मिहिनेत गरे के हुदैन? भन्ने सानो उदाहरण काठमाडौंको शंखमुलस्थित खोला छेउ पुगे प्रस्ट हुन्छ।
काभ्रेकी हिरामाया तामाङ यही खोला छेउ ५ जनाको परिवारका साथ सानो फर्निचर पसल सञ्चालन गर्दैआइरहेकी छिन्। वर्षोदेखिको उनको यो मिहिनेतले रंग ल्याएको छ। कुनै बेला भोक र समस्याबाट गुज्रिएको तामाङ परिवार अहिले सम्पन्नता उन्मुख छ।
यसको कारण हो, समयअनुसार कामलाई महत्व दिनु। कोरोनाकालमा जहाँ सबै व्यापार–व्यवसाय ठप्प छ, त्यही उनले फर्निचर छोडेर टर्किसको व्यापार सुरु गरेकी थिइन। उनले पत्र–पत्रिकाबाट यसको जानकारी प्राप्त गरेकी थिइन।
टर्किसबाट राम्रो व्यापार हुने थाहा पाएपछि उनले ७ वटा टर्किसको चल्ला पाल्न सुरु गरेकी थिइन। उनलाई टर्किस पाल्नुअघि यसको स्यहारसुसार कसरी गर्ने, त्यो थाहा थिएन। त्यसैले दुईवटा चल्ला बीचैमा मरे। पाँच वटालाई हुर्काउन भने उनी सफल भइन।
पाँच वटा चल्लाबाट सुरु भएको टर्किसको व्यापार अहिले फस्टाएको छ। उनले हालसम्म पाँच सयभन्दा बढी चल्ला बेचिसकेकी छिन् भने अण्डाको त हिसाबकिताब नै छैन।
‘गरेपछि के हुदैन? यसको उदाहरण म हुँ,’ उनले बिएल नेपाली सेवासँग भनिन्।
टर्किसको सफलतापछि उनले हाल बटाई पाल्न थालेकी छिन्। व्यापार बढ्न थालेपछि उनले फर्निचर पसल बन्द गरेर पूर्णरूपमा टर्किसको फार्म हाउस नै खोलेकी छिन्।
खाडीमा ४ वर्ष बिताएका राजु मोक्तानको पनि यस्तै कहानी छ। वैदेशिक रोजगारीका लागि खाडी गएका राजुले खासै प्रगति गर्न सकेनन्।
तर, नेपाल फर्किएको केही महिनामै उनले खाडीमा गरेको दुःखको तुलनामा यहाँ राम्रो प्रगति गरेका छन्। उनले टर्किस चल्ला बनाउने मेसिन बनाएर महिनाको लाखौं कमाउन थालेका छन्।
हिरामायासँगै मिलेर उनले अहिले टर्किस चल्ला उत्पादन गर्ने मेसिन बनाएका छन्। मलेसियाका एक जना डाक्टरबाट उनले यो मेसिन बनाउने तरीका सिकेका हुन्।
हिरामाया तामाङ काभ्रे– नारायणथान
काठमाडौं बसेको धेरै भयो। उमेर पनि गयो। पहिला यहाँ फर्निचर राखे। फर्निचरमा फूर्सदिलो भएपछि कुखुरा राखियो। त्योसँगै ७ वटा टर्की ल्याइयो। यसका बारेमा पहिला थाहा थिएन।
पछि छिमेकीले राम्रो हुन्छ, पालौ भने। ७ मा २ मर्यो। ५ वटा बाँकी रह्यो। त्यहीबाट धेरै भयो। गत फागुनसम्म थोरै थियो। त्यसपछि फर्निचरको काम बन्द गरे। अनि टर्किस बढे। ५ सयभन्दा बढी चल्ला बेचे। राम्रै हुनेरहेछ। बाहिर गएर दुःख गर्नुभन्दा आफ्नै देशमा जान्यो भने विदेश जानुपर्ने रहेन छ। हेर्दा सामान्य लाग्छ तर गरेमा राम्रै हुने रहेछ।
बर्षायाममा केही समस्या हुनेरहेछ। चल्ला हुर्कन– ४ देखि ५ महिनामा अण्डा पार्ने रहेछ। ८–९ महिना पाल्यो भने राम्रै हुने रहेछ।
यहाँ त ठाउँ सानो छ र त यति राम्रो भएको छ। फराकियो जग्गामा गर्यो भने राम्रै हुन्छ। स्यहार गर्यो भने राम्रै हुनेरहेछ। हामीले मेसिन पनि यही बनाउँछौं। अब फर्निचरको काम नगर्ने बरु यही काम गर्ने।
राजु मोक्तान
यो सबैले गर्न सक्ने काम हो। यो काम सबैले गर्न सक्छन्। विदेशमा गएर दुःख गर्नुभन्दा थोरै लगानीले नेपालमै धेरै गर्न सकिन्छ।
मैले विदेशमा ४ वर्ष काम गरे तर भनेजति कमाउन सकिन। छोटो समयमा मैलै त्यो चार वर्षभन्दा धेरै कमाए। मैले टर्र्किसको लागि मेसिन बनाउन थालेको छु। यहीबाट राम्रो आम्दानी भएको छ। मलाई मेसिन बनाउन मलेसियाको एक जनाले सिकाउनु भएको हो। अण्डाबाट चल्ला निकाल्न।
अहिले ४५ भन्दाबढी मेसिन बनाएर बेच्यौ। विदेशभन्दा नेपालमा यो काम धेरै सजिलो छ, मैले जानेको सीप निःशुल्क सिकाउने छु, इच्छुक कोही हुनुहुन्छ भने आउनुहोस्।
एउटा मेसिन १८ हजार देखि ३२ हजारसम्म पर्छ र ठूलो मेसिन १ लाखसम्म पर्छ।
२८ दिनमा टर्किसको चल्ला निस्किन्छ। कुखुराको २१ दिनमा निस्किन्छ। टर्किसको मासु विभिन्न रोग लागेकाले पनि खान मिल्छ।