जाडोमा छालाको स्याहार कसरी गर्ने? (भिडिओ)

सेतोपाटी

काठमाडाैं

छाला सुख्खा, फुस्रो हुने, हावा र चिसोको एलर्जी हुने, फुट्ने लगायत विभिन्न छालासम्बन्धी समस्या जाडोमा धेरै हुन्छ। त्यसैले छालालाई ठन्डीमा बढी स्याहार चाहिन्छ। राम्ररी ख्याल राख्ने हो भने चिसोमा छालालाई नरम र मुलायम राख्न सकिन्छ।

छालाको स्याहार कसरी भन्नेबारे हामीले मेडिसिटी अस्पतालकी छाला तथा सौन्दर्य रोग विषेशज्ञ डा. उमा क्यालसँग कुराकानी गरेका छौं। 

डा. क्यालका अनुसार जाडोमा छाला फुस्रो हुनुको मुख्य कारण वातावरण हो। जाडोमा आर्द्रता कम हुनाले हावा सुख्खा हुन्छ। सुख्खा हावाले हाम्रो छालाभित्रको ‘मोइस्चर’ सोस्छ र फुस्रो बनाइदिन्छ। त्यसैले मोइस्चराइजर लगाउनु पर्छ।

त्यस्तै जाडोमा धेरै तातो पानीले नुहाइन्छ पनि। तर डा. क्याल तातो पानी प्रयोग कम गर्न सल्लाह दिन्छिन्। लामो समय तातो पानी प्रयोगले छाला अझै सुख्खा हुन्छ। 

'सकेसम्म हलुका मन तातो पानी प्रयोग गर्ने र दुई-तीन मिनेटभित्र नुहाइसक्दा राम्रो हुन्छ,' उनले भनिन्।

हामीले गर्ने अर्को गल्ती औल्याउँदै उनले भनिन्, 'नुहाइसकेपछि शरीरको पानी पुछ्न तौलिया छपछप मात्र गर्नुपर्छ। घोटेर पुछ्नु हुँदैन। अनि लगत्तै मोइस्चराइजर लगाउने बानी बसाल्नुपर्छ।'

मुख धुँदा साबुन र फेसवासको सट्टा 'क्लिन्जिङ ओयल’, ‘क्लिन्जिङ जेल’ वा ‘क्लिन्जिङ मिल्क’ प्रयोग गर्न उनी सुझाउँछिन्।

प्रकाशित मिति: : 2021-01-08 08:33:00

प्रतिकृया दिनुहोस्