घामका किरण मधुर हुँदै गए। दिन ढल्किँदै थियो, अँध्यारो बढ्दै। घनघोर जंगलतितर भित्रभित्रै पसिरहेका उनीहरू रोमाञ्चक त थिए, सँगै त्यो अँध्यारो जंगलसँग केही भय पनि मनभरि आउँथ्यो।
हातमा बन्दुक, काँधमा ब्याग भिरेर टोली फटाफट चितवन राष्ट्रिय निकुञ्जभित्र बढिरह्यो। १२-१५ जनाको त्यो टोलीमा फनिनारायण पौडेल पनि थिए। लामबद्ध भएर टोली आफ्नै गन्तव्यमा अर्थात् ड्युटी पूरा गर्न जंगलभित्र गइरहेको थियो। २०६७ जेठ २० को त्यो दिन। हरेक दिनजस्तै त्यो दिन पनि फनिनाराण निकुञ्ज सुरक्षाको ट्युटीमा छन्। घनघोर जंगलभित्र प्रवेश गर्दैछन्, एक टिमसहित। आर्मी ब्यारेकबाट केही दुरी पार भइसकेको छ।
अपसोच उनी ड्युटीबाट फर्किन पाएनन्। बीच जंगलमै ढले। जंगली गैँडाले पटक–पटक फनिनाराणलाई सिंगमा उन्यो। उनी रगताम्य भए। गैँडाले उनलाई सिंगले उन्नेमात्र गरेन, कुल्चियो पनि। त्यसपछि फनिनारायणको होस गुम्यो। साथीहरु ज्यान बचाउन भागे। फनिनाराणबीच जंगलमा ढले। ‘म त्योबेला चितवन राष्ट्रिय निकुञ्जमा तैनाथ थिएँ, मसहित मेरा साथीहरु पेट्रोलिङ (गस्ती) जाने क्रममा पछाडिबाट मलाई गैँडाले कम्मरमा आक्रमण गर्यो,’ उनले भने, ‘त्यसपछि त्यही ढलेँ। गैँडाले त्यसदिन मेरो प्राण लिन खोजेको रहेछ।’
गैँडाले बेहोस बनाएर छाड्यो। त्यसपछि साथीहरुले उद्धार गरेर उनलाई चितवनस्थित भरतपुर अस्पतलमा भर्ना गरे। उपचारपश्चता होस त खुल्यो तर पूर्ण उपचार सम्भव भएन। दुई दिन भरतपुर अस्पताल बसेपछि काठमाडौँस्थित नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा ल्याइयो।
फनिनारायण छाउनी आउँदासम्म आफूलाई कति चोट लागेको छ भन्नेमा अनभिज्ञ थिए। जब छाउनीमा थप उपचार भयो, तब फनिनारायणलाई थाहा भयो। गैँडाको आक्रमणबाट मेरुदण्ड पक्षघात भएछ।
२२ वर्षीय जवान। जसको सुरक्षामा थिए, उसकै आक्रमणबाट पक्षघात भएपछि जीवन अन्धकार भएको महसुस गरे। फनिनारायणले भने, ‘मैले छाउनीमा उपचार गरेपछि मात्र मेरुदण्ड पक्षघात भएको थाहा पाए। त्यसपछि मेरो जीवन बर्बाद भयो। अब मैले के गर्ने भन्ने ठुलो चिन्ता भयो।’
उनी साढे तीन महिना अस्पतालमा बसे। उपचार गरे। ‘छाउनीमा तीन महिनाको बसाइपछि म १२ वर्ष आर्मीको रिहाब सेन्टरमा बसेँ,’ उनले भने। अस्पतालबाट घर त फर्किए तर पहिलेको अवस्थमा उनी फर्किन सकेनन्। कम्मरमुनीको भाग चलेन। देशको सेवा गर्न हिँडेका फनिनारायण ‘ह्विलचेयर’को सहारामा पुगे।
आर्मीबाट खेलाडी
२२ वर्षको उमेरमा गैँडाको आक्रमणमा परेपछि फनिनारायण सेनाकै सेल्टरमा १२ वर्ष त्यसै जीवन बिताए। त्यो समय उनका लागि दुःखद र संर्घष पूर्ण थियो। उनले भने, ‘आर्मीको सेन्टरमा बस्दा जीवन सकियो र अब जीवनमा कहिल्यै पनि केही गर्न सक्दैन भन्ने सोच आउँथ्यो।’
तर एकदिन उनले रिहाब सेन्टरमा मेरुदण्ड पक्षघात भएका व्यक्तिहरू पनि खेलकुदमा लाग्न सक्ने सुने। फनिनारायणले भने, ‘एकदिन रिहाबमै अग्रजहरूबाट ह्विलचेयरमा बसेर पनि खेल खेल्न सकिने कुरा सुनेँ। त्यसले मलाई उत्साहित बनायो।’
सुरुमा उनले ह्विलचेयरमा बसेर बास्केटबल खेले। सन् २०१० देखि बास्केटबल खेल्न सुरु गरेको उनले बताए। ह्विलचेयरको जीवनबाट खेल जीवनमा फर्किन पाउँदा अर्को जीवनकाे सुरुवात भएको फनिनारायणले बताए। स–साना खेल खेल्दाखेल्दै एकदिन उनी राष्ट्रिय पारा एथ्लेटिक्स खेलाडी बने। त्यसपछि २०१६ मा बास्केटबलसँगै ह्विलचेयर क्रिकेटमा पनि सहभागी भए। हालसम्म पनि उनले यी दुबै खेल खेलिरहेका छन्।
फनिनारायणले ह्विलचेयर बास्केटबल र ह्विलचेयर क्रिकेटबाट राष्ट्रको प्रतिनिधित्व गरेका छन्। उनले २०१४ मा भारत र बंगलादेशसँग राष्ट्रका लागि प्रतिनिधित्व गरे। ‘अन्तर्राष्ट्रियस्तरको खेलमा नेपाललाई चिनाउन पाउँदा एकदमै खुसी लाग्छ,’ उनी भन्छन्, ‘छाउनीमा आयोजनमा भएको खेल निकै यादगार छ। सो खेलबाट मैले राष्ट्रको लागि केही गर्न सकेको थिएँ।’
फनिनारायण टोलीमै रहेकै बेला नेपालले भारत र बगंलादेशमाथि विजयी हासिल गरेको थियो। उनले उक्त खेलपछि राष्ट्रबाट मेडेलसहित केही रकम पुरस्कार प्राप्त गरे।
त्यो आर्मी बन्ने सपना...
नेपाली सेनामा भर्ती भएकाे पाँच वर्षमै फनिनारायण ह्विलचयरमा पुगे। स्याङजामा जन्मेका फनिनारायणको सानैदेखिको सपना थियो- इन्डियन आर्मीमा भर्ती हुने। सामान्य परिवारमा हुर्किएका उनका बुवा पनि इन्डियन आर्मी थिए।
उनका बुबामात्र होइनन्, काका, ठुलोबुवा सबै इन्डियन आर्मी थिए। जसले गर्दा पनि फनिनारायण आफूलाई इन्डियन आर्मीको बर्दीमा देख्न चाहन्थे। आर्मी बन्ने सपनाले उनले ८ कक्षाकाे पढाइ छाडेको बताए। ‘मैले ८ कक्षा पढ्दापढ्दै छाडेँ, त्यसपछि म पनि बुबाजस्तै इन्डियन आर्मीमा भर्ती हुन्छु भनेर भारतको बनारसतिर लागेँ,’ उनी भन्छन्, ‘तर बनारसमा दुई/तीन पटकसम्म इन्डियन आर्मीको लागि भर्ती हुन प्रयास गरे पनि सफल हुन सकेन।’
आर्मीमा सफल नभएपछि उनी आफ्नाे घर स्याङ्जा फर्किए। तर धेरै बसेनन् घरमा। पुनः बनारसमा आर्मी बन्न हिँडे। तर यसपटक उनी बनारस पुग्न पाएनन्। त्यो एउटै कारण थियो, नेपाल आर्मीकाे एक बोली। ‘मसहित केही साथीहरु बनारस जान हिँडेका थियौँ। भैरहवामा आर्मीले चेकजाँच गर्दै थियो। उनीहरुले कहाँ जाने भनेर सोधे,’ फनिनारायणले बिएल नेपाली सेवासँग भने, ‘भारतीय आर्मी बन्न जान लागेको सुनेर सेनाले देशमा यत्रो द्वन्द्व चलिरहेको बेला देशको सुरक्षा गर्ने कि भारत जाने भनेर प्रश्न गरे।’
आर्मीले देशको सेवा गर्ने कि भारत जाने भनेपछि त्यहीँदेखि बनारस नगएको उनी बताउँछन्। त्यसपछि उनी २०६२ सालमा नेपाल आर्मीमा भर्ती भए। आर्मी भएको पाँच वर्षमा फनिनारायणलाई गैँडाले आक्रमण गर्यो र मेरुदण्ड पक्षघातको शिकार भए।