प्रचण्डले भनेजस्तै प्रतिनिधि सभा बैठक राख्ने तयारी हुँदैछ?

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परे प्रतिनिधि सभाको बैठक नै राख्ने दाबी गरेका छन्।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध चरणवद्ध आन्दोलनका क्रममा यसअघि ‘प्रतिनिधि सभा जिउँदै छ, हामी सांसद जिउँदै छौं’ भन्दै आएका प्रचण्डले शुक्रबार एकाएक प्रतिनिधि सभा बैठक नै राख्ने विषय उठाए।

माघ ९ गते काठमाडौं, माघ १५ गते बुटवलमा भएको विरोध सभामा अन्य विषयहरुमा धारणा राखेका प्रचण्डले शुक्रबार विराटनगरमा आयोजित सभामा भने, ‘आवश्यक परे प्रतिनिधि सभाको बैठक राख्छौं।’

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्छ भन्ने अविश्वास बढेर उनले त्यसो भनेका हुन् त?

त्यसबारेमा पनि प्रचण्डले विराटनगर सभामै प्रष्टिकरण दिए। उनले अदालतले सकारात्मक निर्णय नै सुनाउने अपेक्षा राखेको बताए।

‘अदालतले यो संविधानको भावना, जनताको भावना र देशको आवश्यकताअनुसार फैसला गर्छ भन्ने भरोसा गरेर बसेका छौं,’ आन्दोलनरत् नेकपाका अध्यक्ष प्रचण्डले भने, ‘आज म विराटनगरबाट भन्दैछु, देशले नै सुनेहुन्छ, जरुरी पर्‍यो भने हामी संसद बैठक बस्छौं र यस्ता अपराधीलाई कारबाही गर्छौं।’

प्रकाशित मिति: : 2021-01-30 09:49:00

प्रतिकृया दिनुहोस्