इजलासकाे समयः कहिले हतार, कहिले बिन्दास

शिलापत्र

काठमाडाै‌ं

‘चलाख त चलाख नै हुन् प्रधानमन्त्री’, वरिष्ठ अधिवक्ता एवं नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष शम्भु थापाले संवैधानिक इजलासमा प्रधानमन्त्रीमाथि व्यग्यं कसेपछि इजलासमा हाँसो त रोकिएन । तर, इजलास रोकियो ।

थापाले आफू र केपी ओलीले पहिलो संविधानसभा निर्वाचनमा एउटै पार्टीबाट चुनाव लडेर हारेको प्रसंग उप्काएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले इजलास रोक्ने निर्देशन दिए । इजलास ‘अब भोलि’ भन्नुअगावै राणाले थापाको स्वरमा स्वर मिलाउँदै थपी हाले, ‘पशुपतिमा पुजा गर्‍या भन्नुभएन त ?’ 

अक्सर हतारोमा देखिने इजलास आजचाहिँ ढुक्कै देखियो । विषयवस्तुबाहिर बहकिएर लामालामा बहस हुने, कुरा दोहोरिने र वकलातनामाको संख्या बढी भएकोले इजलासले ४ पुसदेखि बहसको समय ३० मिनेट निर्धारण गरिएको थियो ।   

त्यसपछि प्रधानन्यायाधीश राणाले बहसकर्तातालाई यो नियममा कडाइ गरेका थिए । तर, उनले आज भने कसैलाई समयको पावन्दी लगाएनन् ।

इजलासमा बसेका अधिवक्ता, प्रत्यक्ष प्रसारण सुनिरहेका कानुन व्यवसायी वाक्कदिक्क भइसक्दा पनि राणा भने  दिक्दार देखिएनन् । इजलासले समय कटाउँदैछ कि भनेर कानुन व्यवसायीले नै शंका गरे ।

आइतबार १५ मिनेट समय लिएर बोल्न सुरु गरेको वरिष्ठ अधिवक्ता मेघराज पोखरेलले आज सोमबार पनि बहस गरे । आइतबार नै पूर्वमहान्यायाधीवक्ता रमन श्रेष्ठले बहसका लागि दुई मिनेट समय माग गर्दा प्रधानन्यायाधीश राणाले एक सेकेण्ड पनि हुँदैन भन्दै रोकेका थिए ।

प्रकाशित मिति: : 2021-01-26 10:47:00

प्रतिकृया दिनुहोस्