दिउँसो १ बजे, चिया पिउँदै मग्न भएर बुद्धि सागरको उपन्यास कर्नाली ब्लुज पढिरहेको थिएँ।
मोबाइलमा नोटिफिकेसनको घण्टी बज्यो। बेवास्ता गरें मैले। अरूबेला पनि यस्तै नोटिफिकेसन आइराख्थ्यो।
फेरि एकछिनपछि के सोच आयो मनमा। मोबाइल हेरें। मेरो इन्स्टाग्राममा कसैले फलो गरेको नोटिफिकेसन रहेछ। नाम हेरें। जब नाम पढें झस्किएँ।
अनि मेरो मानसपटलमा विगतका घटनाहरू एकपछि अर्को गर्दै दोहोरिन थाले। फेरि पनि मेरो कानमा उही नाम गुञ्जिन थाल्यो ‘वर्षात’। सुन्दर दिन थिए ती। कलेजका रमाइला दिन।
आज त १४ वर्ष भइसकेछ, वर्षातसँग मेरो भेट नभएको। अनि कुरा पनि नभएको।
त्यो कुनै दिन हुँदैन थियो होला हामी नभेटेको। अनि कुनै साँझ हुँदैन थियो होला हामी गफमा भुलिँदै हिँडेको।
अनि कुनै रात पनि त्यसै बितेन होला, हामी फोनमा बोल्दाबोल्दै सुतेको। कति रमाइला पल थिए, उसँग बिताएका। आँखा अगाडि अतितका यी कुराहरू नाचिरहे।
त्यो साँझ छट्पटीमा नै बित्यो। के गरूँ, कसो गरूँ। वर्षातको प्रोफाइल खोलेर हेरें । उही पहिले जस्तै वर्षात, मन्द मुस्कान, गहुँगोरो हँसिलो।