आइपीएल र सन्दीपको क्रिकेट भविष्य

दीप सुवेदी

काठमाडाै‌ं

‘अहिलेसम्म मेरो यहाँ राम्रो अनुभव छ। सीपीएलमा गरेको राम्रो प्रदर्शनको निरन्तरता यहाँ पनि रहन्छ। यदी मैले राम्रो खेलिरहेको छु भने यसले खासै फरक पर्दैन। वास्तवमा टिमको योजनाअनुसार खेलाडी छान्ने गरिन्छ। अवस्था र सम्भावित जोखिमलाई हेरेर कुन खेलाडी कतिबेला खेल्छ भन्ने निर्धारण गरिन्छ’

यो भनाइ हो, नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछानेको। एक महिनाअघि युनाइटेड अरब इमिरेट्स (युएई) मा इन्डियन प्रिमियर लिग (आइपीएल) को तेह्रो संस्करण सुुरु हुँदा उनी आफू आवद्ध दिल्ली क्यापिटलमा स्थान बनाउने कुरामा विश्वस्त थिए। 

पछिल्लो दुई वर्षयता सन्दीपले विश्वका थुप्रै फ्रेञ्चाईजबाट आफ्नो बलिङको हुनर देखाउने मौका पाइसकेका थिए। अस्ट्रेलियाको प्रतिष्ठित बिग ब्यास, इंग्ल्याण्डकाे द हन्ड्रेड लिग, पीसीएल, ट्रिनिडाड एण्ड टोबाकोमा सम्पन्न सीपीएलको सफलतापछि उनलाई यसपालिको आइपीएलबाट थुप्रै आशा थियो। 

आइपीएलमा सहभागी हुनअघि क्यारेबियन आइल्याण्डमा भएको सीपीएलमा परिपक्व खेल प्रदर्शन गरेका थिए। जसमा जमैका तलावाहजबाट प्रतिनिधित्व गर्दै ११ खेलमा लिएको १२ विकेटको सफलतापछि उनी धेरै आशावादी थिए। सीपीएलमा ५ दशमलव २७ को इकोनोमी रेटले बलिङ गरेका उनी आइपीएलमा सहभागी हुन जमैकाबाट सिधै दुबई उत्रिएका थिए। 

युुएईमा सन्दीपको प्रदर्शन निकै राम्रो थियो। विगतमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै उनले युएईमा धेरै खेल खेलिसकेका छन्। र, उनको युएईमा ‘ट्रयाक रेकर्ड’ पनि राम्रो थियो। फेरि युएईको विकेट तुलनात्मक रूपले स्पिनरका लागि निकै सहयोगी मानिने कारण पनि सन्दीपको खेल्ने कुरालाई लिएर धेरै नेपाली दर्शक आशावादी थिए। 

दिल्लीका अस्ट्रेलियाली प्रशिक्षक रिकी पोन्टिङ सन्दीपको बलिङका प्रसंसक हुन्। उनले नै अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कको सिफारिसमा सन् २०१८ मा सन्दीपलाई दिल्लीबाट मौका दिएका थिए। यतिबेला दिल्लीले उनलाई २० लाख भारतीय रुपैयाँमा भित्र्याएको थियो। 

१६मध्ये ११ खेलपछि मौका पाएका सन्दीपले आइपीएलमा डेब्यु भारतीय कप्तान विराट कोहलीको रोयल च्यालेञ्जर्स बेङ्लोरविरूद्ध गरेका थिए। जसमा उनले २५ रन खर्चेर भारतीय क्रिकेट टिमका पूर्व विकेटकिपर पार्थिव पटेलको विकेट लिएका थिए।
 
सन्दीपले आफ्नो पहिलो आइपीएलमा तीन खेल खेल्ने अवसर प्राप्त गरे। जसमा उनी ५ विकेट लिन सफल भए। उनलाई सुरुदेखि नै नखेलाउने दिल्लीको निर्णयको पछि आलोचना भएको थियो। 

सन् २०१९ मा दोस्रो सिजन खेल्दा पनि उनले खासै अवसर पाएनन्। १६मध्ये ६खेलमा मात्र मौका पाए। यतिबेला उनी ८ विकेट लिन सफल भए। 

सम्झौंता अनुसार आइपीएलमा यो उनको अन्तिम सिजन थियो। अर्को वर्ष आफूूलाई यो भन्दा राम्रो क्लब र पैसामा उभ्याउन पनि सन्दीपलाई यसपालि ‘प्लेइङ सेट’ मा पर्नुुपर्ने बाध्यता थियो। तर, उनी सुरुदेखि अन्तिमसम्म वैकल्पिक खेलाडीको रूपमा बेञ्चमा मात्र थन्किएनन्, आइपीएलमा उनको आगामी भविस्यलाई लिएर पनि प्रश्न उठ्न थालेको छ। 

दुुई वर्षअघि आइपीएलमा छानिएर उनले विश्वभरिका व्यवसायिक लिग खेल्ने मौका पाएका थिए। २० वर्षको उमेरमा उनले पाएको सफलता वास्तवमै लोभलाग्दो छ। तर, यसपालि आइपीएलमा एउटा पनि खेलमा मौका नपाउँदा उनको साख खुम्चिएको छ।
 
भारतीय टिमका तीन उम्दा स्पिनर बोकेर मैदानमा उत्रिएको दिल्ली १३ वर्षपछि आइपीएलको फाइनलमा पुुगेको थियो। जसलाई फाइनलमा मुम्बई इन्डियन्सले ६ विकेटले पराजित गर्दा सन्दीपले बेञ्चमा बसेर खेल हेर्ने मौका मात्र प्राप्त गरे। 

मैदान बाहिर आफ्ना सहकर्मीले विकेट लिँदा खुसीले उफ्रिने सन्दीपको अनुहार प्रतियोगिता अवधिभर खासै उज्यालो देखिएन। दिल्लीले उनलाई सोसल मिडियाको प्रचारमा खुब प्रयोग गर्‍यो तर मैदानमा मौका दिएन। नेट प्राक्टिसमा उनी ‘हेलो हाई’ भनेको देखिन्थे तर टोलीमा अटाउन सकेनन्। 

तीन स्टारको बोझमा सन्दीप

दिल्लीबाट यसपालि अमित मिश्रा, रवीचन्द्रन आश्विन र अक्षर पटेल जस्ता अनुभवी स्पिनर उत्रिए। क्लबले नियमित लेग स्पिनर मिश्रा र अलराउन्डर पटेल हुँदाहुँदै बायाँ हाते अफ स्पिनर आश्विनलाई पनि भित्र्याएको थियो। 

अश्विन पहिले किङ्स–११ पञ्जाबका कप्तान थिए। ७ करोड रुपैयाँमा दिल्ली प्रवेश गरेसँगै सन्दीपको भविष्यलाई लिएर अड्कल काटिएको थियो। 

सन्दीपको तुलनामा मिश्रा अनुभवी बलर थिए। उनलाई दिल्लीले ४ करोड रुपैयाँमा अनुबन्ध गरेको थियो। यसपालि अमितले पनि ३ खेल मात्र खेल्ने अवसर पाए। 

आइपीएलमा कुनै पनि टोलीले एक खेलमा अधिकतम चार विदेशी खेलाडी उतार्न पाउने नियम छ। यसपटक दिल्लीले स्टार ट्याग लागेका वेस्ट इन्डिजका सिमरन हेटमेयर र किमो पल, इङ्ल्यान्डका जेसन रोय र एलेक्स कारे, अस्ट्रेलियाका मार्कस स्टोइनिस र ड्यानियल साम्स तथा दक्षिण अफ्रिकाका एनरिच नोत्र्या र कागिसो रबडालाई महंगो मूल्यमा भित्र्याएको थियो। 

यी मध्ये स्टोइनिस, नोत्र्या र रबडाले नियमित जसो दिल्लीको टोलीबाट प्लेइङ– ११ मा ठाउँ बनाए। 

बाँकी एउटा कोटामा धेरैजसो हेटमेयर उत्रिए। बाँकी खेलमा कारे र साम्सले आलोपालो गरे। तर सन्दीपलाई एक मौका पनि नदिई बिदा गरियो। 

चार जना विदेशी खेलाडीलाई उतार्न पाउने हुँदा र २ सयभन्दा बढी रनको लक्ष्य बनिरहेको अवस्थामा सन्दीप कुनै पनि अवस्थामा विकल्प देखिएनन्। 

दिल्लीबाट प्रायः खेलमा ६ जना बलरले बलिङ गरे। ती मध्ये तीन जना अलराउन्डर थिए। दुई भारतीय स्पीनर पटेल र आश्विन नियमित टोलीमा परे।

असर अन्य लिगमा 

आइपीएलमा एक खेलमा पनि मौका नपाएका सन्दीपलाई अन्य लिगमा पनि असर पर्ने पक्का छ। यसको छनक लंका प्रिमियर लिग (एलपीएल) को छनोटबाटै देखिसकेको छ। केही दिनअघि घोषणा भएको एलपीएलको ड्राफ्टमा उनी कुनै टोलीमा छनोट हुन सकेनन्।

एलपीएल नोभेम्बर २१ देखि डिसेम्बर १३ सम्म श्रीलंकामा हुनेछ। ड्राफ्टमा पाकिस्तानी खेलाडी बढी अनुबन्धित भएका छन्।

आइपीएलमा खेल्न नपाएको असर बिग ब्यास लिगमा पनि पर्ने देखिन्छ। अर्को महिनादेखि सुरु हुने अष्ट्रेलियाको चर्चित लिगमा उनलाई हालसम्म कसैले अनुुबन्धित गरेका छैनन्। 

उनी गत वर्ष मेलबर्न स्टार्सबाट खेलेका थिए। मेलबर्नबाट विदेशी खेलाडीको रूपमा सन्दीप, पाकिस्तानका तीव्र बलर हरिफ रौफ, दिलबर हसनैन र दक्षिण अफ्रिका डेल स्टेन समावेश थिए ।

दुई संस्करण मेलबर्नबाट खेलेका सन्दीपलाई यसपालि क्लबले खासै चासो दिएको छैन। 

सन्दीपले सन् २०१८ मा मेलबर्नबाट ८ खेल खेल्दा ११ विकेट लिएका थिए। सन् २०१९ मा १३ खेलमा १५ विकेट प्राप्त गरेका सन्दीप नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता जुधेकै कारण खेल बीचैमा छाडेर देश फर्किएका थिए। 

त्यो वर्ष मेलबर्न फाइनल प्रवेश गरेको थियो। तर मेलबर्नले उपविजेतामा चित्त बुझाउनु परेको थियो। 

यसपटक बिग ब्यास ३ डिसेम्बर २०२० देखि सुरु भएर ६ फेब्रुअरी २०२१ मा सम्पन्न हुदैछ। मेलबर्नबाहेक अन्य टोलीले विदेशी खेलाडीको सम्झौंता नवीकरण र नयाँ खेलाडी अनुबन्धन थालिसकेका छन्। यस सिजनमा हरेक टिमले ३ खेलाडीलाई ‘प्लेईङ सेट’ मा राख्न पाउने प्रावधान छ। यसअघि बीबीएलमा २ विदेशी खेलाडी मात्र राख्न पाइने प्रावधान थियो। 

यस्तै बीबीएलमा एक टिमले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाइने नियम छ। तर सन्दीप यो सिजन कुन टोलीबाट खेल्ने हुन, यसको टुङ्गो अझै लागिसकेको छैन।

सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटी भन्छन्, ‘सन्दीपले होबार्ट हुरिकेन्स, सिड्नी थन्डर, सिड्नी स्कर्चर्स र पर्थ स्कोचर्समध्ये एक टोलीबाट खेल्न सक्ने सम्भावना छ।’ 

उनले नयाँ टोलीसँग सम्झौता हुने पक्का भएपनि अन्तिम रुप दिन बाँकी रहेको बिएल नेपाली सेवालाई बताए। 

‘नयाँ टोलीसँगको सम्झौता अन्तिम चरणमा छ। यसलाई मूूर्तरुप दिन केही समय लाग्छ। फाइनल भयो भने मिडियामा सार्वजनिक गर्नेछौं,’उनले भने। 

आइपीएलमा सन्दीपले कुनै खेलमा मौका नपाउँदा अन्य लिगमा समेत प्रभाव परेको छ। 

मैदानमा देखिएका खेलाडी फिट र लयमा हुने भएका कारण नियमित खेलिरहेका खेलाडीलाई टिम व्यवस्थापनले मौका दिने गरेका छन्। तर सन्दीप एक महिना लामो चलेको आइपीएलको एक खेलमा पनि देखिएनन्। यसले उनको पहिले जस्तो लय कायम हुनेमा क्लबका लगानीकर्ता सशंकित देखिन्छन्।
 

प्रकाशित मिति: : 2020-11-11 17:50:00

प्रतिकृया दिनुहोस्