कैलाली । नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई लिएर सीमा विवाद चुलिएको छ । दुवै देशबीच ती क्षेत्रको सीमा विवाद समाधानका लागि पहल भइरहेको छ । तर त्यसबाहेकका क्षेत्रमा पनि दुई देशबीच सीमा विवाद नभएको भने होइन । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नं. ९ मा रहेको प्यारा ताल पछिल्लो समय भारतको कब्जामा छ । कालापानीमा जस्तै प्यारा तालमा पनि भारतीय सुरक्षाकर्मीले नेपालीलाई प्रवेशमा रोक लगाएका छन् । ५ किलोमिटर लम्बाई र ६० मिटर चौडाई भएको उक्त ताल २०६१/०६२ मा खटिएको संयुक्त सीमा सर्वे टोलीको लापरवाहीका कारण भारतको कब्जामा पुगेको हो ।
दुवै देशबाट खटिएको संयुक्त टोलीले सर्भे गर्दा नेपालका तर्फबाट सर्वेक्षकमा मधुकर मास्के थिए । सर्भे गर्ने संयुक्त टोलीले नेपालमा सशस्त्र जनयुद्ध उत्कर्षमा पुगेको भन्दै सुरक्षा समस्या देखाएर त्यतिबेला भारतमै डेरा बनाएर बसेर स्थलगत अध्ययन बेगर नै सीमा निर्धारण गरेको स्थानीयवासीको भनाइ छ । एक्कासी पिल्लर गाड्दामात्र आफूहरुले थाहा पाएको उनीहरुको गुनासो छ ।
स्थानीयवासीका अनुसार पुरानो पिल्लर प्यारा तालदेखि ६०० मिटरको दुरीमा भारततिर थियो, जो अहिले पनि ढलेको अवस्थामा छ । सो क्षेत्रमा अहिले भारतीय सुरक्षाकर्मीले नेपालीहरुलाई जान दिएका छैनन् । अहिलेको नयाँ पिल्लर प्यारा तालदेखि ५०० मिटर नेपाली भू–भागतर्फ राखिएको छ ।
भारतीय पक्षले पिल्लर नं. १९४ र अहिलेको नयाँ गाडिएको १९५ पिल्लरको बीचमा १ किलोमिटर नेपाली भू–भाग कब्जा गरेको छ । जसमा नेपाली नागरिकको २ बिघा जग्गासमेत भारतको कब्जामा परेको छ । आफूसँग लालपुर्जा भएपनि भोगचलन गर्न नपाएको स्थानीयवासीको गुनासो छ ।
पुनर्वास नगरपालिका वडा नं ९ का वडा अध्यक्ष नारायणप्रसाद जैशीका अनुसार भारतीयले गुगल म्यापमा समेत नेपाली भूमिलाई आफ्नो देखाएको छ ।