शेयरबजारमा वृद्धि जारी, नेप्से ३.७० बढेर २२३९.४२ अंकमा

बिएल संवाददाता

काठमाडाै‌ं

शेयरबजारको वृद्धि सोमबार पनि जारी छ। नेप्से सूचक ३.७० अंकले बढेर २२३९.४२ अंकमा आइपुगेको छ।

समग्र सूचक सकारात्मक हुँदा लगानीकर्ताको ध्यान विशेषगरी बिमा समूहतिर मोडिएको छ। यसअघि बैंकिङ समूहमा अधिक तेजी आएको थियो। 

अघिल्ला दिनहरुको तुलनामा बैंकिङ समूह तुलनात्मक रुपमा केही सुस्त देखिए पनि वृद्धि भने जारी छ तर विकास बैंक र फाइनान्स कम्पनीहरुमा पनि लगानीकर्ता आकर्षित भएका छन्।

बिमामा भने विशेष आकर्षण देखिएको छ। जीवन र निर्जीवन दुवै समूहमा वृद्धि देखिएको छ। पुस मसान्त नजिकिंदै गर्दा पनि शेयरबजारको उत्साहमा कुनै कमी छैन।

बजारमा सेक्टर घुमीघुमी तेजी आइरहेको देख्न सकिन्छ। कहिले वाणिज्य बैंक त कहिले उत्पादनमूलक लगायत अन्य समूह। अनि, कुनै बेला बिमा र बाँकी अरु समूहमा तेजी आउने क्रम जारी छ। 

साताको दोस्रो दिन कुल २०८ कम्पनीको ५ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको शेयरकारोबार भएको छ। १ करोड ३५ लाख ६० हजारभन्दा बढी कित्ता शेयरकारोबार भएका छन्। 

१२ मध्ये ७ समूहको सूचकमा तेजी आएको छ। ४ कम्पनीको भाउ ९% भन्दा बढीले वृद्धि भएको छ। खरिदबिक्री रकम सिद्धार्थ बैंक ४२ करोड ६२ लाख रुपैयाँसहित अग्रस्थानमा छ। दोस्रोमा प्रभु बैंक र तेस्रोमा एनएमबि बैंक परेका छन्।

प्रकाशित मिति: : 2021-01-11 15:33:00

प्रतिकृया दिनुहोस्