त्यो टाढाको दार्चुला...

सेतोपाटी

काठमाडाैं

नेपालको कुनामा छ सुदूरपश्चिम र त्यसको पनि कुनामा छ दार्चुला।  नेपालको नक्सामा ताप्लेजुङ र दार्चुला दुई जिल्ला हुन जसले भारत र चीन दुबै देशलाई छुन्छन्। डडेल्धुरा जाने र त्यो अघि कहाँसम्म पुगिन्छ अन्यौलकै बीच पुगियो त्यो टाढाको दार्चुला।

साथीको कार्यालय छ डडेल्धुरा, सुदूरपश्चिमका केही जिल्ला घुम्ने योजना बन्यो। कहाँ कहाँ पुग्ने भन्ने टुंगो चाहिँ थिएन। सुदूरपश्चिमका पहाडी जिल्ला पुग्न अत्तरिया हुँदै डडेल्धुरा पुग्नै पर्ने रहेछ। त्यसपछि महाकाली राजमार्ग हुँदै यात्रा गरियो भने बैतडी र दार्चुला पुगिने रहेछ भने सेती राजमार्गतर्फ लागे डोटी, अछामलगायत जिल्लामा पुगिने रहेछ। डडेल्धुरा पुगेर अन्तिम गन्तव्य तय गर्ने निधो भयो।

कोहलपुरबाट पहिलो दिन बिहानै यात्रा सुरू भयो। धनगढीसम्म पुग्ने गाडीमा अत्तरिया झर्यौं। बिहानको खाना त्यहीँ खाएर जाने टुंगो भयो। साथीले चिनेको उतै डडेल्धुराको कार अत्तरिया जाने रहेछ अनि केहीबेरमा फर्कने रहेछ। सोही कार चढी करिब ३.५ घण्टाको अत्तरिया देखिको यात्रापश्चात् डडेल्धुरा पुग्यौं।

साथीको कार्यालयकै आवासमा खाना र बास बस्ने व्यवस्था मिल्यो। पहिलो दिन त्यहीँ रात कट्यो। उता सेती राजमार्ग जाँदा खप्तडसम्म पुग्दा राम्रो हुने र हाल चिसोमा त्यता जान मुश्किल हुने भएपछि केही राम्रो मौसम रहेको बैतडी र दार्चुलातर्फ जानु उचित लाग्यो।

दोस्रो दिन बिहान छलफल गर्यौं, र अघिल्लो दिन आएको गाडीमा ३ दिनको यात्राको भाडाको कुरा गरी गाडी टुंगो गर्यौं।

१० बजे खाना खाएर बैतडी तर्फको यात्रा सुरू भयो। करिब ३ घण्टाको यात्रापश्चात बैतडी सदरमुकाम पुग्यौं। सहिद दशरथचन्दको नामबाट राखिएको नगरपालिका र बजार क्षेत्र खासै ठूलो थिएन।

प्रकाशित मिति: : 2021-01-09 12:03:00

प्रतिकृया दिनुहोस्