'महिनावारी हुँदा छोरीलाई लुकाउने होइन, खुसीयाली मनाउनुपर्छ'

सेतोपाटी

काठमाडाै‌ं

म ६ जना छोरी भएको घरमा हुर्किएकी हुँ। घरमा चार जना दिदी, म र एउटी बहिनीसहित आमाबुवा हुनुहुन्छ। 

महिनावारी भन्ने कुरा मलाई सानैदेखि थाहा थियो। हरेक हप्ता आमा वा दिदीहरूमध्ये कोही न कोहीलाई महिनावारी भएकै हुन्थ्यो। उहाँहरूलाई देखेर महिनावारी के हो, यस्तो बेला के गर्नुपर्छ भन्ने ज्ञान जानिसकेकी थिएँ। 

मेरो पहिलो महिनावारी हुँदा म ठ्याक्कै स्कुल जाने बेला भएको थियो। म त्यस्तै १४ वर्षकी थिएँ। 

अरूहरूको घरजस्तै मेरो घरमा पनि महिनावारी बार्ने चलन थियो। मलाई आफ्नै घरमा ६ दिन लुकाएर राखियो। त्यो बेला खाना कोठाभित्रै ल्याइदिनु हुन्थ्यो। अनि केही थप्दिनुपर्‍यो भने छोइएला कि जसरी माथिबाट थालमा हालिदिनु हुन्थ्यो। मलाई आफ्नो परिवारबाट अस्वीकृत महशुस भएको थियो।

मेरो आमाबुवा, सबै जना पढे-लेखेको हुनुहुन्छ। त्यही पनि अरू र समाजले के भन्लान् भन्ने सोचले हामी सबै महिला सदस्यले महिनावारी बार्नुपर्‍यो।

पहिलो महिनावारी हुँदा केटा मान्छेलाई हेर्न हुँदैन भन्थे। मेरा लागि त्यो अनुभव निकै असहज रह्यो। मनमा धेरै प्रश्न उठेको थियो र यो चलन किन मान्नुपर्ने होला भनेर जिज्ञासा लाग्थ्यो। 

प्रकाशित मिति: : 2021-02-08 09:18:00

प्रतिकृया दिनुहोस्