कोरोना महाव्याधिको कहरमा संसार बन्दी बनेको बेला उपन्यासकार सुमित शर्मा ‘समीर’ को उपन्यास ‘प्रवास’ प्रकाशित भएको छ । फरक परिवेशमा लेखिएको उक्त उपन्यासमा केन्द्रित भएर बिएल नेपाली सेवाले उनीसँग गरेको पुस्तक–संवाद:
‘प्रवास’ कस्तो उपन्यास हो ?
प्रवास एउटा 'नोबेला फर्म'मा लेखिएको छोटो उपन्यास हो । यो मूलतः क्यानाडा र पाकिस्तानको लाहोरको परिवेशमा लेखिएको छ । यो अलि विश्वका पाठकलाई लक्ष्यित गरेर लेखिएको छ ।
तपाईं हिन्दू संस्कारमा हुर्केको नेपाली युवक ? स्लामिक समाज, धर्म र संस्कृतिका पात्र किन रोज्नुभएको– ‘प्रवास’ मा ?
म विश्वविद्यालय पढ्न क्यानाडा बस्दा विभिन्न देशबाट आएका साथीहरुसँग भेट भयो– भारत, पाकिस्तान, स्वयम् क्यानाडाबाट आएका । धेरै सिक्ने मौका पाएँ । त्यसैबाट प्रेरित भएर यो लेखेँ ।
तपाईं नेपाली, उपन्यासको मूल पात्र चाहिँ पाकिस्तानी छन् । अरु पात्रहरु पनि भारतीय, क्यानेडिन र थोरै नेपाली छन् । कुनै घटनाबाट प्रभावित भएर पो यो उपन्यास लेख्नुभएको हो कि ?
त्यस्तो कुनै घटनाबाट प्रेरित भएर लेखिएको उपन्यास त होइन । यति मात्र हो– अहिलेको बदलिँदो दक्षिण एसियाली जुन समाज छ, विकासोन्मुख देशको जुन चरित्र छ, उस्तै–उस्तै छ । म त्यहाँ बस्दा मेरो यो बुझाइ भयो । त्यसैका आधारमा यो लेखेको हुँ ।
उपन्यासको मूल पात्र अली छन् । परिवारबाट मुक्तिको खोजीमा क्यानाडा गएको असन्तुष्ट तर जटिल पात्र अली किन रोज्नुभएको ?
असन्तुष्ट र जटिल पात्र यस अर्थमा रोजिएको हो कि बाहिरबाट सरल देखिए पनि पात्रहरु जटिल छन् । उनीहरु विभिन्न विरोधाभाषबीच बाँचिरहेका छन् । वर्तमान समाजले लादेका केही उत्तरायित्व छ । त्यसबाहेकको पृथक मान्छे पनि छ । उसका स्वाभाविक गुणहरु पनि छन् । यसको विरोधाभाषबीच बाँचेका हुनाले यो पात्र तपाईंलाई जटिल लाग्छ । यस्तो पात्र प्रत्येक समाजमा हुन्छन् । हाम्रो समाजमा पनि विद्यमान छन् । पाकिस्तानी समाजमा पनि छन् । भारतीय समाजमा पनि हुन्छन् ।
अली कस्तो समाजको प्रतिनिधिपात्र हो ? अलीको पत्नी जारा, छोरी आयशा र भाइ आकिब सँगको सम्बन्धबारे बताइदिनुस् न ?
अली एउटा विकासोन्मुख देशको निम्न–मध्यम वर्ग वा मध्यम वर्गको एउटा प्रतिनिधि हो । ऊ खासमा पाकिस्तानी समाजको मात्र प्रतिनिधि होइन । यस्तो अवस्थामा रहेका धेरै देश र समाजको ऊ प्रतिनिधि पात्र हो । उसको पत्नी जारासँगको सम्बन्ध दुई किसिमको छ । एउटा उसको साथ पनि खोजेको छ । साथसाथै, जाराबाट एकान्त पनि खोजेको छ । जाराले समग्र रुपमा उनलाई साथ पनि दिएकी छिन् । जाराको आफ्नै कथा पनि छ । स्वयम् अली पनि यसका जानकार हुँदैनन् ।
त्यस कारण यो विरोधाभाषबीचको सम्बन्ध छ– श्रीमान र श्रीमतीको बीचमा । भित्र असन्तोष छ, बाहिरबाट बाध्यात्मक हिसाबले जिम्मेवारी निर्वाह गरिएको सम्बन्ध छ । पिता र पुत्रीबीच एउटा सामान्य बाबुछोरीको सम्बन्ध हुनुपर्छ, जस्तो नेपाली सम्बन्ध छ ।
अलीको भाइलाई मैले अलिकति रोगी चित्रण गरेको छु । अरु कुनै दाइले आफ्नो भाइलाई जुन किसिमले माया गर्छन्, त्यही हिसाबले अलीले पनि माया गरेको छ।
क्यानडामा निर्वासित अलीका मित्र–दम्पती आहिल र हसिताको व्यवहारले प्रवासी क्यानेडियन समाजलाई चित्रण गर्छ त ?
धेरै हदसम्म गर्छ जस्तो लाग्छ, मलाई । क्यानाडामा रहेका आहिल र हसिताको जुन ‘क्यारेक्टर’ छ, त्यसले धेरै हदसम्म अरु देशबाट प्रवासमा गएका मान्छेको स्वभाव प्रतिविम्बित गर्छ जस्तो मलाई लाग्छ ।
आहिले र उसको छोरा बाबेरको बीचमा पनि एक किसिमको सम्बन्ध छ । बुवाले आफ्नो सन्तानले उसले मस्जिदमा जाने काम, आफ्ना आफन्तसँगको सम्बन्ध नत्यागोस् । उसले यन्त्रहरुमा धेरै सम्बन्ध खेर नफालोस् भन्ने छ ।
आमाको चाहना भने छोरो बढीभन्दा बढी आधुनिक बनोस भन्नेमा छ । यसलाई उनले स्वाभाविक मानेकी छिन् । त्यस कारण बुवा र आमा आहिल र हसिताले अलग–अलग चरित्रलाई प्रतिनिधित्व गरेका छन् ।
अलीका मित्र दम्पती छन् दुइटा पात्र । आहिल र हसिता । तिनको एउटा छोरो छ बाबेर । आहिलले बाबेरलाई पिताका हैसियतले परम्परा नबिर्सियोस् भन्ने चाहन्छन्, क्यानाडामा बस्दाखेरी पनि ।
आमा हसिता चाहिँ बढीभन्दा बढी क्यानेडेली समाजमा घुलमिल होस् भन्ने चाहन्छिन् । त्यसकारण माता र पिताका अलग–अलग आकांक्षाहरु देखिन्छन् । हामी आधुनिकीकरणको प्रक्रियामा छौंँ भन्ने आमाले बुझ्छिन् भने बाबुले चाहिँ हाम्रौ सबै कुरा समाप्त हुँदै गयो, छोराको भविष्यका निम्ति आयौँ तर सबै बर्बाद हुन लाग्यो भन्ने किसिमको आफ्नै वेदना छ । त्यस कारणले प्रवासमा बस्ने परिवारको जुन विरोधाभाष छ, दुई पुस्ताबीचको बेग्लाबेग्लै बुझाइ छ, धेरै हदसम्म त्यसको प्रतिनिधित्व गर्छ ।
रिया, रञ्जन र विलियमको स्वभावको चित्रण गर्नुस् न ?
उपन्यासमा अरु प्रमुख तीन पात्रहरु छन् । तीमध्ये एउटी भारतीय मूलकी रिया हुन्, जो अलिभन्दा धेरै कान्छी पनि छिन् । उनी अलीसँगको प्रेममा हुन्छिन् । उनी स्वयम् विवाहिता छिन् । उनका पति र सन्तान भारतमा हुन्छन् । उनी मात्र क्यानाडामा बसोबास गर्दै आएकी हुन्छिन् । उनी प्रेममा केही समय बिताइसकेपछि अलीले छाडेर जाने क्रममा सुरुमा उनले ‘कम्प्लेन’ गर्छिन्– तिमीले मलाई प्रयोग गर्यौ भनेर । पछि फेरि मैले पनि मेरो पतिलाई प्रयोग गरेँ भनेजसरी स्वभावतः नारीको एकखाले मनोविज्ञानलाई प्रतिबिम्बित गर्छिन् । कोमल भावले आफ्नो प्रेमीलाई माया गरेकी हुन्छिन्।
रञ्जन भन्ने नेपाली पात्र छ । ऊ नेपालबाट क्यानाडा गएर बसेको हुन्छ । उसले छोराको निम्ति यो सबै गरेको हुन्छ । त्यस्तै अर्को क्यानेडियन पात्र छ– विलियम । उसले के देखाउँछ भने यहाँ प्रवासीलाई मात्र समस्या छैन, यहीँकालाई पनि त्यत्तिकै समस्या छ । उनले पनि राम्रो काम पाएका हुँदैनन् । राम्रो तलब आउने जागीर पाएका हुँदैनन् । बिहे गरेका हुँदैनन् । बिहे गर्न गाह्रो छ भन्छन् । आम्दानीका स्रोत सीमित छ भन्छन् ।
विलियमको पनि आफ्नै महत्व छ । विलियमले अलीलाई के बुझाउँछ भने बाहिरबाट आएका मान्छेलाई मात्र भेदभाव गरिएको भन्ने प्रवासीहरुबीचमा जुन किसिमको आम बुझाइ हुन्छ, त्यो चाहिँ वास्तवमा गलत हो । विभिन्न कारणले गर्दा धेरै खाले मान्छेले दुःख पाएका छन् र अधिकांशले सुख पनि पाएका छन् भन्ने ‘कमन’ सन्देश दिइरहेको छ ।
के यसले तपाईं स्वयम् तपाईंको प्रतिनिधित्व गर्छ ?
यसले म लेखकको मात्र प्रतिनिधित्व गर्ने होइन– यो उपन्यास । यसको प्रमुख पात्रले धेरै हदसम्म मध्यमवर्गीय परिवारका विकासोन्मु देशको पुरुष मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ । जीवनमा बितेका विभिन्न घटनाहरुलाई मानिसले ‘फस्ट पर्सन न्यारेटिभ’ को आधारमा लेखिएको उपन्यास हो । उसले वर्तमान लोकतान्त्रिक विश्वव्यापी व्यवस्थामा उसले कसरी हेरेको छ भने मानिस कहाँ उभिन्छ, ऊ कति आफैँमा कति पूर्ण कति अपूर्ण छ, कति विभाजित र बाँधिएको पनि छ कति सग्लो छ कति छैन, यी यावत पक्षहरु भएका कारण अलीले म लगायत अधिकांश पुरुषको प्रतिनिधित्व गर्छ ।
मुस्लिम समाजबारे लेख्न कत्तिको असहज भयो ?
सुरुवाती चरणमा चाहिँ अलिकति अप्ठेरो भयो । त्यहाँको समाजको बारेमा अलिकति अप्ठेरो भयो । केही शब्दहरुउपन्यासमा मैले प्रयोग गरेको छु– हुबहु । मलाई शरच्चन्द्र वस्ती दाइले यी शब्द यस्तै राख्दा समाज प्रतिबिम्बित हुन्छ भनेर सल्लाह पनि दिनुभो । त्यसले गर्दा पनि राखेँ । सुरुवाती दिनमा अली अप्ठेरो महसुस भएको थियो ।
पछि अलि सहज हुँदै गयो । मलाई लाग्यो– पाकिस्तानको कुनै अली र नेपालको सुमित वा रञ्जन वा भारतका कसैको बीचमा खासै मतभिन्नता छैनन् । पछि लेख्दै गर्दा त्यति अप्ठेरो महसुस भएन ।
उपन्यास संयोगान्त देखिन्छ तर मिलन हुन पाएको चाहिँ छैन । अन्त्य चाहिँ किन ‘सस्पेन्स’ मै छाड्नुभएको ?
उपन्यास वियोगान्त पनि होइन, संयोगान्त नै हो । यस कारण संयोगान्त छ कि उपन्यासको प्रमुख पात्र अलीले उपन्यासको अन्त्यतिर आएर समग्र सम्बन्धहरुसँग सम्बन्धलाई पुनस्र्थापित गर्छ । उनीहरुलाई भित्री तहसम्म बुझेर पुनस्र्थापित गर्छ । यस कारण यो संयोगान्त नै हो । भौतक दूरी त छ तर बुझाइ उसको बढेको छ ।
मलाई यो ‘सस्पेसियस’ छ जस्तो पनि लाग्दैन । यसदे प्रष्ट के भनेको छ भने मध्ययुगीन समयमा मध्ययुगीन समयमा मध्ययुगीन मानिसले आधुनिक युगमा प्रवेश गर्ने बेलामा जसरी समाज वियोग गर्यो, मध्ययुगीन विशेषता समाप्त भयो भनेर जसरी रोएको थियो, त्यसै गरी उपन्यासमा आधुनिक समयको प्रतिनिधित्व गर्ने अली अब योभन्दा भविष्यको समयमा प्रवेश गर्दा ऊ रोएको छ । म आधुनिक मानिसको जुन विशेषताहरु थिए, त्यो समाप्त हुने भयो भनेर । मेरा भावहरु सकिने भए भनेर । मेरो आजको जुन मानवीय स्वभाव छ, भोलिका दिनमा यसलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’ ले वा ‘बायोटेक’ ले बढी प्रभावित गर्छ होला । सामान्य मनुष्यको मृत्यु हुने दिन विलाप्त हुँदै छ अन्तिममा । त्यस कारण यो ‘सस्पेन्स’ छ भन्ने मलाई लाग्दैन ।
नेपाली पाठकलाई केही भन्न चाहनुहुन्छ भने भन्नुस् ?
नेपाली पाठकलाई अनुरोध गर्छु– एक पटक उपन्यास पढिदिनुस् । तपाईंहरुलाई लागेको प्रतिक्रिया दिनुस् । मेरो पहिलो नेपाली उपन्यास भएका कारणले आगामी दिनमा थप राम्रो लेख्न सकौँ । तपाईंहरुको सुझाव सल्लाहको अपेक्षा गरेको छु ।