फेसबुक र नेपाली समाज


मार्क जुकरबर्गले सामाजिक सञ्जाल फेसबुकको सुरुवात गर्दा सायदै सोचेका थिए होलान, अहिले जस्तो लोकप्रिय र अपरिहार्य हुन्छ भनेर। उनले फेसबुकको सुरुवात गर्दा याहुको ‘हाइ फाइभ’ र ‘ट्याग्ड’ अत्याधिक लोकप्रिय थियो। 

कुनै देश विशेषमा मात्र प्रयोग हुने अनेकौं सामाजिक सञ्जाललाई अहिले फेसबुकले निकै पछि छोडिसकेको छ।  

अहिलेको जमानामा यदि कसैको फेसबुक अकाउण्ट छैन भने त्यो मान्छेलाई हेर्ने दृष्टिकोण नै अलग हुन्छ। संसारमा हरेक वस्तु वा सेवाको उत्पादन र सुरुवात राम्रो उद्देश्यको लागि हुन्छ। तर, हामीले आफ्नो निहित स्वार्थको लागि त्यसलाई दुरुपयोग गर्छौ, त्यसमा फेसबुक पनि अछुतो र अपवाद छैन।

सन् २०११ को जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ छ। तर, नेपालबाट बनाइएको फेसबुक प्रोफाइल मात्र तीन करोडभन्दा बढी भएको फेसबुक ब्लगबाट प्रस्ट हुन्छ।  

सम्भवत देश बाहिर बसोबास गर्ने नेपालीले विदेशबाटै यस्ता प्रोफाइल बनाएका होलान। यसबाट के थाहा हुन्छ भने फेसबुकमा रहेका अत्यधिक प्रोफाइल नक्कली वा कुनै विशेष प्रयोजनका लागि बनाइएका हुन्। विपरित लिङ्गिको प्रोफाइल बनाएर हँसी मजाक गर्न, आपराधिक प्रयोजनको लागि र कुनै अनुसन्धानको लागि नक्कली प्रोफाइल बनाउने गरेको पाइएको छ।

अमेरिकाको मोन्टाना स्टेट युनिभर्सिटीअन्तर्गत कलेज अफ हेल्थ एण्ड ह्युमन डेभलपमेन्टका विधार्थी जोय ओनिलले गरेको ‘सामाजिक सञ्जाल र मानवीय व्यवहार’ सम्बन्धी अनुसन्धानले सामाजिक सञ्जालको लत र तलतल रक्सी, चुरोट र लागु पदार्थको जस्तै हुने देखाएको छ। जसरी लागु पदार्थको सेवन गर्दा हानी हुन्छ भन्ने थाहा हुँदाहुँदै मान्छे यसको लतमा फस्छ, फेसबुक पनि त्यस्तै हो। 

ओनिलले आफ्नो अनुसन्धानमा फेसबुकलाई नाबालक शिशुको डाइपरसँग तुलना गरेका छन्। जसरी शिशुले ‘सुसु र आची’ ग¥यो कि भनेर उसको डाइपर छिनछिनमा हेर्ने गरिन्छ, त्यसरी नै मानिसहरूले फेसबुक पनि हेर्ने गर्छन। यद्यपि त्यसमा नयाँ र नौलो गतिविधि अपलोड नभएको किन नहोस्! 

अनुसन्धान सहायकको रूपमा यो अनुसन्धानमा म पनि संलग्न थिए। अनुसन्धान सहायकको रूपमा काम गर्दा पंक्तिकारको बुझाई यस्तो रह्यो– ‘नदुखेको टाउको डोरी लगाएर दुखाउन मन लाग्यो भने फेसबुकको प्रयोग गर्दा राम्रो हुन्छ।’ 

मानिसलाई उसले गरेको कार्य वा गतिविधिको प्रसंसा वा आलोचना कसैले गर्यो भने मस्तिष्कमा भिन्नभिन्न किसिमको रसायन उत्पन्न हुने गर्दछ। 

प्रसंसाले निस्केको रसायनले अझै त्यस्तै कार्य गर्न हौसला दिने गर्छ भने आलोचनाको कारण निस्केको रसायनले दुःख र आलोचना गर्ने व्यक्तिप्रति बदलाको भावना उत्पन्न हुन सक्ने समाजशास्त्रीहरूको तर्क छ। 

यसरी सामाजिक सञ्जालमा पोस्ट भएको स्ट्याटस र अपलोड भएको फोटो अर्थात ‘सर्ट टर्म क्रिएटिभिटी’ बाट छिटोछिटो प्राप्त हुने प्रसंसा वा आलोचनाले व्यक्तिको ‘लङ्ग टर्म क्रिएटिभिटी’ क्रमशः ह्रास हुँदै जाने खतरा उत्पन्न हुन्छ। अतः सामाजिक सञ्जाललाई नियमन गरेर मात्र प्रयोग गर्दा उचित हुने विभिन्न अनुसन्धानको निचोडबाट स्पष्ट भइसकेको छ। 

हाम्रा लागि फेसबुक ‘नपाउनेले केरा पायो, चियामा चोपेर खायो’ भने पुरानो उक्तिसँग मेल खान सक्छ। 

पंक्तिकारको विचारमा फेसबुकमा अपलोड गर्ने फोटो असामान्य वा कुनै विशेष अवसरको हुनुपर्छ। त्यसले अन्य व्यक्तिको चाख पनि बढाउँछ। मस्यौरा पारेको, बारीमा फलेको लौकाको, मम पकाएको, मासु र च्युराको जस्ता सबैको पहुँच भएको र सामान्य फोटो अपलोड गर्नु निरर्थक हुने पंक्तिकारको विचार छ। 

फेसबुकमा फोटो अपलोड गर्ने जुन ट्रेन्ड अहिले चलिरहेको छ, भविष्यमा मानिसले मलमुत्र त्याग गर्दै गरेको र लुगा धोएको जस्ता फोटो अपलोड गरे भने अन्यथा नठान्दा हुन्छ। अहिलेसम्म यस्तो फोटो अपलोड भएको मैले देख्नु परेको छैन। कुनै प्रबुद्ध पाठकवर्गले देख्नु भएको छ भने जानकारी गराउन बिनम्र अनुरोध छ।

यसैगरी कुनै व्यक्ति ठूलो पदमा नियुक्त हुने बितिकै उसँग बसेको वा उभिएको, सडक दुर्घटनामा रगतपच्छे भएको हेर्दै मन बिचलित हुने, महङ्गो मुल्यको रक्सी पिएको जस्ता तस्वीर पनि हास्यास्पद हुने पंक्तिकारको विचार छ। 

सायद म गलत हुन सकूला? नाताले पंक्तिकारको भाईबुहारी पर्ने एकजना परिचित महोदयाले पछिल्लो समय यस्ता यस्ता अर्ध नग्न फोटो पोस्ट गर्न थालिन् कि नाताको कारण हेर्न नसकेर मैले प्रोफाइल ब्लक गर्नु परेको नमिठो अनुभव छ। 

मेरो विचारमा अरुको अगाडि हाँसोको पात्र बन्ने काम कसैले नगरेको राम्रो हुन्छ। यदी फेसबुकमा यस्तै मात्र फोटो अपलोड गर्ने हो भन्ने हेक्का पंक्तिकारलाई नभएको हो भने, त्यसको लागि खेद प्रकट गर्दछु। 

यी माथी उल्लेखित अनुसन्धानको निचोडबाहेक अरु सबै पंक्तिकारको नीजि अनुभव हो। म जस्तो मुढे बुद्दिले ठूलाठूला कुराको बारेमा कुनै निश्चित विचार दिन सक्दैन तर आफ्नो सानो मस्तिष्कबाट निस्केको कुरा सेयरू गर्नु राम्रो हुन्छ जस्तो लाग्छ। प्रबुद्ध पाठकवर्ग पंक्तिकारको लागि भगवान बराबर हो। त्यसैले पाठकवर्गलाई नमन गर्दै सम्पूर्ण आलोचना र प्रतिक्रिया सहर्ष स्वीकार गर्ने जानकारी गराउँछु।

प्रकाशित मिति: : 2020-11-08 20:28:00

प्रतिकृया दिनुहोस्