राजेन्द्र अधिकारी
मेरो एक आफन्तका दुई छोरी र दुई छोरा छन् । छोरीहरू १४ वर्ष र १२ वर्षका थिए भने छोराहरू १० र ८ वर्षका थिए । छोराहरू घरनजिकैको खोलामा गएर पौडी खेल्ने, दुवाली थुनेर माछा समातेर ल्याउँथे, घरवरिवरि बाँदर आयो भने लखेटेर जंगल कटाउँथे । तर, छोरीहरू खोलामा गएर पानी भरेर ल्याउन पनि डराउँथे । सानातिना कीरा जीवजन्तु देख्दा पनि चिच्याउँथे, भाग्थे ।
उनीहरूका गतिविधि देख्दा लाग्थ्यो, पुरातनवादी सोच बोकेका मान्छेले छोरीभन्दा छोरालाई महत्त्व किन नदिऊन् त ? मेरो मनले केही प्रश्नहरू सोधिरहेको थियो, छोराहरूमा देखिने आत्मविश्वास र छोरीहरूमा उत्पन्न हुने सङ्काेचको स्रोत के हो ? के साँच्चै छोरीभन्दा छोरा अब्बल नै हुन्छन् ? के कुनै खासखास कारणले छोरीहरू प्राकृतिक रूपमै कमजोर हुन्छन् ? प्राणी जगत्मा देखिने प्राय: भाले पोथीभन्दा ठूलाे, आकर्षक र बलियो देखिन्छ । के मानवको हकमा पनि यो लागू हुन्छ ? यी प्रश्नहरूको जवाफ खोज्ने क्रममा मैले भेटेका तर्क र तथ्यहरूलाई तीन खण्डमा समेट्ने प्रयास गरेको छु ।
पहिलो, मानव सभ्यता क्रमको ऐतिहासिक कालखण्डमा महिला र पुरुषबीचको कामको जिम्मेवारी बाँडफाँट र हजारौँ वर्षसम्म त्यसैअनुसारको अभ्यासले पैदा गराएको मनोविज्ञान । दोस्रो, सामाजिक मूल्यमान्यता, संस्कार, संरचनागत विभेदका कारण विकसित मनोविज्ञान र तेस्रो जैविक वा शारीरिक कारणबाट उत्पन्न हुने मनोविज्ञान ।
मानव सभ्यताको सुरुवाती जब जंगली युगका कबिलाहरू, ढुङ्गेयुग हुँदै खेतीपाती र पशुपालनको चरणमा प्रवेश गर्याे, तब महिला र पुरुषबीचमा कामको बाँडफाँट प्रष्ट रूपमा छुट्टिन पुग्यो । महिलाहरूको हकमा साथमा बच्चा पनि हुने भएकाले सिकार गर्न, लड्न भिड्न जोखिम मोल्नुपर्ने भएकाले बच्चाको सुरक्षाका लागि रक्षात्मक बन्नुपर्ने, बासस्थानकाे सरसफाइ, बच्चाबच्चीको रेखदेख, खानेकुरा तयार गर्नेजस्ता काम उपयुक्त देखियो भने पुरुषहरू हतियार, औजार निर्माण गर्ने, सिकार गर्ने, लड्नेभिड्नेजस्ता काममा खटिन थाले ।