कोरोना बीमा : १७ हजार बढीको कागजात पूरा

सांकेतिक तस्बिर

कोरोना बीमामा बीमकले रकम नपाएको भन्दै गुनासो आएपछि सरकारको निर्देशनअनुसार नै बीमा समितिले थप सहजीकरण गरिरहेको छ। 

समितिले आज पछिल्लो विवरणबारे जानकारी दिँदै बुधबारसम्म कूल १७ हजार २३५ बराबरको दाबीमा कागजात पूरा भएको जनाएको छ। यस्तै भेरीफिकेशनका लागि स्वास्थ्य सेवा विभागमा चार हजार १५२ दाबी पठाइएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट भेरिफिकेशन भएर आएका सङ्ख्या भने दुई हजार ४९३ रहेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना बीमामा व्यापक गुनासो आएपछि दुईपटक समितिलाई सहजीकरणका लागि निर्देशन दिएका थिए। 

दाबी भुक्तानीमा आठ हजार १४५ रहेका छन्् भने कागजात पूरा भई भुक्तानी गर्न बाँकी सङ्ख्या भने नौ हजार ९० रहेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।

 उनका अनुसार कागजात नपुगी पुनःनिर्जीवन बीमा कम्पनीमा फिर्ता भएको दाबी सङ्ख्या भने एक हजार १३६ रहेको छ। समितिका अनुसार बीमालेख खरिद गरेका बीमितले दाबी भुक्तानीका लागि कोरोना बीमा मापदण्ड, २०७७ ले तोकेको सम्पूर्ण कागजातसहित सम्बन्धित बीमा कम्पनीमा निवेदन दिनुपर्ने र सम्बन्धित बीमा कम्पनीले सबै कागजात पूरा भए/नभएको यकीन गर्ने व्यवस्था गरिएको छ। रासस 

प्रकाशित मिति: : 2020-12-10 20:52:00

प्रतिकृया दिनुहोस्