पूर्वी मोरङको पथरीशनिश्चरे–१० जिरिखिम्तीको मोरङ्गी खोला किनारका अधिकांश किसान सीमसागको ब्यावसायिक उत्पादनमा लागेका छन्। मोरङ्गी खोलामा बाह्रैमास पानी बग्छ। सीमसाग खेती गर्दा उल्लेख्य आर्थिक लाभ हुन थालेपछि खोला किनारका किसान ब्यावसायिक रुपमा सीमसागको खेती गर्न थालेका हुन्।
घर नजिकै बग्ने मोरङ्गी खोलाको थोरै भूगोलमा सीमसागको ब्यावसायिक खेती गर्दा गत वर्ष सो क्षेत्रका किसानले झण्डै ३५ लाख भन्दा बढी रुपैयाँ आम्दानी गरे। गाउँमा पहिलो पटक सीमसाग भित्त्राउने हस्तबहादुर दाहालका छोरा राजु दाहालका अनुसार हाल मोरङ्गी र डाँस खोला किनारमा दुई परिवारले साग खेती गरिरहेका छन्।
२०३७ सालमा पहिलो पटक धरानबाट बेर्ना ल्याएर हस्तबहादुर दाहालले खेतीगर्न थालेका हुन्। दाहालले भने, 'बाढी आउन छोडेपछि असोज कात्तिकमा रोपेको सीमसागले ४५ दिन देखि आम्दानी दिन थाल्छ' उनले थपे, 'बिरुवाले निरन्तर एकनासले चीसो पानी पाए प्रत्येक ३०/३० दिनमा उत्पादन लिन मिल्छ।' मोरङ्गी खोलाको राजमार्ग दक्षिण ५ किलोमिटर र उत्तर तर्फ २ सय मिटर गरी ५ हजार २ सय मिटर लम्बाई भित्र डेढसय बढी किसानले सीमसागको ब्यावसायिक खेती गर्दै आएका छन्। डाँस खोलामा पनि ५० बढी किसानले साग खेती लगाएका छन्।
राजु दाहालले भने, '२०४८ सालमा बुबाले १ लाख ३० हजारको सीमसाग बेच्नु भएछ। सीमसाग बेचेर हस्तबहादुरले बैंकको कर्जा तिर्यो भनेर खुब हल्ला फैलियो। त्यसपछि सीमसागको खेती गर्नेको संख्या ह्वात्तै बढ्यो।' ५० सालदेखि स्थानीयले ब्यावसायिक रुपमा खेती गर्न थालेको दाहाल बताउछन्। यो वर्ष उनले ८ कठ्ठामा खेती गरेका छन्। उनले भने, 'खोलामा पानी तातिएन भने अढाई लाखको बिक्री गर्छुहोला।' उनले हाल सम्म १ लाख ७० हजारको साग बिक्री गरिसकेका छन्।
उनका अनुसार खोलामा स्थानीय किसानहरूले १० धुर देखि ३ कठ्ठा सम्म जग्गा ओगटेर साग रोपेका छन्। एक कठ्ठा जग्गामा एक सिजनमा २० हजार रुपैयाँको साग उत्पादन हुने बताउँछिन्, किसान पवित्रा कार्की। उनले भनिन्, 'खेती सुरु गर्दा २ रुपैयाँ मुठा बिक्री हुन्थ्यो। अहिले ५० रुपैयाँ मुठा बिक्री भइरहेको छ।'
अर्का किसान ज्ञानबहादुर दाहाल पनि वार्षिक १५/२० हजारको साग बेच्छन्। उनका अनुसार पानी निरन्तर भयो-भने, छिटोछिटो बाली लिन पाइन्छ र आम्दानी अझ बढी हुन्छ। रोप्दा एक पटक मिहीन परिश्रम गरेपछि निरन्तर डुब्ने गरी सिंचाई गरे पुग्ने सीमसाग खेती आम्दानीको राम्रो स्रोत भएको किसानहरू बताउँछन्।
झापाको शिवसतासी नगरपालिका ७ की ७० वर्षीया मायादेवी चौधरीकाे अन्नपानीको जोहो नै सीमसागको ब्यापारबाट हुने गरेको छ। विगत १० वर्षदेखि ब्यापार रुपमा लागेकी चौधरी सीमसागको ब्यापारबाट एक सिजनमा ६०/७० हजार रुपैयाँ शुद्ध बचत गर्ने बताउँछिन्। उनी भन्छिन्, 'मेरो सबै खेतीपाती नै यही हो।'
अर्जुनधारा- ५ की ६० वर्षीया दुर्गादेवी चौधरी पनि ३ वर्ष यता सीमसागको ब्यापार गर्दै आएकी छन्। टाढाबाट आएर ब्यापार गर्दा खासै नाफा लिन नसकेको उनको भनाई छ। उनले भनिन्, 'गाडी भाडा नै बढी लाग्छ।'
सागको माग काठमाडौं सम्म भएपनि पु-याउन नसकिएको देवी चौधरी बताउँछिन्। उनी २० वर्षदेखि सीमसागको ब्यापारमा लागेकी छन्। तर, माग अनुसार उत्पादन नहुँदा सागको मूल्य 'सिजन पिच्छे' बढ्ने गरेको चौधरीले जानकारी दिईन्।
किसानहरूले मोरङ्गी खोलाको पानीलाई बाँध बाँधेर एक छोउबाट डोहोर्याएका छन्। सिंचाई पुग्नेगरी थोरै थोरै जग्गा छुट्याएर किसानहरूले आ-आफ्ना साँध सीमाना लगाएर साग रोपेका छन्। पछिल्लो समय ब्यावसायिक बन्दै गएको सीमसागको खेती हाल आएर आसपासका डाँस र सीता खोलामा पनि गरिन थालेको छ।