सहायक सुचक हत्या आरोपमा सात जना पक्राउ 

सहायक सुचक प्रविण थापा मगरको हत्यामा संलग्न ७ सात जनालाई  पक्राउ  गरी सार्वजनिक गरिएको छ।

माघ २ गते नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १८ सुर्जीगाउँका रामसेवक खटिकको तोरीबारीमा हत्या गरिएको अवस्थामा  भेटिएका  सहायक सूचक थापा मगरको हत्यामा संलग्न रहेको आरोपमा सात जना पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै  हत्या भएको १९ दिनपछि  देशका विभिन्न ठाउँबाट  सात जनालाई पक्राउ परेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओम बहादुर रानाका अनुसार उक्त घटनामा संलग्न १६ देखि १७ वर्ष सम्मका चार बालक सहित अन्य तीन जना रहेका छन्।

पक्राउ पर्नेमा नेपालगन्ज–६ फुल्टेक्राका १७ वर्षीय बालक, नेपालगन्ज वडा नम्बर ५ बसपार्कका १६ वर्षीय बालक र बाँकेको राप्तीसोनारी १ कुसुम घर भइ नेपालगन्ज वडा नम्बर ४ गणेशपुर बस्ने १७ वर्षीय बालक तथा सुर्खेत वीरेन्द्रनगर नगरपालिका १० घर भइ नेपालगन्ज–२ घरबारीटोल बस्ने १६ वर्षीय बालक रहेका छन्।

यस्तै  नेपालगन्ज वडा नम्बर १८ लग्दहवाका २४ वर्षीय कर्की भनिने दिनेशकुमार कुर्मी (बर्मा) पक्राउ परेका छन्। उनी मजदुरी गर्दै आएका छन्। सुर्खेतको गुर्भाकोट–१४ गुमी घर भएका भइ नेपालगन्ज वडा नम्बर १८ बस्ने १९ वर्षीय निश्चल गुरुङ, जाजरकोटको जुनेचाँदी ७ दह घर भइ नेपालगन्ज वडा नम्बर ४ बसपार्क बस्ने २१ वर्षीय तेज मगर भनिने तेजबहादुर बीएम पक्राउ परेका छन्।  

उनी उक्त स्थानमा टाउकाको पछाडि भाग,निधारको बाँया भाग, माथिल्लो ओठ, दुवै खुट्टाको घुडा, नली, हात, शरिरको विभिन्न भागमा चिरपट दाउरा (पट्टा) प्रहार गरी विभत्स हत्या गरिएको अवस्थामा भेटिएका थिए।  उनको हत्याको छानविनको लागि सिआइवी, जिल्ला प्रहरी कार्यालयको विशेष टोलीका साथै तालिम प्राप्त कुुकुर समेत प्रयोग गरिएको थियो।

प्रकाशित मिति: : 2021-02-03 19:23:00

प्रतिकृया दिनुहोस्