अब भ्याक्सिन टुरिजम 

Photo - Yahoo
Photo - Yahoo

गत महिना अमेरिकामा कोरोनाविरूद्ध खोपको सुरुवात हुँदैगर्दा केही भारतीय भारतीय ट्राभल एजेन्सीले नयाँ रोचक प्याकेजको घोषणा गरे। भारतीय सञ्चारमाध्यममा विज्ञापन छापिए– चार दिनको ट्राभल प्याकेज- मुम्बईबाट अमेरिकाको न्युयोर्क शहरको कोरोना भाइरस खोपसहितको टुर खर्च करिब दुई हजार अमेरिकी डलरमा। 

बेलायत सरकारले फाइजर-बायोटेक कोभिड -१९ खोप स्वीकृत गरेपछि केही भारतीय ट्राभल एजेन्सीहरूले बेलायत जान चाहने भारतीयहरूका लागि 'खोप पर्यटन' प्याकेजको योजना सुरू गरिसकेको 'द प्रिन्ट' ले उल्लेख गरेको छ।

 त्यस्तै, कोलकाताका जेनिथ होलिडेज, मुम्बईमा जेम टुर्स एण्ड ट्राभल्स र बेंगलुरुमा रथ वर्ल्ड टुर्सजस्ता ट्राभल एजेन्सीहरूले त्यस्ता टूर प्याकेजहरू धमाधम बनाइरहेका छन् जसमा खोप लागत पनि समावेश छ। १० वर्षको अमेरिकी भिसा भएका भारतीयहरूको लागि मात्र रेजिष्ट्रेसन लिइरहेका ट्राभल व्यवसायीले जानकारी दिएका छन्। 

यसरी धनी अन्तर्राष्ट्रिय पर्यटकहरूले संयुक्त राज्य अमेरिकामा अवसरको रूपमा हेर्दा भ्याक्सिन पर्यटन वृद्धितिर उन्मुख देखिएको केही सञ्चारमाध्यमले समाचार संप्रेषण गरेका छन। गार्जियन अनलाइनले लेखेको छ, 'यस जटिल प्रणालीले नयाँ प्रकारको महामारीको यात्रालाई जन्म दियो 'खोप पर्यटन' जसमा मानिसले राज्य वा देशको सीमा पार गरी खोपको पहुँचको लागि यात्रा गर्छन्।

हजारौँ मानिस आफ्नो राज्य वा देशबाहिर खोप लिइसकेका छन्, 'तिनीहरू क्यानाडा, ब्राजिल, न्यूयोर्क, जर्जियाबाट आएका छन्, मिनियापोलिसका मानिस यहाँ आएका छन्,' गार्जियनको रिपोर्टमा उल्लेख गरेको छ। 

पैसा भएका तर कोविड–१९ खोपको लागि तत्काल पहुँच नभएकाले अर्को देशमा खोप लिनको लागि उडान गर्न सकिन्छ भन्ने विचार दुस्साहस र नैतिक प्रश्न दुबै खडा गरेको छ। ब्लुमबर्ग अनलाइनको रिपोर्टअनुसार अमेरिकीहरू फेरि सडकमा ठेलमठेल यात्रामा निसकेका छन्। उनीहरू शिकागोमा व्यवसाय वा लास भेगासमा छुट्टीको लागि र डिज्नी वर्ल्ड यात्रा गरिरहेका छैनन्, तर खोपको खोजीमा छन्। 

वेबसाइटहरूमा वारम्वर समस्या देखिने, कोविड–१९ खोपको अभाव र भ्रामक योग्यता नियमहरूबाट निराशले धन र समय भएका मानिस सम्भावित जीवन बचाउने खोपको खोजीमा शहर बाहिर जाँदैछन्। खोपको खोजीमा पर्यटकहरु मियामी, हवाई, कोलाराडो, न्यु जर्सी देखा पर्न थालेका छन। 

स्वस्थ विज्ञका अनुसार, जति धेरै मानिसले खोप लगाए, उति राम्रो हो। तर, खोप पर्यटनले पैसा र स्वास्थ्य कमजोर हुनेको लागि भने चिन्ता उब्जाएका छन्। सँगै एक निश्चित शहर वा राज्यको मात्रा अन्य व्यक्तिको लागि लगाइनु सही छ कि छैन भन्ने नैतिक प्रश्नहरू पनि उठेका छन्।

सिविएस न्युजले फ्लोरिडाका अधिकारीहरु भ्याक्सिन पर्यटनप्रति कडा निगरानी गर्नेभएका छन्। फ्लोरिडाको खोप योजनाअन्तर्गत स्वास्थ्य, दीर्घकालीन हेरचाहकर्मीहरू र ६५ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्ति खोप लिन योग्य छन्। 

फ्लोरिडा स्वास्थ्य विभागका तथ्यांकले पत्ता लगाएअनुसार राज्यमा ११ लाखभन्दा बढी खोप लगाइएको व्यक्तिहरूमध्ये ३९ हजार फ्लोरिडा बाहिरका छन्।

के हो भ्याक्सिन टुरिजम ? 

भ्याक्सिन टुरिजम अर्थात् खोप पर्यटन भनेको कोभिड-१९ खोपको खोजीमा देशभरिका अन्य राज्यहरूमा भ्रमण गर्ने नयाँ प्रवृत्ति हो। भर्खरका दिनहरुमा अमेरिकीहरू कोभिड–१९ विरुद्धको भ्याक्सिन लिन विभिन्न राज्यहरुमा यात्रा गरिरहेका छन्। 

पर्यटनको परिभाषा अनुसार छुट्टी बिताउन, मनोरञ्जन, रमाइलो, शान्तिको खोजी वा व्यावसायिक यात्रा वा घरबाट टाढा समय बिताउने कार्य गर्नुलाई बुझिन्छ। 

पर्यटन एक आधुनिक सामाजिक व्यवस्थाको उपज हो जुन १७ औं शताब्दीमा पश्चिमी यूरोपमा सुरू भएको थियो तर मानव सभ्यताको विकासदेखि नै मानवजाति एक ठाउँदेखि र्को ठाँउसम्म आहाराको खोजी या बसाइसराइको क्रममा डुल्ने गरेका थिए। तर अहिले यात्रा वा घुमफिर मानवजिवनको अभिन्न अंग बनेको छ। 

गत एक वर्षदेखि कोरोना महामारीले गर्दा हिँड्डुलमा रोक लगाएकोले विश्वभरको पर्यटन क्षेत्र ठप्प बनेको छ। विश्व पर्यटन संगठनका अनुसार कोभिड-१९ महामारीले सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्ये पर्यटन एक हो। यसले अर्थव्यवस्था, जीविका, सार्वजनिक सेवा र सबै महादेशमा अवसरहरू साथै विशाल मूल्य श्रृंखलाको सबै भागहरू प्रभावित पारेका छन्। 

संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनले सन् २०२० मा पर्यटन निर्यात राजस्व ९१०-१२०० अर्व डलरमा घाटा व्यहोर्ने प्रक्षेपण गरेको थियो। १०-१२ करोड प्रत्यक्ष रोजगारीमा जोखिम हुनेछ  र विश्वव्यापी कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी) १.५% देखि २.८% घटेर कायम रहन सक्ने उल्लेख गरेको थियो। 

विश्व पर्यटन संगठनले आत्मविश्वास सूचकांक रेकर्ड तल झरेको बताएको छ। अधिकांश संगठनको प्यानल विशेषज्ञहरूले सन् २०२१ को तेस्रो क्वाटरमा अन्तर्राष्ट्रिय पर्यटन पुनः फर्किनेछ र पूर्वमहामारी २०१९ को स्तरमा सन २०२३ भन्दा अघि फिर्ता नहुने अपेक्षा गरेका छन्। 

नेपालको अवस्था

नेपालमा कहिलेदेखि पर्यटकहरु आउन थाले, त्यसको यकीन इतिहास छैन। यद्यपि यो अनुमान गर्न सकिन्छ– ००७ सालमा प्रजातन्त्र आएपछि पहिलो पटक नेपालमा व्यावसायिक पर्यटन खुल्ला गरियो। दक्षिणी क्षेत्रका भारतीय नाकाहरुले नेपालका केही शहरहरू जोडिए। त्यस बेलादेखि विदेशी पर्यटकहरू नेपालको समृद्ध संस्कृति र हिमालयन परिदृश्य अन्वेषण तथा अवलोकन गर्न आउन थालेका थिए।

नेपालको सबैभन्दा ठूलोमध्ये पर्छ पर्यटन उद्योग। यो विदेशी मुद्रा आर्जनको मुख्य स्रोत हो। विश्वको १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमश्रृङ्खलामध्ये सगरमाथालगायतका आठ वटा हिमाल नेपालमा रहेको छ। 

पर्वतारोहण, पदयात्रा, विश्व सम्पदा स्थानसहित विविध किसिमको साहसिक यात्रा खोज्ने व्यक्तिको लागि नेपाल उत्कृष्ट गन्तब्यको रुपमा विश्वभर परिचित छ। 

अध्यागमन विभागका अनुसार, सन २०१९मा अन्तर्राष्ट्रिय पर्यटकको आगमन संख्या झन्डै १२ लाख थियो  भने सन २०२० मा जम्मा २ लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। 

विश्वभर कोरोना संक्रमण फैलिएसँगै गत चैत्र महिनामा लकडाउन लगाएदेखि नेपाल सरकारले अन्तर्राष्ट्रिय हवाइसेवामा रोक लगाएकोले विदेशी पर्यटकको अवगामनमा ठप्प भएको थियो। आठ महिनाको बन्देजपछि कार्तिकमा अन्तर्राष्ट्रिय पर्यटकलाई सशर्त खुला गरिएको थियो तर पनि पर्यटकलाई नेपाल आउन सरकारले लगाएको झञ्झटिलो प्रक्रिया पूरा गर्न पर्ने नियमले तत्कालको लागि पर्यटक नेपाल आउन ढिलाइ हुने धेरै पर्यटन व्यवसायीहरुले चिन्ता ब्यक्त गरेका छन्। 

लामो समय लकडाउनले उकुसमुकुस भएका आन्तरिक पर्यटक भने देशका विभिन्न भागमा यात्रा गरेको तथ्याङ्कले देखाएको छ। झण्डै १ वर्ष लामो सङ्क्रमणले रोकिएको पर्यटन क्षेत्र आन्तरिक पर्यटक चहलपहलले केही आशा भने जगाएको छ तर पनि मुलुकुको प्रमुख विदेशी मुद्रा आय आर्जनको माध्यम अन्तराष्ट्रिय पर्यटक निर्वाध घुमघाम गर्न खोपको पूर्ण रुपमा विश्वस्त नहुञ्जेल केही समय कुर्नुपर्ने पर्यटन क्षेत्रका विज्ञहरु बताउँछन्। 

अन्तर्राष्ट्रिय विज्ञका अनुसार, सन् २०२१ सम्म पर्यटन पुनः फर्किने अनुमान गरेका छन्। त्रिभूवन विश्वविद्यालयका पूर्वडीन तथा संस्कृति र पर्यटनका प्राध्यापक रमेशराज कुंवरले भने नेपालमा दुई कारणले तत्काल पर्यटन फर्किनेमा आशङ्का ब्यक्त गरेका छन्। 

पहिलो कारक तत्व सन् २०२१ मा युरोप, अमेरिकालगायत विकसित देशमा कोरोना साम्य भए पनि अन्य पर्यटकीय गन्तब्य भएका मुलुकहरुमा त्यसको ‘ह्याङओभर’ अझै बाँकी रहनेछ। दोस्रो कारण पछिल्लो समय नेपालमा चरम राजनीतिक अस्थिरता देखिएकोले विश्व पर्यटनमा नकारात्मक सन्देश गएको छ। 'शान्ति नभए पर्यटन हुँदैन,' उनले थपे। 

जे होस्, विश्वभर कोरोना खोप धमाधम लगाउन सुरु गरेकोले पर्यटन क्षेत्र छिट्टै पुरानै लयमा फर्किने आशा गर्न सकिन्छ। 

- एजेन्सीहरुको सहयोगमा 
 

प्रकाशित मिति: : 2021-02-03 16:08:00

प्रतिकृया दिनुहोस्