संघीय राजधानी काठमाडौँमा सत्तारुढ नेकपा फुट्ने चर्चा चुलिएको छ । उक्त पार्टीमा ‘सत्ता कब्जा गर्ने’ होड्बाजी फेरि बढेको छ । तीन महिनाअघि भदौमा विवाद समाधानका छ बुँदे सूत्र अघि सारेर निकास दिएका थिए– उपाध्यक्ष वामदेव गौतमले । गौतमको प्रस्तावलाई प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले समर्थन गरेपछि त्यसलाई स्वीकार्न प्रचण्ड समूह बाध्य भएको थियो, त्यसबेला ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीमध्ये कम्तिमा एक पदबाट हटाउन चाहन्थे– वरिष्ठ नेता माधवकुमार नेपाल । दुवै पदबाट हटाउने ‘मिशन’ मा थिए– कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । ओलीविरुद्ध गठबन्धन गरेका नेकपाभित्रका तीनमध्ये ‘दुई गुट’ को संयुक्त ‘मिशन’ त्यसबेला गौतमको ‘मध्यमार्ग’ ले असफल बनाइदिएको थियो ।
तीन महिना नबित्दै त्यो विवाद फेरि बल्झियो, त्यस बेलाभन्दा तीव्र तरंगसहित । प्रचण्ड नेतृत्वको तीन भूपू प्रधानमन्त्री र दुई भूपू उपप्रधानमन्त्री सम्मिलित ‘भूपू पाँच’ को टीमसँग प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले आफ्ना एक उपप्रधानमन्त्री, अनि गृहमन्त्री र अर्थमन्त्री गरी चार जनाको टोलीले सामना गरिरहेका छन् । विपक्षी टोलीबाट एक प्रमुख खेलाडी उपाध्यक्ष गौतमलाई ‘न्युट्रलाइज’ गर्ने रणनीतिमा छन् ।
उपाध्यक्ष वामदेव गौतमको भूमिका गुटनिरपेक्ष भएमा तीन महिनाअघिको स्थायी कमिटीको निर्णय कार्यान्वयन गरी अघि बढ्ने झिनो संभावना बाँकी छ । अन्यथा प्रचण्डले लिखित रुपमै ओलीलाई ‘त्याग’ को माग गर्दै प्रस्ताव दर्ता गरिसकेको र ओलीले त्यो प्रस्ताव अस्वीकार गर्दै प्रचण्डले आफ्नो ‘राजनीतिक जीवन समाप्त पार्न खोजेकाले प्रस्ताव फिर्ता नगरे सँगै जान नसक्ने’ सचिवालयमै बताइसकेको अवस्थामा साढे दुई वर्षअघि भएको नेकपाको एकीकरण ‘इगो–व्यवस्थापन’ हुन नसक्दा टुट्ने अवस्थामा पुगेको छ । यसलाई जोगाउन सामथ्र्य केवल उपाध्यक्ष गौतमले मात्र राख्छन् ।
पार्टीको सर्वोच्च निकाय केन्द्रीय सचिवालयका नौ जना सदस्यमध्ये प्रधानमन्त्री ओलीको पक्षमा उनको सरकारका तीन जना मन्त्रीहरु– उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री एवम् नेकपा महासचिव विष्णु पौडेल स्थिर छन् । पूर्व प्रधानमन्त्री प्रचण्ड पक्षमा वरिष्ठ नेताद्वय पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपाल र पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ स्थिर छन् ।
दुवै पक्षमा चार–चार भएको नेकपा सचिवालयको समीकरण यस्तो बनेको छ– जता उपाध्यक्ष गौतम, उतै पल्डा भारी हुन्छ । उनीसँग निर्णायक मत छ । गत चैतदेखि नेकपालाई शीर्ष नेतृत्वको सत्ता र शक्तिको झगडाले बन्दी बनाएपछि गौतम एक दिन खुमलटार गएर प्रचण्डलाई समर्थन गर्ने अनि अर्को दिन फेरि बालुवाटार गएर ओलीको पक्षमा सहमति जनाउने क्रम नै चल्यो ।
प्रधानमन्त्रीको कुुर्सीमा ‘अर्जुनदृष्टि’ लगाउन थालेपछि गौतमको छवि दिनदिनै ‘क्याम्प’ बदल्ने अस्थिर नेताको छवि बन्यो । पाँचौँ मर्यादामा रहेका गौतम मात्र यस्ता नेता हुन्, जो उमेरमा प्रधानमन्त्री ओली, तीन पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, खनाल र नेपालभन्दा ‘सिनियर’ हुन् । साविक एमालेको निर्माणमा संगठक भएर काम गरेका नेता हुन्– गौतम । सविक एमाले र माओवादी एकीकरणमा सुरुदेखि लागि परेका उनी अहिलेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माणमा पनि सबैभन्दा बढी योगदान छ ।
युवराज खतिवडाले अर्थमन्त्री छाडेपछि गौतम उपप्रधानमन्त्री एवम् अर्थमन्त्री हुन चाहन्थे । तर, गौतमको राष्ट्रियसभा सदस्य र मन्त्री बन्ने विषय सर्वोच्च अदालतमा मुद्दा परेर अड्कियो । प्रधानमन्त्री ओलीले भने गौतमसँग अत्यन्त निकट मानिने महासचिव पौडेललाई अर्थमन्त्री बनाएपछि गौतमको ‘ओली सरकारलाई सफल बनाउन अर्थमन्त्री बन्ने’ आकांक्षामा ठेस पुग्यो । गौतमको यही पीडालाई प्रचण्डले उपयोग गरे ।
नेकपा सचिवालयको अंक गणित यस्तो छ– दुई अध्यक्षले नेतृत्व गरेको दुवै गुट गौतमलाई नाघेर अघि जानसक्ने अवस्था छैन । त्यसैले भदौमा गौतमले अघि सारेको छबुँदे प्रस्तावलाई दुवै अध्यक्षले स्वीकार गरे । त्यसैका आधारमा विवादको निकास निकाल्न महासचिव पौडेलको संंयोजकत्वमा कार्यदल गठन गरे । कार्यदलको प्रतिवेदनबमोजिम नेकपा स्थायी कमिटीले भदौ २६ गते निर्णय गर्यो । जसको निष्कर्ष थियो– संघीय र प्रदेश मन्त्रिपरिषद्मा हेरफेर गर्ने, पार्टीको नीतिगत निर्देशनबमोजिम सरकार चल्ने, पार्टीभित्रका सबै विवादको निकास चैतमा गर्ने एकता महाधिवेशनबाट टुंगो लगाउने ।
गौतमको अर्थमन्त्री बन्ने आकांक्षा पूरा नभएपछि उनी प्रधानमन्त्री निवास, बालुवाटार जानै छाडेका थिए । त्यसबीच प्रचण्ड निवास, खुमलटारसँग फेरि ‘मायाप्रीति’ बढ्यो । अनि असोज महिनाभरि प्रचण्ड बालुवाटार गएर मन्त्रिमण्डल हेरफेरबारे प्रधानमन्त्रीसँग छलफल गर्ने क्रम जारी रह्यो । बालुवाटार गएर छलफल गर्ने र खुमलटार फर्केर समीकरणको बैठक राखी ‘काउन्टर’ रणनीति बनाउने काम भयो ।
मन्त्रिमण्डल पुनर्गठनबारे लगभग भइसकेको भनिएका सहमति पनि बिथोलियो । अनि कात्तिक २२ को बैठक बोलाउन माग सहितको दुई पृष्ठको निवेदन, ओलीले दिएको त्यसको १० पृष्ठको जवाफ र पुनः प्रचण्डले दिएको अर्को १० पृष्ठको जवाफ आयो । प्रचण्डको ‘ओलीले त्याग गर्नुपर्ने’ सहितको १९ पृष्ठको प्रस्ताव वितरण भयो । अनि ती सबै दस्तावेज सार्वजनिक पनि भए ।
अनि देखियो– नेकपाभित्रको ‘जात्रा’ । महासचिव पौडेलले पार्टी एकता बचाउन सामाजिक सञ्जालमार्फत् पार्टीपंक्तिलाई अपील गरे । प्रधानमन्त्री ओलीले नेकपा सचिवालयको मंसिर ३ गतेको बैठकमै प्रस्ताव गरे– ‘प्रचण्डजीको आरोप प्रमाणित भएमा म पदमा बस्न मिल्दैन, उहाँले आरोप प्रमाणित गर्न नसकेमा उहाँले पद छाड्नुपर्छ ।’ उनले प्रचण्डका आरोप अस्वीकार गरे, आरोपलाई खारेज गरेको बताए ।
नेकपा विभाजनको औपचारिक घोषणा मात्र बाँकी भयो । सचिवालयको बैठक १० दिनपछि १३ गते बस्ने, स्थायी कमिटी १७ गते र केन्द्रीय कमिटी बैठक मंसिर २७ का लागि डाकिएको छ ।
यी सबै बैठकले पार्टीको विभाजनलाई नै बल पुर्याउने ओली पक्षको तयारी छ । ओली पक्षको अडान छ– ‘प्रचण्डको अराजनीतिक आरोपपत्र फिर्ता पार्टी एकताको बटमलाइन हो ।’ आफूलाई राजनीतिक रुपमा समाप्त पार्न प्रचण्डले आरोपपत्र पेश गरेको भन्ने ओलीको कडा प्रतिवादपछि सचिवालय १० दिनका लागि स्थगित गरिएको छ । दुवै पक्ष अहिले आ–आफ्नो पक्षका भेला गर्नमा व्यस्त छन् । ओली चाहिँ ‘प्रचण्डलाई दिने जवाफको तयारीमा’ छन् ।
शीर्ष–नेतृत्वको एकसाथ अघि बढ्न तयार छैन तर स्थायी कमिटी सदस्यदेखि तल्लो तहका नेता–कार्यकर्ता फुट्न तयार देखिँदैनन् । ओलीनिकट मानिने महासचिव पौडेलले सचिवालय बैठकमा अघि सारेको सचिवालय विघटनको प्रस्तावलाई प्रचण्डनिकट स्थायी कमिटी सदस्य जनार्दन शर्माले सामाजिक सञ्जालबाट समर्थन जनाएका छन् ।
चितवनमा प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुद्ध नाराबाजी भएकै दिन मंसिर ६ गते पार्टी–एकता जोगाउनसक्ने सामथ्र्य भएका नेकपाका उपाध्यक्ष वामदेव गौतमले दाङको तुलसीपुर पुगेर कार्यकर्तासँग भने, ‘म कुनै गुटमा छैन । म गुटको सधैँ विपक्षमा हुन्छु । मैले पार्टी एकतालाई जोड दिएको छु । पार्टी कुनै हालतमा फुट्दैन ।’ गौतमको अभिव्यक्तिले नेकपाभित्र आशाको सञ्चार भएको छ ।
भरोसा केवल वामदेव !
नेकपाको मर्यादाक्रममा पाँचौँ नम्बरका नेता हुन्– उपाध्यक्ष वामदेव गौतम । कार्यकारी पदका हिसाबले उनी दुई अध्यक्षपछिका तेस्रो नेता हुन् । उमेरमा पाँच शीर्षनेतामध्ये सबैभन्दा जेठा गौतम पार्टी निर्माणमा पनि सबैभन्दा बढी योगदान भएका नेता मानिन्छन् तर ०५४ सालमा एमाले फुटाएर नेकपा (माले) गठन गरेकै कारण हुनसक्छ– उनी साविक एमालेको अध्यक्ष र देशको प्रधानमन्त्री भने हुन पाएका छैनन् । प्रधानमन्त्री नभए पनि तीन पटक उपप्रधानमन्त्री एवम् गृहमन्त्री भइसकेका नेता हुन्।
गौतम त्यस्ता एक्ला नेता हुन्, जो सबैलाई आफ्ना कुरा प्रष्ट भन्न सक्छन् । आदेशको भाषा समेत बोल्ने सामथ्र्य राख्छन् । उनले प्रधानमन्त्री एवम् अध्यक्ष ओलीलाई पनि पटक–पटक भनेका छन्, ‘तपाईं अध्यक्ष हो तर मेरो नेता होइन, साथी हो ।’ महासचिव पौडेललाई त ‘यसो गर्नुस्’ भनेर आदेश नै दिन्छन् ।
तीन पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, खनाल र नेपाल उनीभन्दा ‘सिनियर’ देखिए पनि पार्टीभित्र वरिष्ठता र क्रियाशीलताका हिसाबले गौतम हस्तक्षेप गर्ने हैसियत राख्छन् । सत्ता–स्वार्थले गौतमको कद आममान्छेको नजरमा घटेको देखिए पनि पार्टीभित्र उनको शक्ति निर्णायक छ ।
गौतमले हस्तक्षेप गरेर पार्टी एकताका लागि भन्दै प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्ने मत १३ गतेको सचिवालय बैठकमा राखेमा नेकपा पुनः एकताबद्ध भएर अघि बढ्ने प्रस्थानबिन्दु हुनेछ । अन्यथा प्रचण्ड पक्षको तयारी र ओलीको त्यसविरुद्धको अडान हेर्दा नेकपाको सग्लो स्वरुप खण्डित हुने स्वयम् सोही दलका केन्द्रीय नेताहरु बताइरहेका छन् ।
वामदेवको समर्थनमा शिखर चुमेका ओली
पूर्वी नेपालको झापाका हुन्– प्रधानमन्त्री ओली । पश्चिम बर्दियाका वामदेव गौतम । एमालेभित्र २०५० साल जेठदेखि ०६५ बैशाख ३ सम्म करिब १५ वर्षलामो माधवकुमार नेपालको शासनकालमा दुवैले खुबै पेलाइ खाए । ०७१ सालको नवौँ महाधिवेशनमा जब यी दुईले गठबन्धन गरे, अनि नेपाललाई पराजित गरे ।
ओलीको चातुर्य र वाकपटुतामा जब गौतमको ‘बल’ मिसियो, त्यसको तागतले ओलीलाई संसदीय दलको नेता, पार्टी अध्यक्ष र दुई पटक देशको प्रधानमन्त्री बनायो । उनी नेपाली राजनीतिको सर्वोच्च शिखर चुम्न सफल भए ।
आँट भएका र जोखिम मोल्नसक्ने नेता हुन्– ओली र गौतम दुवै। गौतमकै निरन्तर पहलमा एमाले र माओवादीबीच एकता भयो । झण्डै दुईतिहाई बहुमतसहित ओली दोस्रोपटक देशको प्रधानमन्त्री बने। नेकपा इतिहासमै सबैभन्दा शक्तिशाली पार्टी बन्यो।
दुई वर्षअघि मंसिरदेखि गौतमले ओलीको साथ छाडे । अनि पार्टीभित्र ओलीको शक्ति घट्यो । केन्द्रीय सचिवालयमा समेत ओलीले बहुमत गुमाउन पुगेका छन्।
पार्टीहित नै सबथोक !
पाँच दशकभन्दा लामो राजनीतिक जीवन बिताएका उपाध्यक्ष गौतम पटक–पटक जोखिम मोलेका नेता हुन् । उनी सिद्धान्त बुझेका, अत्यन्त क्रियाशील, व्यावहारिक र अध्ययनशील पनि छन् । इतिहास र संस्कृतिमा राम्रो दखल छ उनको । कुनैबेला पार्टीभित्र अति आदर्श नेता पनि मानिन्थे उनी । पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि ‘प्रधानमन्त्री–सपना’ले उनको कद गिराएको छ । नेकपा विवादपछि उनको अडान समेत ‘पिँधबिनाको लोटा’ जस्तो हुन पुगेको छ ।
वामदेव गौतमका आलोचकहरू भन्छन्– जब सत्तामा पुग्छन्, त्यसपछि वामदेवले आफ्ना सारा आदर्श बिर्सन्छन् । यो गौतमको सबैभन्दा कमजोर पक्ष हो । तर, उनी पार्टीका लागि भनेपछि जे गर्न पनि तम्तयार हुने नेता हुन् । निकट एक स्थायी कमिटी सदस्य भन्छन्, ‘उहाँ पार्टीको हित हुन्छ भनेपछि जे पनि गर्न तयार हुनुहुन्छ, साधनको पवित्रता खोज्नुहुन्न । यही स्वभावले उहाँलाई बेलाबखत विवादमा पनि पारेको छ ।’
उमेरले ७४ पार गरेका गौतम पछिल्लो समय चाहिँ पद पाउनका लागि समेत दिनदिनै अडान र गुट फेर्ने नेताका रुपमा आरोपित छन् । तर, उनको क्षमताकै कारण हो– गुट कमजोर हुँदा समेत ‘इगनोर’ गर्न नसक्ने भूमिकामा रहिरहेका छन् ।
०५० साल जेठ ३ मा तत्कालीन एमाले महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुङ्गामा भएको रहस्यमय जीप दुर्घटनामा मृत्यु भएपछि राष्ट्रिय राजनीतिमा वामदेव गौतमको उदय भएको हो। आश्रितको विरासत सीधै वामदेव गौतमकहाँ आइपुगेको थियो– सङ्गठन विभाग प्रमुखका रूपमा ।
मदन–आश्रितको निधनपछि रिक्त पोलिटब्युरो कमिटीका दुई पदमा पूर्वमहासचिव झलनाथ खनाल र सङ्गठन विभाग प्रमुखको जिम्मेवारीसहित वामदेव गौतम बहाल भएका थिए । ‘मदन–आश्रित हत्याकाण्ड’ विरुद्ध तत्कालीन एमालेले गरेको ‘दासढुङ्गा आन्दोलन’ बाट शीर्षनेताको स्थान बनाएका थिए– वामदेव गौतमले। त्यसको २७ वर्षपछि गौतम गत एक वर्षदेखि फेरि सङ्गठन विभाग प्रमुखको जिम्मेवारीमा छन्– माओवादीसहितको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा ।
‘किङ मेकर’ को भूमिका
पाँच दशकभन्दा लामो कम्युनिष्ट राजनीतिमा उनी एक सशक्त नेताका रुपमा स्थापित त बने तर उनलाई हालसम्म पार्टी र सरकार प्रमुखको पद कहिल्यै प्राप्त भएन् । उनको भूमिका सधैँ ‘किङ मेकर’ को रहिरह्यो। ०५० सालमा माधव नेपाललाई महासचिव बनाउँदा उनी पक्षमा रहे ।
माधव नेपालले ०६५ सालमा महासचिव छाडेपछि झलनाथ खनाललाई महासचिव बनाउन पनि एमाले स्थायी कमिटीमा उनको भूमिका रह्यो । बुटवल महाधिवेशनमा खनाललाई अध्यक्ष बनाउन उनले मुख्य भूमिका खेले । अनि केपी ओलीलाई अध्यक्ष खनाललाई हराएर संसदीय दलको नेता जित्न र नवौँ महाधिवेशनमा अध्यक्ष जित्न पनि उनैको साथबाट मात्र संभव भएको हो ।
माओवादीले सशस्त्र ‘जनयुद्ध’ सुरु गरेपछि त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने अध्ययन गर्न गठित सबैभन्दा पहिलो समितिको संयोजक भए– गौतम । माओवादीलाई सरकारले आतङ्ककारी घोषणा गरेको बेलामा समेत रोल्पा गएर प्रचण्डसँग उनले छलफल गरे ।
उनी माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने तत्कालीन एमालेका सूत्राधार नै हुन् । अनि एमाले–माओवादीको गठबन्धन र पार्टी एकताका एक जना अभियन्ता पनि हुन् । उनी ओली–प्रचण्ड दुवैनेतालाई खुला रुपमा आफूलाई लागेको कुरा भन्न सक्छन् । दुवैसँग व्यक्तिगत सम्बन्ध पनि राम्रो छ ।
माधवकुमार नेपालसँग चाहिँ सम्बन्ध त्यति सुमधुर रहेन । नेपाल महासचिव हुँदाको पेलाइ सहन नसकेपछि गौतमले ०५४ साल फागुन २१ मा पार्टी नै फुटाएका थिए । दोस्रो संविधानसभा निर्वाचनपछि अध्यक्ष झलनाथ खनाल केपी ओलीलाई संसदीय दलको नेता बनाउन राजी भइसकेका थिए तर माधव नेपालले खनाललाई उम्मेद्वार बन्न दबाब दिए ।
यसपटक गौतमले केपी शर्मा ओलीलाई समर्थन गरे र अध्यक्ष खनाललाई हराएर ओली संसदीय दलको नेता बनाउन सफल भए । त्यसपछि ०७१ सालमा भएको पार्टीको काठमाडौंमा सम्पन्न नवौँ महाधिवेशनमा पनि गौतमले अध्यक्षमा ओलीलाई समर्थन गरे । ओली अध्यक्ष लडे । माधवकुमार नेपाललाई पराजित गर्न सफल भए । गौतम फेरि उपाध्यक्ष चुनिए।
सहयोगको बदला धोका !
आफूले इमान्दारीपूर्वक ओलीलाई सघाए पनि ओलीले कहिल्यै आफूसँगको ‘भद्र सहमति’ पालना गरेनन्, सधैँ धोका दिएको गौतमको बुझाइ छ । ओली अध्यक्ष भएपछि संसदीय दलको नेता आफूलाई बनाउने भनी दिएको वचन ओलीले पालना नगरेको उनको चित्तदुखाइ छ । गत संसदीय निर्वाचनमा सुरक्षित ठानिएको बर्दियाबाट गौतम चुनाव हारे । उनले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा ‘प्रोजेक्सन’ गरेका थिए। प्रचण्डले त सार्वजनिक अभिव्यक्ति नै दिएका थिए– भावी प्रधानमन्त्री भनेर।
गौतमको बुझाइमा शायद् त्यही कारण पार्टीभित्रैबाट अन्तर्घात गरेर उनलाई हराइयो । गौतम स्थानीय चुनावमा ३० हजार भोटले वाम गठबन्धन अगाडि रहेको गृहजिल्ला बर्दियाबाट चुनाव लडेका थिए । दोस्रो संविधानसभा चुनावमा विपक्षी उम्मेदवारलाई कम आँकेर निर्वाचनमा ध्यान नदिँदा उनी झिनो मतान्तरले पराजित भएका थिए ।
त्यसपछि उनले आफूलाई पार्टीभित्रैबाट हराइएको ठाने । अनि दूरी बढ्यो– ओलीसँग । २०७५ मंसीर २९ देखि सुरु भएको स्थायी कमिटी बैठकमा गौतमले ओलीविरुद्ध ‘फरक मत’ नै राखे । त्यसपछि गौतमले साथ छाडेका बेला प्रधानमन्त्री ओली सचिवालयमा समेत अल्पमतमा पर्दै आए ।
सकिए भन्यो, फेरि शक्तिशाली
०६७ सालमा माधव नेपाललाई प्रधानमन्त्रीबाट हट्न दबाब दिएपछि एमालेभित्र खूब हल्ला चल्यो– वामदेव गौतम माओवादी भैसके भनेर । त्यसबेला जिज्ञासा राख्दा गौतमले व्यङ्ग्य गर्दै भनेका थिए, ‘म त जान लागेको हैन, साथीहरूले ठेलेर माओवादीमा पुर्याइदिन आँटिसके ।’ गजब त के भने वामदेव पार्टीमा सधैँ शक्तिमै रहे, विरोधीहरू उनीविरुद्ध सधैँ क्रियाशील रहे।
गौतमका लागि ०५६ सालको संसदीय चुनावमा मालेको शुन्य सीट हुनु सबैभन्दा प्रतिकूल अवस्था थियो । एमालेभित्रका बहुसङ्ख्यक राम्रा ‘क्याडर’ लिएर पार्टी फोरेका थिए उनले । पराजयसँगै धेरै राम्रा कार्यकर्ता माओवादी प्रवेश गरे ।
दुःखको कुरा, तीमध्ये धेरै मारिए, बेपत्ता पारिए । माओवादीलाई संगठन विस्तार गर्न मालेको पराजयपछिको निराशा सुवर्ण अवसर बनेको थियो । तर, गौतमले सीपी मैनाली, राधाकृष्ण मैनालीको असहमतिका बाबजुद फेरि मालेलाई एमालेमा निःशर्त विलय गराए । राजनीतिमा आफूलाई पुनर्जीवित गर्न सफल भए।
गत मंसीर–पुसको स्थायी कमिटी बैठकमा ओलीसँग फरकमत राखेपछि वामदेव गौतमलाई वर्षौँदेखि साथ दिँदै आएकाहरूले पनि छाडे । स्थायी कमिटी सदस्य किरण गुुरूङ, रघुवीर महासेठ, मन्त्री पद्मा अर्यालले पनि साथ छाडेपछि पार्टीका उनका आलोचकहरू भन्थे, ‘अब वामदेवजीसँग केशवलाल र हरि पराजुली मात्र बाँकी छन् । गुट सकियो ।’
त्यसपछि पनि गौतम सर्वसम्मतिमा नेकपाको एक्ला उपाध्यक्ष बने । संगठन विभाग प्रमुख छन् । गौतम अहिले पनि नेकपा सचिवालयका एक्ला यस्ता व्यक्ति हुन्, जसको निर्णयले नेकपाको एकता जोगाउन सक्छ । गौतम फेरि शक्तिशाली भएका छन् । पार्टीका लागि दिलो ज्यानले काम गर्ने उनको स्वभाव र पार्टी हित नै सर्वोपरि मान्ने गौतमको सदाबहार सोच छ । त्यसैले यसपटकको संकटमोचन गर्न गौतमले ‘यू–टर्न’ गर्न सक्छन् । तटस्थ तर हस्तक्षेपकारी भूमिका खेल्ने तयारीमा छन् ।