सदरमुकाम बेनीस्थित ५० श्यया क्षमताको सुविधा सम्पन्न भवन निर्माण अलपत्र परेको छ। भवन निर्माण समयमै नसकिंदा अस्पतालको सेवा प्रभावित भएको छ। निर्माण व्यवसायी र सम्बद्ध कार्यालयको लापरबाहीका कारण एक वर्षअघि नै बनिसक्नुपर्ने भवनको आधा मात्रै काम भएको छ।
भवन निर्माण अलपत्र परेपछि सेवा प्रवाहमा असर परेको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए। “पचास श्यया क्षमता भएपनि १५ शैयाको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छाँै”, कटुवालले भने, “पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ।’’
नयाँ भवन बनाउन पुरानो भवन भत्काइएको थियो। बहिरङ्ग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ। आकस्मिक र अन्तरङ्ग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ। स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ। सघन उपचार कक्ष (आइसियु) र डायलाइसिस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ।
पन्ध्र शैया क्षमत्ताको अस्पताल २०७२ मा ५० श्ययामा स्तरोन्नति भएको थियो। तत्कालीन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले २०७३ मङसिर २१ गते भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो। पछिल्ला दुई वर्ष सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाई कास्कीलाई हस्तान्तरण गरिएको यो आयोजना चालु आवमा बागलुङकै कार्यालयमा फिर्ता ल्याइएको छ। २४ करोड चार लाख २९ हजार ८ सय ६९ रुपैया लागत अनुमान गरिएको भवन महादेव खिम्ती–गल्वा–रफिना जेभीले १८ करोड ८४ लाख आठ हजार ८९ रुपैयामा ठेक्का लिएको थियो।