स्वदेशी उद्योगको संरक्षण गर्न सार्वजनिक खरिद नियमावलीको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने माग राखेको थियो। 

उद्योगका लागि आवश्यक पूर्वाधारको सरल र भरपर्दो व्यवस्था हुनुपर्ने, जनशक्ति विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन र सहयोग गर्नुपर्ने, औद्योगिक व्यवसाय ऐन कार्यान्वयन गर्ने सम्बन्धमा देखापरेका व्यावहारिक एवं संस्थागत कठिनाइका बारेमा विभाग र महासङ्घबीच कार्यदल गठन गरी सुझाव सङ्कलन गर्नुपर्नेमा जोड दिइएको छ। 

उद्योग क्षेत्रको सङ्ख्यात्मक एवं गुणात्मक अध्ययन गर्न आवश्यक रहेकाले त्यसका लागि आपसी सहकार्य गर्नेलगायत सुझाव राखिएको महासङ्घले जनाएको छ। 

विभागका महानिर्देशक भुसालले महासङ्घसँग नजिकमा रहेर कार्य गर्न विभाग तयार रहेको जायज मागहरु  सम्वोधन गर्दै जाने विश्वास दिलाए। 

उनले एकल विन्दु सेवालाई प्रभावकारी बनाउन छाता ऐन आवश्यक भएकाले महासङ्घबाट अर्थपूर्ण सहयोगको अपेक्षा गरेको पनि बताए।

 उद्योगको सङ्ख्यात्मक र गुणात्मक अध्ययन गर्ने कार्यका लागि महासङ्घले राखेको प्रस्तावलाई विभागको तर्फबाट पूर्ण समर्थन रहेको उनको भनाइ थियो। रासस 

प्रकाशित मिति: : 2021-02-08 20:41:00

प्रतिकृया दिनुहोस्