राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६/६३ को परिवर्तनपश्चात् मुलुक लोकतन्त्रको नाममा सर्वसत्तावादतर्फ उन्मुख भएको बताएका छन्।
राप्रपा प्रवास महासंघले आज आयोजना गरेको ग्लोबल जुम बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपा राजसंस्था र हिन्दुत्वको धरातलमा उभिएर मुलुकमा आर्थिक,सामाजिक,राजनितिक, सांस्कृतिक रुपान्तरण गर्न चाहन्छ भन्दै भ्रष्टाचार ,बेरोजगारी,धर्मपरिबर्तको अन्त्यको निमित्त अहिले बुलन्द आवाजको आवश्यकता भएको बताए।
सर्वोच्चमा विचाराधिन विषयमाथि दबाब र प्रभाव अनुचित हुने जनाउदैँ थापाले सडक प्रदर्शन र वक्तव्यबाजी असान्दर्भिक भएकोसमेत उल्लेख गरे।
राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा राष्ट्रिय एजेन्डा बन्दै जानू र जनमतको वृद्धिलाई सकारात्मक उपलब्धि ठान्नुपर्ने भन्दै थापाले प्रवास पनि पार्टीको सकृय सदस्यता अभियानलाई सघन रुपमा अघि बढाउन आग्रह गरे।
उनले प्रवासबाट महाधिवेशनमा सहभागीताको सुनिश्चित भएकोमा बधाईसहित खुशी प्रकट गरे।
कार्यक्रममा प्रवास संगठनका नेताहरु प्रेमकुमार श्रेष्ठ , लोक तिवारीलगायत विभागका प्रमुख बिजय खड्कालेसमेत धारणा राखेका थिए।बैठकमा २६ देशका प्रतिनिधिहरुको सहभागीता रहेको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।