प्रधानमन्त्री केपी ओली नेपाली राजनीतिमा चतुर खेलाडी मानिन्छन् । चतुर्याइँकै कारण दुई पटक सत्तामा पुगेका उनले राजनीतिमा इमानदारिता, विधि, पद्धति, प्रचलित मूल्य–मान्यताहरुलाई भने पटक–पटक घोर उपेक्षा गरेको पाइन्छ ।
वाकपटुतामा माहिर उनी कर्मले आफ्नो राजनीतिक उचाइ बढाउनुभन्दा पनि अरुलाई होच्याएकै भरमा आफूलाई अग्लो देखाउन सक्ने आत्मरतिमा रमाउन चाहन्छन् । परिणामस्वरुप संसदीय गणितका आधारमा यति शक्तिशाली सरकारको नेतृत्व गरेर पनि उनले जनताका लागि स्मरणीय काम गर्न ध्यान नै दिन सकेका छैनन् भने नेपालको राजनीतिक इतिहासकै सबैभन्दा ठुलो कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेर पनि उनले पार्टीको भविष्यलाई सुनिश्चित तुल्याउने भूमिकासमेत निर्वाह गर्न सकेका छैनन् ।
हो, बरु उनले सरकारको नेतृत्व गरिरहँदा अनियमितता र स्वार्थका अनेक काण्डहरु प्रकाशमा आएका छन् भने उनले पार्टीको नेतृत्व गरिरहँदा अनेक पटक पार्टीभित्रका विवाद सतहमा पोखिएका छन् र दुई फरक धारबाट एउटै पार्टीमा सामेल भइ सहयात्री बनेका कार्यकर्तापंक्तिमा भावनात्मक एकता महसुस हुन सकेको छैन ।