अग्लो

राजीव घिमिरे

काठमाडाै‌ं

दमक नगरपालिकाले विश्वकै अग्लो बुद्धमूर्ति बनाउने रे! संसारकै सबैभन्दा अग्लो टावर बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलायो। लमजुङमा बन्ने भयो विश्वकै अग्लो स्थानको ‘स्मार्ट फिल्म सिटी’! विश्वकै अग्लो ‘स्काइ साइकलिङ’ नेपालमा! भीमदत्त नगरपालिकाले विश्व कै अग्लो ७५ फिटको नेपाल आमाको मूर्ति बनाउने भएछ।

भर्खर एउटा न्यूज पढेँ– भक्तपुरको चागुँनारायण नगरपालिकामा विश्वकै अग्लो त्रिशूल स्थापना हुने भएछ। दाङ्गमा पहिले देखि नै थियो क्यारे!
हामी नेपालीलाई किन अग्ला अग्ला स्ट्रकचर मनपर्छ होला? हामीलाई चौडा सडकभन्दा त्यसमा बनेको अग्लो स्वागत गेट मनपर्छ। लामो सडकभन्दा त्यसमा बनेको अग्लो पुल मन पर्छ। 

झोलुङ्गे पुलको उल्लेख गर्न पर्यो भने समाचारको शीर्षक बन्ने गर्छ, ‘विश्वको सबैभन्दा अग्लो ठाउँमा रहेको सबैभन्दा लामो झोलुङ्गे पुल नेपालमा!’ विश्वको सबैभन्दा लामो झोलुङ्गे पुल भनेर मात्र नहुने रहेछ, सबैभन्दा अग्लो ठाउँ पनि जोडिनै पर्ने रहेछ, नत्र विज्ञापनै नहुने!

विश्वको सबैभन्दा अग्लो हिमाल मात्र होइन, विश्वको सबैभन्दा गहिरो घाटी (नयचनभ) पनि नेपालमा नै छ तर त्यसले महत्व पाउँदैन। हाम्रो गर्व अग्लो हिमाल नै हो।

एकचोटि पत्रिकामा पढेको थिएँ, नेपालको सबैभन्दा अग्लो व्यक्तिले पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटेपछि उनलाई खुब गाली गरे रे! किनभने नेपालको सबैभन्दा अग्लो व्यक्ति भनेर राज्यले मासिक भत्ता दिने भन्ने कुरालाई गिरिजाले मानेन रे! अग्लाईको कदर भएन भनेर त्यो बेला पत्रिकाले खुब लेखे। विश्वको सबैभन्दा पुड्को मान्छे नेपालकै थिए क्यारे तर उनलाई पुड्काइ भत्ता चाहियो भनेर कुनै पत्रिकाले लेखेन। ‘विश्व’ कै पुड्कोलाई ‘नेपाल’को मात्र अग्लोले खाइदियो! बन्जी जम्पिङ्गको विज्ञापनमा हामी भन्दैनौं, ‘गहिरो ठाउँमा हामफाल्ने’। हामी भन्छौं, ‘विश्व कै सबैभन्दा अग्लो ठाउँबाट हामफाल्ने!’

यत्ति कै त मञ्च अग्लो हुन्छ, त्यसमाथि पनि मुख्य व्यक्तिको कुर्सी अझै अग्लो राख्नै पर्ने हुन्छ। सलामी लिन पर्यो अग्लो नै चाहियो, पिर्कामा वा टेबुलमा चढेर भए पनि त्यो अग्लाई हासिल गर्नैपर्छ। त्यस्तै हामीलाई टाउकोको उचाईले पुगेन, टुप्पी थप्यौं। त्यतिले पनि पुगेन अनि टोपी थप्यौं।
एकचोटि कम प्रदूषण हुने होरिजेन्टल ईंटा भट्टाको कुरा आएको थियो तर अग्लो नहुने भएकोले टाढाबाट देखिँदैन थाह नै हुँदैन भनेर त्यति मन पराएनन्!

हामीलाई तराइको आलु मनपर्दैन पहाडको आलु मनपर्छ, होटेलवालाले तराइको आलुलाई मुस्ताङ्गको आलु हो मात्र के भन्न पर्छ स्वादको ठूलै पारखी नै जस्तो गरेर ‘धेरै नै फरक छ हगी स्वादमा’ भन्छौं हामी। होटेलवालाले त्यही ‘अग्लो–अहम’लाई आलुमा तारेर मज्जाले बेचिदिन्छ, हामी मक्खपर्छौं।

मूख्य कुरा,

सगरमाथा थाह भएभन्दा ० दशमलव ८६ मिटर अझैं अग्लो रहेछ, बल्ल थाह भयो, हाम्रो सान झनैं अग्लियो। तर कसैले विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा हैन है भन्यो भने हामीलाई चित्त दुख्छ। ‘अग्लो’ को थुप्रै परिभाषा हुन्छन्, कुन परिभाषाले हेर्ने होः

1. Highest altitude above the mean sea level: Mount Sagarmatha (Nepal)
2. Tallest mountain from the base to peak: Mount Mauna Kea (USA)
3. Tallest mountain from its base on land to its highest point: Mount McKinley (USA)
4. Furthest point from the earth center (closest point on Earth to the stars): Mount Chimborazo (Ecuador)

तर हामी ‘अग्लो’ को अरू सबै परिभाषालाई खारेज गर्छौं र ‘हाम्रो’ सगरमाथालाई जुन परिभाषाले अग्लो बनाउँछ, त्यही मान्छौं। पहिला परिभाषा मानेर त्यसपछि अग्लो हिमाल मान्ने हैन कि पहिला अग्लो हिमाल हाम्रो हिमाल हो भन्ने मानेर त्योसँग मिल्ने परिभाषा मान्ने!

अब अग्ला अग्ला गेट र भ्यू टावरको पालो पनि सकियो जस्तो छ, विकासको चरणले नयाँ डाइमेन्सन हासिल गरेर त्रिशूलतिर मोडियो जस्तो छ, थप रमाइलो हुँदैछ!

प्रकाशित मिति: : 2020-12-18 15:47:00

प्रतिकृया दिनुहोस्