सन्तोष साहकी आमा भन्छिन्- केटीवालाको फोन धेरै आउन थाल्यो !

‘हमर बेटा लाखोमे नहीँ करोडोमे एक छै,’ बीबीसी मास्टर सेफ द प्रोफेसनल्स–२०२० को फाइनलिस्ट बनेर चर्चा कमाएका सन्तोष साहकी आमा सोमरीदेवीले गर्वसाथ भनिन् । उमेरले १०० वर्ष छुन आँटेकी उनी छोराको उपलब्धीले औधी रोमाञ्चित देखिन्छिन् ।

सिराहाको कर्जन्हा नगरपालिका वडा–११ मा पर्छ सन्तोषको घर । दुई तल्ले यो घर दुई वर्षअगाडि सन्तोषले नै बनाइदिएका हुन् । घरमा सन्तोषका साईंला दाइ दिलीपको परिवार र आमा बस्छन् ।

हामी पुग्दा घरमा कोही थिएन । सोमरीदेवी छिमेकीको घर अगाडि बन्दै गरेको नाला हेर्दै रहिछन् । हामीले कुरा गर्न बोलाएपछि उनी हौसिँदै आइन् ।

कुराकानीको सुरुवातमै उनले सुनाइन्, ‘छोराले त्यस दिन लन्डनबाट फोन गरेर भन्यो, आमा म त ठूलो मान्छे बनिसकेँ ।’

हुन पनि केही दिनअघिसम्म सन्तोषलाई उनको परिवार, आफन्त र साथीभाइले चिन्थे । अहिले देश–विदेशमा उनी चर्चित बनेका छन् । ३२ जना प्रतियोगी सहभागी रहेको पाककलासम्बन्धी प्रतियोगितामा उपाधिकै नजिक पुग्नु चानचुने उपलब्धी होइन । सन्तोषले प्रतियोगिताभर नेपालका विभिन्न भेग र समुदायका परिकार बनाएर निर्णायकहरुको मन जितेका थिए । भारत हुँदै लण्डन पुगेका साहको राष्ट्रप्रेमले सारा नेपालीहरुलाई खुसी दिएको छ ।

अवश्य पनि सबैभन्दा बढि खुसी त उनकी आमा छिन् । सोमरीदेवी भन्छिन्, ‘सन्तोषले मलाई फोन गरेर ठूलो मान्छे भएँ भनेपछि मेरो खुसीको सीमा नै छैन ।’

प्रकाशित मिति: : 2020-12-27 16:13:00

प्रतिकृया दिनुहोस्