बनेपामा हिमाल ग्यास उद्योगमा सिलिण्डर राख्ने ट्यांकी पड्कियाे, तीन जना घाइते

काभ्रेको बनेपा साँगास्थित हिमाल ग्यास उद्योगमा ग्यास सिलिण्डर राख्ने ट्यांकी पड्किँदा तीन जना घाइते भएका छन्।

शुक्रबार लिकेज भएर ट्यांकी पड्किँदा तीन कर्मचारी घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) योगेन्द्र तिमिल्सिनाले बिएल नेपाली सेवालाई जानकारी दिए।

दुर्घटनामा उद्योगमा कार्यरत ५५ वर्षीय लोकबहादुर खड्का, ४७ वर्षीय साइला भुजेल र ४२ वर्षीय कुमार भुजेल घाइते भएका छन्। 

‘लिकेज भएका सिलिण्डरमात्रै राख्ने ९८० केजी बराबर अटाउने ट्यांकी रहेछ। त्यो ट्यांकी पड्किएको रहेछ। घटनाबारे थप अनुसन्धान गर्दै छौं,’ उनले भने।

घाइते तीनै जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको तिमल्सिनाले जानकारी दिए।

ट्यांकी पड्किँदा ग्यास भण्डार गरिएका अन्य २ ट्यांकीमा क्षति पुगेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: : 2021-01-08 15:31:00

प्रतिकृया दिनुहोस्