नियामक निकाय मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए)ले अक्सफोर्ड विश्वविद्यालयको कोरोना भाइरसविरुद्धको खोपलाई अनुमति दिएको छ।
एस्ट्राजेनेकाको सहकार्यमा बनाएको कोरोना भाइरसविरुद्धको खोपलाई बुधबार बेलायतमा प्रयोगका लागि अनुमति पाएको हो। एमएचआरएले खोपलाई अनुमति दिएसँगै आममानिसमा खोप वितरण गर्ने बाटो खुलेको छ। तर यो खोप दुई डोज लगाउनु पर्ने छ।
यो खोपलाई अनुमति दिन बेलायत पहिलो मुलुक हो। बेलाययतमा प्रयोग अनुमति दिनुको अर्थ यो प्रभावकारी र सुरक्षित छ भन्ने पुष्टि भएको छ।
केही समयअघि सार्वजनिक भएका विवरणहरूले कोरोनाविरूद्ध यो खोपको प्रभावकारिता ७०.४ प्रतिशत रहेको बताएका थिए।
बेलायतले उक्त खोप १० करोड डोज अर्डर पनि गरिसकेको छ।
बेलायतमा कोरोना संक्रमितको संख्याले दिनहुँ नयाँ रेकर्ड बनाउन थालेको छ। बेलायतमा मंगलबार एकै दिनमा ५३ हजार संक्रमित थपिएका थिए।
सरकारले आउँदो जनवरी ४ तारिखबाट दुई हप्ताभित्र अक्सफोर्ड/एस्ट्राजेनेका तथा फाइजर-बायोएनटेकका २० लाख खोपको पहिलो डोज वितरण गर्ने घोषणा गरिसकेको छ।
एक डोजको मूल्य दुई देखि तीन पाउण्डसम्म पर्ने सक्ने जनाइएको छ। तर अक्सफोर्ड-एस्ट्राजेनेकाद्वारा विकसित खोप फाइजर बायोएनटेकद्वारा विकसित खोपको तुलनामा व्यवस्थापन र सामान्य फ्रिजको तापक्रममा पनि भण्डारण गर्न निकै सहज हुनुका साथै कम खर्चिलो पनि छ।
हाल बेलायतलगायतका विभिन्न मुलुकमा देखिएको कोरोनाको नयाँ स्वरूपविरुद्ध पनि यो खोप प्रभावकारी हुने बताइएको छ। बेलायतमा हालसम्म ६ लाख १६ हजार भन्दा बढीले फाइजर खोप लगाइसकेका छन्।