दिनभरि धर्ना बस्छन्, बेलुका भोकै सुत्छन् !

अनलाइनखबर

काठमाडाैं

२ पुस, काठमाडौं । बुधबार अपरान्ह तीन बजे माइतीघरमा चौथो दिनको धर्ना सकियो । सवा तीन बजेतिर सहयोगी मनहरुले संकलन गरेको खाजा उखु किसान भएको ठाउँमा आइपुग्यो । स्वयंसेवकहरुले प्लास्टिकका प्लेटमा बाँडेका आधी मुठ्ठी खिर, दुइटा पुरी र अलिकति तरकारीले किसानहरुले दिनभरको भोक मेटाए ।

खाजापछि पर्चा–पम्प्लेट बोकेर १० जनाको एउटा समूह धर्नास्थलबाट पूर्वतर्फ सडकपेटीमा बस कुर्न उभिन पुग्यो । घाम पातलिँदैछ । पुस १ गते काठमाडौंको तापक्रम हालसम्मकै कम तीन डिग्री सेल्सियस छ । ७४ वर्षीय गगनदेव राय जाडोले काप्न थालेको उनको हातको स्यानिटाइजरको बोत्तल हल्लिदा देखियो ।करिब २० मिनेट पर्खिएपछि बा ३ ख ३१४३ नम्बरको बस आयो, जाडोले कामिरहेका रायसहित सबै चढे । बस बानेश्वर, तीनकुने, सिनामंगल हुँदै गौशाला पुग्यो । गौशाला चोकमा ओर्लिएका उखु किसानहरु पशुपतिनाथ परिसरको धर्मशालामा छिरे ।

उनीहरुले बी ब्लकको पहिलो तल्लामा दुई कोठा (बी ०४ र बी ०६) लिएका छन् । दिनभरको थकान र जाडोले कापिरहेका गगनदेव राय बी ०४ नम्बर कोठामा पसेर कम्बलमा बेरिए । दुई कोठामा पाँच–पाँच जना बाँडिएका किसानमध्ये कोही खाटमा बसेर खैनी माड्न, कोही मोबाइल चार्ज गर्न लागे भने कोही कुनातिर पल्टिए । ‘दिनभरको थकानले बेलुका लुपुक्क निदाइन्छ, तर एक निन्द्राबाट ब्युँझिएपछि जाडोले थरथरी कमाउँछ । जिउ न्यानो बनाउन भोलिको घाम कुर्न पर्छ’, सर्लाही सिसौटियाका रामबाबु मण्डलले भने ।

धर्मशालामा उनीहरुले २४ घन्टाको ३८० रुपैयाँ तिर्नुपर्छ । आन्दोलन गर्न ३६ प्रतिशत ब्याजमा ऋण लिएर आएको १० हजार रुपैयाँ जोगाउन बेलुका नखाई सुत्ने गरेको ७२ वर्षीय रायले बताए ।

प्रकाशित मिति: : 2020-12-17 21:12:00

प्रतिकृया दिनुहोस्