युरोपमा पनि कोरोनाको खोपले २१ डिसेम्बरमा स्वीकृति पाउन सक्ने

बेलायत र अमेरिकापछि युरोपमा पनि कोरोनाबिरूद्ध खोपलाई स्वीकृति दिने सम्भावना बढेको छ। 

युरोपेली संघले फाइजर र बायोनटेकलाई स्वीकृति प्रदान गर्न २१ डिसेम्बरमा बैठक बस्ने जानकारी दिएको स्थानीय पत्रपत्रिकाले बताएका छन्। 

युरोपमा पछिल्लो समय कोरोना संक्रमण तिब्र बनेको छ। विश्वब्यापी रूपमा ५ दिनमा २५ लाख संक्रमित बढेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नयाँ तथ्याकबाहिर आएपछि इयू कोरोनालाई लिएर निकै संवेदनशील बनेको छ। 

युरोपेली संघको स्वास्थ्य एजेन्सीले मंगलबार एउटा जानकारी सार्वजनिक गर्दै २१ डिसेम्बरमा कोरोना खोपलाई स्विकृति दिन बैठक बस्ने बताएको छ। यसका लागि २७ देशको बैठक बस्दै छ। 

जर्मनीको स्वास्थ्य मन्त्रालयले यसअघि नै कोरोनाको खोपलाई स्विकृति प्रदान गर्न छिट्टै बैठक बस्नुपर्ने माग राखेको थियो। फाइजर र बायोनटेकलाई बेलायत, क्यानडा, अमेरिका र मेक्सिकोले स्वीकृति प्रदान गरिसकेका छन्। 

हालसम्म कोरोनाका कारण ७ करोड ३४ लाख मानिस संक्रमित भइसकेका छन्। यसमा १६ लाख ३३ हजार मानिसको ज्यान गइसकेको छ।
 

प्रकाशित मिति: : 2020-12-16 10:23:00

प्रतिकृया दिनुहोस्