सञ्जीव कार्की
राजनीतिक भाष्यमा चर्चित टर्मोलोजीमा ब्राम्हणवादी समाज, संस्कार र संरचनागत लाभ लिने वर्गको रुपमा ब्राह्मण थरलाई लिने गरिन्छ । यद्यपि कतिपय अवसर र अवस्थामा नामपछि झुण्डिएको ब्राह्मण बोधक संकेत हानिकारक र अवसरबाट बञ्चित बन्नुपरेको तीतो यथार्थ छ भने त्यही थर–जातको कारण राज्यको घोषित–अघोषित, लिखित–अलिखित कानुनको कारण मर्यादा, सम्मान र अवसर उसै प्राप्त हुने सामाजिक संरचना पनि विद्यमान छ ।
तर डाक्टर सुजाता पन्त जसको नाम पछिको थरमा ब्राह्मणबोधक प्रतीक ‘पन्त’ भए पनि यिनले पाएको दुःख यिनको परिवेश, आर्थिक, सामाजिक र पारिवारिक स्थिति सुन्दा, शिक्षा–दीक्षा प्राप्त गर्दाको संघर्ष निश्चय नै मन अमिलो बनाउने, आँखा रसाउने खालको छ । सुनगाभा, सुनाखरी पहाडको भित्तोमै उम्रन्छ, फक्रन्छ, फूल्छ अनि रुखको कापमै जीवनको सौन्दर्य पोख्छ । हो, त्यही सुनगाभा र सुनाखरीको सौन्दर्य र संघर्ष हुन् डाक्टर सुजाता, जो आफ्नो खुवीकै कारण डाक्टर बनेकी छन् । उनको योग्यता ब्राह्मण कुलमा जन्म संयोग भएको कारण बनेको होइन । एक आम साधारण वर्ग र परिवारकी मान्छे हुन् र उदाहरण हुन् उनी । दुःख र पीडालाई ऊर्जामा रुपान्तरण गर्ने सामर्थ्य विकास गरेको कारण नै डाक्टर सुजाता जुन यात्रामा पाइला चाल्दैछिन्, त्यो यात्रामा आर्तहरुको चहराएको घाउमा मलमपट्टी लाउने संकल्प र सपना छ उनको । कसैको लागि लठ्ठी, कसैको लागि वैशाखी, त कसैको लागि ह्विल चियर, कसैको लागि औषधिको गोली र सुइ नै बनिदिने र बनाई दिने डाक्टर पन्तको सामाजिक सेवामा प्रभावित बनेर नै यो आलेख तयार पार्ने जमर्को भएको हो । यो आलेख भक्तिगानमा आधारित नभइ ती रोगी, बिरामी र असहाय, अनाथका नाथ सुजाताको सुकर्मलाई चिनाउने सानो प्रयास स्वरूप लेखिएको छ ।
सुजाता भर्खर २६ वषन्तमा हिँड्दै छिन् तर उनले निर्वाह गरेको भूमिका र देखेको सपनाको कुरा गर्ने हो भने यिनको उमेर वास्तविक उमेरको दोब्बर हुनुपर्ने जस्तो लाग्छ । यति सानै उमेरमा जिम्मेवारी बोध गरेर आफ्नो डाक्टरी कर्म र धर्मलाई सँगै जोडेर समाजको लागि देखिने गरी केही गर्नुपर्छ भन्ने जोस र हुटहुटी छ । रातदिन बिरामीको सेवा, सहयोग र उपचारमा ध्यान लगाउने सुजाता बिरामीको उपचार र सेवा गर्न पाए सबथोक बिर्सेर सेवामा तल्लिन बन्छिन् ।