विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै ऊर्जा मन्त्रालयले शाक्यलाई निमित्त प्रमुख तोकेको हो। 

उनले सोमबार नै पदबाहाली गरेका छन्। उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको हो। शाक्यले हाल नेतृत्व गरिरहेको एनईए इन्जिनियरिङ प्राधिकरणको सहायक कम्पनी हो।  

ऊर्जामन्त्री वर्षमान पुन अनन्तले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए।

ऊर्जामन्त्री पुनले कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरण हाजिर गरिरहेका उपकार्यकारीमध्येबाट निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाललाई बरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिएका थिए।

कोइराला शाक्यभन्दा कनिष्ठ उपकार्यकारी निर्देशक थिए। शाक्य र कोइरालाको एउटै ब्याचमा १२औं तहका लागि बढुवा भएपनि ११ औं तहमा शाक्यको बढुवा कोइरालाको भन्दा छिटो भएको थियो। रिक्त दरबन्दीमा सिनियरमध्येबाट नै जिम्मेवारी तोक्ने प्रावधान छ।

प्राधिकरणबाट घिसिङ बाहिरएपछि शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो दावेदारी रहेको बताएका थिए।
 
पूर्वको इलाम बजार स्थायी घर भएका शाक्य प्रसारणलाइनका जानकार मानिन्छन्। उनी २०७३ अघि अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तरगत तयारी चरणको परियोजनामा पनि खटिएका थिए।

 

प्रकाशित मिति: : 2020-11-09 11:54:00

प्रतिकृया दिनुहोस्