वि.सं. १९९७ साल कार्तिक २ गतेदेखि पक्रिएका व्यक्तिहरु सिंहदरवारका स्कूलघर, बरफवाग, तबेलाघर, विजुलीघर आदिमा राखिएका छन् । ती ठाउँमध्ये स्कुलघर आजको रेडियो नेपाल भवनमा बिहान बिहान बढारी सफा गर्नलाई राममाया च्यामिनी खटिएकी थिइन् । त्यसबेला उनी चौबीस, पच्चीस वर्षकी मस्त युवती थिइन् ।
एउटा हातमा कुचो र अर्को हातमा बोरा लिएर सफा गर्न आएकी उनलाई देख्दा हाम्रो निगरानीमा रहेका पाश्र्वदलका सिपाहीहरु र आठपहरियाहरु जिस्कन्थे । प्रत्युत्पन्नमति भएकी राममाया उनीहरुसित जिस्केर त्यही मौकामा हामीसित यताउतीका दुइ–चारवटा कुरा चुहाएर जान्थिन् । त्यति मात्र होइन, हामी विभिन्न साथीहरुको घरको खबर पनि वसारपसार गर्थिन् ।
दुइ–दुइजना राखिएका स्कूलघरका कोठाहरुबाट अर्को कोठामा रहेका साथीहरुका कुरा पनि उनी सुनाइदिन्थिन् । साँच्चै उनी आउँदा हामीलाई खुसीको अनुभव हुन्थ्यो । मुखले भन्ने पनि यी राणा शासकहरुले हामीलाई पक्रेर कडा कारवाही गरेको छ भन्ने उनी बुझ्थिन् । कडा निगरानीमा हामीहरुलाई बाहिरको र भित्रको खबर पुर्याउन उनी सिपालु थिइन् ।