नगरप्रहरीले ठेला खोसेपछि मञ्जुको पीडाः अब कसरी पेट पालौँ? (भिडियो)

नेपाल खबर

काठमाडौँ

यज्ञराज जोशी

नगर प्रहरीहरु ठेलागाडा उठाएर गाडीमा हाल्दैछन।

एक वृद्धा ‘छोडदिनु न छोडदिनु एकचोटीलाई’ भन्दै गहभरि आँशु बगाएर बिन्ती गर्दैछिन।

नगर प्रहरीको बलमिँच्याई देखिरहेकाहरु ‘गरिबलाई चाँही गरिखान पनि नदिने भए होइन?’ भनि प्रश्न गर्दैछन।

यतिकैमा उनको ठेलालाई गाडीमा चढाएर नगरप्रहरीहरु हुँईकिए। उनीहरुको मन पग्लिन्छ कि भन्ने आशाले बलिन्द्र आँशुसहित ती बृद्धा गाडीकै पछिपछि दौडिन्छिन।

तर गाडी रोकिएन। उनी निन्हाउरो अनुहारसहित फर्किन्छिन र आँशु पुछ्दै दुखेसो पोख्न थाल्छिन।

काठमाडौं नगरप्रहरीले एक महिलाको तरकारी बेच्ने ठेला उठाएर लगेको भिडियोका यी भावुक दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

मंगलबार दिउँसो सुकेधारा नजिकैबाट मन्जु कुँवर क्षेत्रीको तरकारी बेच्ने गाडा नगरप्रहरीले उठाएर लगेको थियो।

सुकेधारामै एउटा छाप्रोमा छोरासँग बस्दै आएकी मन्जुले घरमा ठेला राख्ने ठाउँ समेत नभएकै कारण बाटोको छेउमा ठेला राखेकी थिइन।

‘घाम मधुरो भएपछि मान्छेहरु पनि अफिसबाट फर्कन्छन। त्यसपछि घरघर ठेला गुडाउँदै तरकारी बेच्थेँ,’ मन्जुले नेपालखबरसँग भनिन्, ‘त्यसदिन भर्खर तीन बजेको थियो। खाली ठेला सडकमा राखेकी थिएँ। तिनीहरु आएर उठाएर लगे।’

आफ्नो ठेला उठाएर लग्न थालेपछि मन्जुले रोईकराई गरेकी हुन। आफू सडक किनारमा तरकारी नबेच्ने भन्दै ठेला छोडिदिन आग्रह गरेकी थिइन। आँखाभरि आँशु पार्दापनि नगरप्रहरीले उनको कुरा सुन्दै सुनेनन्।

प्रकाशित मिति: : 2021-01-14 16:10:00

प्रतिकृया दिनुहोस्