छुट्टी हुनसाथै उनी झोला भिरेर हिंडिहाल्थिन् । अरु साथीहरु यताउता भुल्दा पनि यी किशोरी हतारमै हुन्थिन् । २१ माघमा पनि उनमा यो हतारो छँदै थियो । आमालाई घरमा सघाउनु छ भन्दै साथीहरुलाई समेत छोडेर भागरथी भट्ट अगाडि लम्केकी थिइन् । ‘घरमा आमा एक्लै हुनुहन्छ । घर पुगेर कति धेरै काम गर्नु छ भन्थिन्,’ भागीरथी पढ्ने स्कुलकै विद्यार्थी तर्कराज भट्टले शिलपत्रसँग भने, ‘हामीले २ बजेतिर देखेका थियौं । उनी सधैं यसरी नै आमालाई सघाउन छिटोछिटो घर जान्थिन् । त्यस्तै सम्झियौं ।’
कक्षा १२ मा पढ्ने १७ वर्षीया भागरथी यति हतार गरेर पनि समयमै घर त पुगिनन् नै कहिल्यै नफर्कने गरी बिदा भइन् । आमाको हरेक काममा सहयोगी थिइन्, भागरथी । जसरी हुन्छ आमालाई सुख र सजिलो होस् भन्ने उनको सोच थियो । ‘पढाई सकाएर काम गर्छु र आमालाई सुखसाथ राख्छु भनेर भागरथी भन्थिन्,’ भागरथीका नातेदारसमेत रहेका स्थानीय सहदवे भट्ट सुनाउँछन् ।
यही सोचले प्रायः ठीक समयमै घरमा टुप्लुक्क देखिने भागिरथी त्यो दिन अबेरसम्म चालचुल भएन । ‘कहीँ कतै अल्मलिने केटी होइन ऊ,’ गाउँमा पसल समेत चलाउने सहदेव भन्छन्, ‘त्यो दिन नआउँदा हामी अत्तालियौं ।’ भागरथी एकाएक भोलिपल्ट अपरान्ह घर र स्कुल बीचमा पर्ने लवलेकको जंगलमा विभत्स किसिमले हत्या गरिएको अवस्थामा भेटिइन् ।