लगानीकर्ताको आशाविपरीत नेप्सेमा पहिरो, शेयर बजार ३९.९८ अंकले घट्यो

बिएल संवाददाता

काठमाडाै‌ं

ब्रोकर कमिसन घटेपछि बजार बढ्ने आमलगानीकर्ताको अपेक्षा विपरीतको प्रवृत्ति देखिएको छ । नेप्से सूचक आइतबार ३९.९८ अंकले घटेर १९९८.६५ विन्दुमा आइपुगेको छ । 

शेयर बजारका लागि प्रायः सबै हिसाबले उपयुक्त माहोल देखिएको भए पनि बजार अझै माथि जान सकेको छैन । यसलाई कतिपयले बजारले नयाँ उचाई बनाउनुअघिको करेक्सन भनेका छन् । यस्तै, कतिपयले पुस महिना र अस्थिर राजनीतिको प्रभाव पनि भनिरहेका छन् ।

बजार लामो समयसम्म वियरिस बाटोमा हिँड्न नसक्ने अड्कलबाजीहरु जानकारहरुको रहेको छ । ब्रोकर कमिसन घटेको छ । यसबाट लगानीकर्ताको कमिसन लागत कम भएको छ । 

वित्तीय प्रणालीमा प्रचुर लगानीयोग्य पुँजी छ । लगानीको अन्य क्षेत्र संकुचित भएको अवस्था छ । ब्याजदर घटेको छ । बैंकहरुले मुद्दति तथा बचतको ब्याजदर थप तल झारेका छन् ।

बजार बुलिस चक्रमा हिँडिरहेको छ । यी तमाम परिदृश्यहरुका कारण केही दिन करेक्सन भए पनि अन्ततः बजारले फेरि बुलिस ट्रेण्डनै पछ्याउने विश्लेषकहरु बताउँछन् । 

लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनीहरु छनोट गरी सकेसम्म अलिलामो समय होल्ड गर्ने हिसाबले शेयर खरिद गर्न सके दिनहुँ हुने उतारचढावबाट प्रताडित हुनुपर्दैन ।

आइतबार २०४ कम्पनीको ८१ लाख ७७ हजार भन्दा बढी कित्ता शेयर कारोबार भएको छ । कारोबार भएका सबै समूहको सूचक घटेको छ ।

सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक ५१९.४८ अंकले घटेको छ । वाणिज्य बैंक समूहमा पनि २३.१२ अंकको गिरावट आएको छ । ४ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । 

खरिदबिक्री रकममा नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा छ । यसको ६७ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा दोस्रोमा नबिल बैंक र तेस्रोमा एनआइसी एसिया बैंक परेका छन् ।

प्रकाशित मिति: : 2020-12-27 16:03:00

प्रतिकृया दिनुहोस्