एक चोटि विदेशी कन्स्लट्याण्टले गरेको कामको मैले प्रिजेन्टेशन दिने अवसर पाएँ। पछि हाकिमको कोठामा छिरेको मात्र के थिएँ, उहाँले बधाई दिनुभयो– ‘गजबको प्रिजेन्टेशन गर्नुभयो। कुइरेले पनि राम्रो मान्यो है!’
कसैलाई प्रिजेन्टेशन गरिदिनु पर्यो भनेर अनुरोध गर्दा प्राय: सोधिने प्रश्न हो– ‘कार्यक्रममा कुइरेहरू पनि हुन्छन्? त्यसो भए धेरै नै मिहिनेत गर्नुपर्छ कि क्या हो?’
गिरिजाबाबुले भन्नु हुन्थ्यो,‘ नेपालको १२ बुँदे शान्ति सम्झौताले यति चाँडो र प्रभावशाली काम गर्यो कि युरोपेली र अमेरिकी नै छक्क परे।’
अफ्रिकीहरू छक्क परेको भए केही उपलब्धि मान्न सकिन्थ्यो। हाम्रो प्रयास उनीहरूको लागि पनि अनुकरणीय भएछ, आफ्नोमा पनि यही प्रयोग गर्छन् कि भनेर। तर कुइरे छक्क परेको भएर झनै उपलब्धि मानियो!
एक जना साथीले बियरको गिलास लिएर अलिकति चुस्कि लगाउँदै टाउको झट्कार्दै ठूलो स्वरमा भित्रैदेखि सन्तुष्ट भए झै गरिभन्यो, ‘आहा......।’
अनि फिँज सुघेर गिलासलाई सम्मानसहित टेबुलमा राखेर भन्यो, ‘यसको स्वाद अजीव छ। थाह छ नेपालको सबैभन्दा राम्रो बियर नै यही हो। कुइरेहरूको साह्रै फेबरेट क्या!’
म छक्क परेँ। सन्तुष्टी भन्ने कुरा पनि ‘एप्रुभ्ड बाइ कुइरे’ पो हुँदोरहेछ।
मेरा एक साथी आफ्नो प्रोफेसनमा धेरै नै माथि पुगिसकेका, गुनासो गर्थे, ‘मेरो LinkedIn मा कनेक्सन रिक्वेस्ट त धेरै नै आउँछ तर कुइरेहरूको खासै आउँदैन के गर्ने?’
अफ्रिकामा काम गर्दा मेरो तान्जानियाको साथीले भन्यो, ‘संसारको सबैभन्दा अग्लो हिमाल किलिमान्जारो हो।’
मेरो पनि राष्ट्रियता जाग्यो र भने ‘हैन, नेपालको एभरेष्ट हो’। उसले पत्याउँदै पत्याएन। ‘त्यो नाम त नेपाली जस्तो सुनिन्न नी?’
मैले भनें, ‘ब्रिटिस लर्ड एभरेष्टले यो पत्ता लगाएको हुनाले उनको नामबाट राखिएको हो।’ अनि बल्ल उसले भन्यो, ‘ब्रिटिसले नै पत्ता लगाएको भए त पक्कै हुनुपर्छ।’
जिल्लामा काम गर्दाको कुरा हो, खानेपानीको ब्राञ्चलाइन उपभोक्ताहरूले खन्न पर्ने भन्ने जनश्रमदानको कन्सेप्ट भर्खर आएको थियो। खनाउन असाध्य गाह्रो, जति मनाउँदा पनि नहुने। खानेपानीमा एउटा कुइरे भोलिन्टियर पनि थियो, स्वाइल इन्जिनियररिङ्गमा मास्टर्स गरेको रे। राम्रो अवसरको लोभमा गरिब देश आएको भन्थ्यो।
खानेपानीको फिटिक्कै केही पनि नआउने उसलाई। तर पनि हामी उसलाई फिल्डमा लिएर जान्थ्यौं, हामीले भनेको उपभोक्ताहरूले पटक्कै नमाने पछि उ जुरूक्कै उठ्थ्यो, नजिकै हामीले मिलाएर राखिदिएको कोदालो समाउँथ्यो र बटारिएको जिभ्रोमा नेपालीमा भन्थ्यो, ‘हैन, खन्नै पर्छ !’
र एक चोटि कोदालोले भूईंमा फ्वाक्क हान्थ्यो। त्यसपछि त त्यहाँ जम्मा भएकाहरू त ह्वार्रर.. कुटो कोदालो खन्ती जे जे हात पर्छ समातेर खन्न लागि हाल्थे।
अहिले हजारौं नेपालीहरू क्रिश्चियन बनेका छन्। तर एउटा कुइरेले हातमा गीता लिएर फोटो खिच्यो भने त्यो भाइरल भइहाल्छ। हाम्रो धर्म संसारको सबैभन्दा राम्रो धर्म, कुइरेहरूले नै यसलाई एप्रुभ्ड गर्यो भनेर दंग पर्छो। र लामै प्रवचन हाल्न थाल्छौं– उनीहरूमा मानसिक अशान्ति भएकोले हाम्रोमा लागेका हुन्, कुइरेहरूले नै हाम्रो संस्कृतलाई कम्प्युटरको भाषा बनाउँदै छन्, यो वैज्ञानिक छ, ...।
एक चोटि शिवरात्रीको दिन पशुपति गएको थिए। बाबाहरूले नै कुइरेलाई गाँजा अफर गर्दा रहेछन्। अनि कुइरेले उसको गाँजा खाएर आँखा चिम्लेर “ओ! दिस इज हेभेन! टू गुड’ भने पछि उनीहरूको जीवन सार्थक हुने रहेछ।
कुनै नेपालीको बिहेमा कुइरेको उपस्थित भनेको त्यो बिहेको शोभा नै हो। उसले पाउने अतिथि सत्कार कल्पना गर्नै सकिन्न। तपाईले आफ्नो गाउँमा ५ लाख सहयोग गर्नुस् त घुस खाएको थियो गर्यो भन्छन्। तर कुइरेले १ लाख सहयोग गर्नुपर्छ, १ किलोमिटरको पञ्चेबाजा र अबिरको र्याली हुन्छ।
कुनै कुइरे देखेपछि नेपालीले सोध्ने प्रश्न हो, ‘तपाईलाई नेपालीहरू कस्तो लाग्यो?’
उसले खत्तम लाग्यो त कहिल्यै भन्दैन। डिप्लोम्याटिकल्ली भन्छ, ‘नेपालीहरू गरिब भए पनि दिलका धनी छन्’। यो दिलका धनी भन्ने कुरा नाप्न मिल्दैन, मान्ने कुरा मात्र हो। अनि कुइरेले नै एप्रुभ्ड गरे पछि प्रमाणितै भै गो नी!
त्यसैले, मैले कुनै प्रोडक्ट बनाएँ र त्यसको मार्केटिङ गर्नुपर्यो भने त्यसको स्लोगन राख्ने छु ‘एप्रुभ्ड बाइ कुइरे’। हाताहात बिक्रि हुनेछ।