चिसो छल्न रारा आउने पाहुना चरी

हिमालमा अत्यधिक चिसाे बढेपछि मान्छेहरु मधेस झरिरहेकाे बेला रारा ताल वरपर जाडाे छल्न विदेशी चराहरु पाहुना बनेर आएका छन्। 

रारा आउने चराहरु युरोप, साइबेरिया, तिब्बत र भारत लगायतका देशहरुबाट छन्।

हाल साइबेरिया, युरोप, मंगोलिया र मानसरोवरबाट पाँच प्रजातिका चरा मौसमी बसाइँसराइ गरी आएको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ। निकुञ्जका अनुसार अघिल्लो वर्ष करिव १८ प्रजातिका चरा चिसो छल्न रारा आएका थिए। 

यहाँ मंसिर दोस्रो साताभित्रै पंखथोप्ले तितु, कालो कन्ठे, चाचर नामका नयाँ प्रजातिका चरा देखिएका छन्।

निकुञ्जका रेन्जर सरोज खड्काले भने, ‘कमकुट, वाटरफल्ब, लिटिलक्रिट, टपटेक, ग्रिट, म्यासेन्जर, खोयाहाँस, कैलोटाउके हाँस, चखेवा-चखेवी, कर्‍याङकुरुङ मरुल लगायत विदेशी चराहरु जाडो छल्न रारा आउने गरेका छन्।’

पुस र माघको चिसोमा रारा तालको पानी तातो हुने, पर्याप्त आहारा पाइने भएकाले चराहरु रारा आउने गरेका हुन। बाहिर देशबाट आउने चरा कम्तीमा पाँच महिना बस्ने गरेकाे निकुञ्जले बताएको छ। निकुञ्जकाे मिलीचौर, ठाकुरज्यूला मन्दिर, ओखर बोट, निजार क्षेत्रमा खोयाहाँस, कपनकुटलगायत प्रशस्त पाहुना चराहरु देख्न सकिन्छ।

तालमा मिसिएका स-साना हिमखोलातिर पनि यी चराहरु उक्लिने गरेको निकुञ्जका कर्मचारी पृथ्वी नेपालीले जानकारी दिए। उनका अनुसार चराहरु राति बास बस्न तालनजिकका ढुंगे ओढार, रूखमा आउने गरेका छन्। 

मंसिर सुरु भएपछि राराको तालदेखि जंगल क्षेत्रमा विभिन्न प्रकारका ठूला-साना चरा देखिनुका साथै चिरबिर सुनिने गरेको रारा मुर्मा गाउँका गोर्ख रोकायाले जनाए। उनका अनुसार जिल्लाभित्रका रैथाने चरा पनि चिसोमा रमाउन रारा जाने गरेका छन्।

गएकाे वर्ष नेपाल पक्षी संरक्षण संघकाे तीन सदस्यीय विशेषज्ञ टोली रारामा आएर फिरन्ते चराहरूको अनुसन्धान गरी फर्किएको थियाे। टोलीले रारामा १ सय ४ प्रजातिका चराहरु फेला पारेको रिपोर्ट छ।

प्रकाशित मिति: : 2020-12-01 09:56:00

प्रतिकृया दिनुहोस्