लाहुरे गाथा
करबाकेली क्षेत्रको सामाजिक तथा पर्यटन विकासमा क्रियाशील बेलायती सेनाका रिटायर्ड लाहुरे चामबहादुर पुन बेलायतको सुविधायुक्त जीवनशैलीमा भन्दा म्याग्दीको काफलडाँडा गाउँमा रमाउँछन्।
कोरोना महामारीले मुलुक लकडाउनमा हुँदा उनले जन्मथलोमा ‘पुन सामुदायिक संग्रहालय’ बनाएर उदाहरणीय काम गरेका छन् ।
केही काम नगर्नेका लागि मानिसको चोला निकै लामो हुन्छ। तर, सत्कर्म गर्नेहरूको समय मिलिक्कै वित्छ। जीवन भनेकै समय हो । बाल्यकालदेखि यौवनकालसम्म ज्ञान हाँसिल गर्ने, जोस रहुन्जेल पेशा अपनाउने र सेवानिवृत्त भएपछि परिवारसँग आराम गरेर बिताउने समय ।
जीवनभर मिहेनत, दुःख र भागदौडमा वित्ने जिन्दगीले अवकास पछि राहत पाउँछ । आनन्द पाउँछ । रिटायर्ड लाइफमा कोही आध्यात्मिक मार्गमा, कोही सामाजिक सेवामा त कोही निराशामा जीवन विताउँछन्। मान्छे आ–आफ्नो तरिकाले जीवन सवतन्त्र छ। तर, यो संसारमा निरास भएर कसैले जीवन बिताउनु नपरोस्।
दार्शनिक भन्छन्, ‘जीवन भनेकै जीउने कला न हो।’
जीउन पनि कहाँ सजिलो छ र, यो वर्षको सुरुवातमै मानव सभ्यतालाई नै चुनौति दिने गरी कोरोना भाइरसले आक्रमण गर्यो । गत चैत ११ देखि त नेपाल सरकारले पनि लकडाउन गर्यो । यसरी भाइरसले सिंगो संसारलाई नै बन्दी बनायो।
महामारी घटेको छैन बरु बढेको बढ्यौ छ। हाम्रो मनमा आतंक फैलाएको छ। कहिले कोरोना शान्त हुन्छ, अहिल्यै भन्न सकिँदैन।
लकडाउन अवधिमै काफल डाँडामा पुन सामुदायिक संग्रहालय ठडियो
आखिर महामारीमा पनि बाँच्नु पर्दो रहेछ, दिनचर्या चलिरहेकै छ । लकडाउन अबधि धेरैले त्रासमै बिताए। तर, म्याग्दीका एक जना पूर्व गोर्खा सैनिक चामबहादुर पुनले भने लकडाउनलाई सृजनात्मक बनाएका छन्। उनले लकडाउनमा अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा पुन सामुदायिक संग्रहालय बनाए । दुई तले भवनमा आन्तरिक सजावटका काम समेत भैसक्यो ।
लकडाउनदेखि निरन्तर ८ महिना काफलडाँडामै बसेर संग्रहलय बनाउन रातदिन खटे उनी। केही दिन अघि उनी बेलायत फर्केका छन् । उनी ६४ वर्षका भए । उनको परिवारले बेलायतमा आवासीय सुविधा पाएको छ।
उनी वर्षका केही महिना नेपालमा आउँछन् । जन्मथलोको शैक्षिक, सामाजिक, धार्मिक र पर्यटन विकासमा समर्पित बन्छन् । यसपाली पनि केही महिना संग्रहालयको काम गरेर बेलायत फर्कने योजनासहित आएका थिए। तर, कोरोना भाइरसका कारण लकडाउन भएपछि उनी काफलडाँडामै व्यस्त बने ।
१३ महिना नेपाल वसाइपछि अस्ती असोज ६ गते साँझ उनी बेलायतका लागि उडे । फेरी मंसिर अन्तिममा स्वदेश फर्केर संग्रहालय भित्र सामान सजाउने काममा सक्रिय हुनेछन् ।
संग्रहालयमा पुन समुदायको जीवनशैली, रहनसहन, रीतिरिवाज र संस्कृति झल्कने नयाँ तथा पुराना सामान राखिनेछ।
‘बेलायतमा बसोबास गरिरहेका पुन समुदायको विशेष सहयोगमा संग्रहालय बनाइएको हो’, उनले भने, ‘हङकङ, जापान र अमेरिकातिरबाट पनि सहयोग प्राप्त भएको छ।’
संग्रहालयमा करिब ५० लाख रुपैयाँ खर्च भैसक्यो। झलक्क हेर्दा गण्डकी प्रदेशकै नमुना संग्रहालय बन्ने लक्षण देखिन्छ।
कर्मले सामाजिक अभियन्ता बनेका उनी करबाकेली संरक्षण समितिका अध्यक्ष पनि हुन् । संग्रहालय हातामा करबाकेली बाबाको राष्ट्रियस्तरको थान बनाइएको छ ।
करबाकेली पुन समुदायका कुल देवता हुन् । चामबहादुरकै अगुवाईमा थान, सामुदायिक लज, सभाहल र खेलमैदान बनाइएको छ । त्यसका लागि स्थानीयले निशुल्क १९ रोपनी जमिन उपलब्ध गराएका थिए।
करबाकेली इको ट्रेकमा आउने पर्यटक तथा भक्तजनका लागि ९ कोठे सामुदायिक पाहुना घर सञ्चालन गरिएको छ। त्यहाँ एकै रातमा ५० जनाभन्दा बढी पाहुना बास बस्न सक्छन्।
करबाकेली थान (२,००० मिटर)बाट गुर्जा, धौलागिरि, टुकुचे, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, लगायत दर्जनौ हिमश्रृङखला देखिन्छ। चैत वैशाखमा यस क्षेत्रमा गुराँस ढकमक्क फूल्छ ।
यिनै सृजनशीले गोर्खा लाहुरेको सक्रियतामा पुनहिलबाट फुलबारी, करबाकेली थान हुदै बेनी बजार जोड्ने पदमार्गलाई ‘करबाकेली इको ट्रेक’का रुपमा ब्राण्डिङ गरिएको छ। करबाकेली संरक्षण समितिले कन्सेप्ट नेपालसँगको सहकार्यमा २०७५ वैशाखमा पदमार्ग पहिचान गरेको थियो ।
घोडेपानी, पुनहिल, फूलबारी, काफलडाँडा, करबाकेली थान भएर बेनीबजारलाई जोड्ने पदमार्ग समेटिएको छ । काफलडाँडा, महभीर, बाँसखर्क, मल्लाज हुँदै बेनी झर्न सकिन्छ । त्यस्तै अर्को रुट काफलडाँडाबाट रिमा, फुलबारी, राम्चे, लोप्रे, कुवापानी हुँदै बेनी झर्न पनि सकिन्छ ।
४–५ दिनको पदमार्गमा सुन्दर गाउँवस्ती, वनजंगल हुँदै पुन समुदायको मौलिक कला संस्कृति र प्राकृतिक सुन्दरताको भण्डार भेटिन्छ ।
यसरी पर्यटन र कृषि क्रान्तिबाट मात्र करबाकेली क्षेत्र समृद्ध बन्ने उनले देखेका छन्। यसका लागि बाँचुञ्जेल योगदान गर्ने उनको इच्छा छ ।
लोर्के उमेरमा लाहुरे
कलकलाउँदो १८ वर्षको उमेरमा सेकेण्ड जिआरमा सन १९७३ मा भर्ती भए उनी । तिनताका गाउँमा आएका गल्लाले उनलाई काफलडाँडाबाट तिखेढुंगा छानेर पुर्याएका थिए। तिखेढुंगामा एआरओको छनौटमा परेपछि पोखराबाट भैरहवा हुँदै पक्लिहवा पुगे उनी । त्यहाँबाट हवाइजहाजमा काठमाडौं हुँदै हङकङ पुगे । ९ महिना सैनिक तालिम लिएपछि पक्का लाहुरे बने ।
यसरी चामबहादुर पुनले बेलायती सेनामा १५ वर्ष बिताए। सैनिक जीवनमा हङकङ, बेलायत, क्यानाडा, साइप्रस, बु्रनाई र न्यूजिल्याण्डमा खटिए। इमान्दारी पूर्वक सेवा गरे ।
जवानी पल्टनमै बिताए । पल्टने जीवनका धेरै सम्झनाहरू छन् । न्युजिल्याण्डमा तालिमे हुँदा उनी गोरासँगै परेड खेल्थे ।
‘एक दिन गोराले तिम्रो तलब कति छ भनेर सोधे’, उनले सम्झिए, ‘त्यतिबेला मेरो तलव १४८ न्युजियालेण्ड डलर भएको बताउँदा गोरा छक्क परे। किनकी तिनीहरूको तलब २०० डलर प्रति हप्ता थियो। साथमा अन्य सुविधा पनि।’
यसरी बेलायतले गोरा र गोर्खा सैनिकमा विभेद गर्दै आएको थियो। तर, त्यसको उनले त्यति ख्याल गरेका थिएनन्। जब सन् १९८८ सालमा उनले ब्रिटिश गोरखा सेनाबाट अवकास प्राप्त गरे तब पदमवहादुर गुरुङको नेतृत्वमा गोर्खा भुतपर्व सैनिक संघ (गेसो)मा लागे ।
गेसोले न्याय र समानताको अभियान चलाएपछि मात्र उनले विभेदबारे राम्रोसँग चाल पाए। रिटायर्ड भएपछि उनी सेकेण्ड क्यारियरका रुपमा काम गर्न ब्रुनाई पुगे ।
गेसोको आन्दोलमा हजारौं सैनिकले नैतिक तथा आर्थिक समर्थन गरे। आन्दोलनको फलस्वरुप सन २००७ पछि हजारौं गोरखा सैनिक र तिनका परिवारले बेलायतमा आवासिय सुविधा पाए।
उनको जीवनको अर्को एउटा नमीठो सम्झना–उनका बुवा पुन्यबहादुर पुन ब्रिटिस इन्डियामा गोरखा सैनिक थिए । जापानीसँगको युद्धमा ३ वर्ष ९१९४१–१९४४० युद्धवन्दिका रुपमा उनले विताउनु परेको थियो । त्यसबेला बेलायती सेनाले क्षतिपूर्ती पाए तर उनका बाबाले एक पैसा पनि पाएनन्। घोर अन्याय भयो ।
पछि सन २००७ सम्म जिवित हुनेले मात्र क्षतिपुर्ति पाउने नियम आउँदा उनका बुबाको स्वर्गबास भैसकेको थियो । आमा पनि बितिसकेकी थिइन् ।
बेलायतका लागि बहादुरी साथ लडेका एक योद्धाले युद्ध क्षतिपूर्तिबाट बञ्चित हुनु परेकामा उनी दुःखी छन् ।
कलाकार, लेखक र समाजसेवी चामबहादुर
चाम बहादुर पुन समाजसेवी मात्र नभएर कलाकार, लेखक र अनुसान्धानकर्ता पनि हुन् । उनले करबाकेली सम्बन्धी र गर्बुजा पुन सम्बन्धी किताब लेखेका छन् । विभिन्न संघसंस्थाका महत्वपूर्ण पदमा बसेर योगदा पुर्याउँदै आएका छन्।
उनले सन् २००४ मा ‘डेस्टिनेशन महभिर’ वृत्तचित्र बनाए । ऐंजु भाग १ र २ मा कलाकार बनेर खेले। त्यस्तै गर्बुजा ९पुन० खलकको छोटकरी परिचय पनि लेखे । करबाकेली थान र कुल पुजा देउता पुजा विधि पुस्तक पनि लेखेका छन् ।
यसपटक १३ महिना स्वदेशमा विताएर उनी कात्तिक ६ गते बेलायत उडेका छन् । करिब दुई महिना परिवारसँग भेटघाट गरेर उनी फेरी करबाकेली फर्कनेछन् ।
संग्रहालयको पुरै काम पुरा गरेर उद्घाटन गराउने योजना छ । त्यसैले त उनी भवनको गारो लाउनेदेखि काठ काट्नेसम्म काममा खटिए ।
उनी मनकारी छन् । उनले जीवनभर कमाएर काठमाडौंको घरमा बस्ने भाडावाललाई चैत महिनादेखि कोरोना महामारी साम्य नहुन्जेल २५ प्रतिशत भाडा छुट दिएका छन् । फर्केर हेर्दा जीवन सार्थक भएको अनुभूति छ उनमा । सन्तुष्ट छन् ।
रिटायर्ड लाइफमा सामाजिक काम गर्दाको आत्मसन्तोषले मीठो निन्द्रा लाग्छ। उनको होस्टेमा जीवन साथी राधा, छोरा ध्रुव पुन र बुहारी ज्योतिको पनि भरपुर सहयोग छ । ‘मेरा हरेक काममा परिवारको पूर्ण सहयोग छ’, उनले सुनाए।
उनी अवकासप्राप्त जीवनमा बेलायतमा आनन्दले परिवारसँग बस्न सक्थे । तर उनले मातृभूमिका लागि त्याग गरे । अझै पनि स्वास्थ्य र उमेरले साथ दिएसम्म निरन्तर सामाजिक काममा लागिरहने अठोट गरेका छन्।
‘आफू जन्मेको माटोको ऋण तिर्नु मेरो कर्तव्य हो’, हर्षित मुद्रामा उनले कुराकानीको बिट मारे।
खासमा चामवहादुर कर्मशील देशभक्त नागरिक हुन् । उनको जीवनकथा प्रेरणादायी छ। उनलाई धेरै धेरै शुभकामना !