नेप्से २५२४ बिन्दुमा पुग्यो, खरिदबिक्री रकम हालसम्मकै बढी

नेप्से सूचक अहिलेसम्मकै सर्वोच्च बिन्दुमा पुगेको छ।  आइतबार नेप्सेले एतिहासिक रेकर्ड कायम गर्दै २५२४ बिन्दुमा पुगेको हो।

खरिदबिक्री रकम करिब साढे १० अर्ब हाराहारीमा पुगेको छ। यो अहिलेसम्मकै सर्वोच्च कारोबार रकम हो। लगानीकर्ता उत्साहित हुँदा बजारमा नयाँ माहोल देखिएको छ। 

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ४८.७४ अंक अर्थात १.९७ प्रतिशत बढेर २५२४ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च विन्दु हो। यस अघि नेप्से गत बिहीबार अर्थात माघ २२ गते २४७५.२६ विन्दुमा रहेको थियो।

यस दिन सेन्सेटिभ इण्डेक्स ५.३ अंक, फ्लोट इण्डेक्स ३.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६८ अंक बढेको छ।

यस दिन २०२ कम्पनीको ८७ हजार ६७० पटकको कारोबारमा १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ रुपैयाँ बराबरको १ करोड ७७ लाख ३६ हजार ७३४ कित्ता शेयर खरिदबिक्री भएको छ। यो हालसम्मकै उच्च भोल्युम हो। यस अघि गत माघ १५ गते ९ अर्ब ८९ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५३ करोड १७ लाख ४९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल लाइफ र शिखर इन्स्योरेन्सको ३० करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

नेप्से सूचक ४८.७४ अंकले बढेर २४२५ विन्दुमा आइपुगेको छ। २०२ कम्पनीको १० अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। १ करोड ७७ लाख ३६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका करिब ३ दर्जन कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये अधिकांश माइक्रोफाइनान्स कम्पनीहरु रहेका छन्। यस दिन मेरो माइक्रोफाइनान्स, नागरिक लगानी कोष, डिप्रोक्स लघुवित्त, सारथी नेपाल लघुवित्त, आरएसडिसी लघुवित्त, गणपति माइक्रोफाइनान्स, निर्धन उत्थान लघुवित्त र मञ्जुश्री फाइनान्सको शेयरमूल्य १० प्रतिशत बढेको छ।

नेपाल फाइनान्सको शेयरमूल्य भने सर्वाधिक ६.२७ प्रतिशत घटेको छ।

प्रकाशित मिति: : 2021-02-07 16:05:00

प्रतिकृया दिनुहोस्