खगेन्द्र संग्राैला
जगत्मा डरको विकराल कालको औतारमा कोरोना हाजिर छ । नाङ्गा आँखाले कतै देखिनु छैन, तर संसारैभरि फुक्काफाल यो व्याप्त छ । जान्नेहरू भन्छन्- विश्वभर व्याप्त कोरोनालाई बटुल्ने हो भने जम्मा एक मुट्ठी पनि हुँदैन ।
यो सूक्ष्मातिसूक्ष्म कोरोनाले ‘मै हुँ’ भन्ने मानिसमा उग्रातिउग्र त्रास जगाएको छ । यो नाथे भय–संक्रामक कोरोनाले देशलाई देशबाट अलग्याएको छ, समुदायलाई समुदायबाट, मान्छेलाई मान्छेबाट । र, हर मान्छे आफूलाई आफैँबाट । मान्छेमा उत्पन्न मान्छेको डरले मान्छे–मान्छेबीचका भावना र प्रेमका तन्तुहरू चाटचुट्टै छिनेका छन् । र, मान्छे आफ्नै घरको साँघुरो घेरोमा आफ्नै मनको पिन्जराको निरीह कैदी बन्न अभिशप्त छ ।
विपद्मा मान्छेले स्वभावतः मान्छेको सहारा खोज्छ । तर, कोरोनाकालमा जहाँ पनि र प्रायः जो पनि सहारा होइन, संक्रमणवाहक त्रासको औतारमा उपस्थित छ । छिमेकी डरको औतारमा उपस्थित छ, टोलिया डरकै औतारमा, नगरवासी डरकै औतारमा । चर्को विपद्मा मान्छेले खोज्ने आखिरी सहारा सरकारको हो । सरकार हुनुपर्ने वास्तवमा नागरिकको भर–अभरको साथी र सहयाेगी हो । तर, कहालीलाग्दो कोरोना महामारीमा सरकार स्वयम् डरको कारक एवं विस्तारक भएको छ ।
सरकार भन्छ, ‘सत्तरी वर्षमाथिका घरबाहिर ननिस्क, निम्छरो ज्यान कोरोनाले मार्ला !’ झट्ट सुन्दा सरकारले मलाई नै हेरेर भनेझैँ लाग्छ । र, यसो गमेर ल्याउँदा सरकारले मजस्ता बूढापाकालाई बचाउन खोजेको पो हो कि भनी आस जाग्छ । तर, ढल्दो उमेरका जनलाई डर देखाउँछ र पाषाणहृदयी सरकार आफ्नै विलासी खोपीमा लुत्त लुक्छ ।
बुढापाका गृह नजरबन्दमा थुनिएका छन् । निसालाग्दो थुनाबाट घ्रिच्रो तन्काउँदै ती बाटो हेर्छन् । सरकार आओस्, सुखदुःख सोधोस्, दबाइमुलो गरिदेओस् । आपत्मा ढाडस देओस्, निराशामा आस जगाओस् । र, यो एक्लोपनको बेचैनीमा तिमी एक्लो छैनौ भन्ने उत्साहवर्द्धक वचन देओस् । तर, खोपीवासी विलासवीर सरकारको नाक–मुख कतै देखिँदैन । बन्दुकको बलले बुढापाकालाई घर–घरमा थुनेर, कानमा तेल हालेर सरकार ढुक्कै सुत्छ । यसको अप्रकट अर्थ हो- उपरवाले ख्वामितकाे आदेश मान र बस्तीमाझको एकलास घरमा एक्लिएर एक्लै मर ! मलाई झोँक चल्छ, यो महामारीमा सरकार नागरिकलाई बचाउन होइन, मार्न पो आतुर छ बा !