दिप्सन लुइटेल
सोलुखुम्बुको नेचा बतासेमा जन्मिएका हरि निरौलाले स्कुल पढ्दै गर्दा सुन्ने गर्थे, ‘सीताराम कट्टेल (धुर्मुस) त कलाकार बन्यो रे । सिरियलहरूमा काम गर्छ रे ।’
आफ्नै दाइ (सानीआमाको छोरा) कलाकार बनेको सुन्दा हरि छक्क पर्थे । दाइलाई हेर्न हरि निकै आतुर थिए । ‘एसएलसी त सकियोस् न, काठमाडौं गइहाल्छु’, उनी एसएलसी परीक्षाकै प्रतीक्षामा थिए । आफ्नो बुबा पनि काठमाडौं नै बस्ने भएकाले उनलाई काठमाडौं आउने आँट थियो ।
१४ वर्षको उमेरमा हरिले एसएलसी दिए । एसएलसी सकिएको भोलिपल्ट नै आफूलाई पढाउने शिक्षकको साथ लागेर उनले काठमाडौंको बाटो तताए ।
सोलुबाट जिरीसम्म हिँडेर आउनुपर्ने । जिरीबाट बल्ल काठमाडौंको गाडी चढ्न पाइने । एक रात बाटैमा बास बसेर जिरीसम्म आइपुगेपछि हरिले पहिलो पटक गाडी देखे ।
२०६१ सालको कुरा हाे, माओवादीको आन्दोलन चर्किएको थियो । नेपाल बन्दका कारण हरि तीन दिनसम्म जिरीमा बसे । त्यो समय सरहरूले हरिलाई भन्थे, ‘ऊ त्यस्तै गाडी हो हामी चढेर काठमाडौं जाने… ।' गाडी चढ्नका लागि हरिले लामो प्रतीक्षा गर्नुपर्याे ।
जब हरि गाडी चढे, उनी छक्क परे । सबै घरहरू हिँडिरहेका छन्, रुखहरू जोडतोडले कुदिरहेका छन् । हरिले यस्तै अनुभूति गरे । त्यो पल सम्झिँदै हरि भन्छन्, ‘पछि सरले गाडी कुदेको बेला यस्तै देखिन्छ भनेपछि ढुक्क भएँ ।’