अन्धकारको घेरामा इतिहासको प्रकाश छर्ने लिपि ज्ञान

अनलाइनखबर

काठमाडाैं

२२ कात्तिक, काठमाडौं । आजभन्दा २६०० वर्ष पहिले भगवान् गौतमबुद्ध कहाँ जन्मिएका थिए भनेर प्रमाणित गर्ने लुम्बिनीको अशोक स्तम्भमा लेखिएको लिपि अहिले जो कोहीले पढ्न सक्दैनन् ।

लुम्बिनीको मायादेवी मन्दिरको सम्मुखमा रहेको त्यो विशाल शिलास्तम्भलाई ध्यान दिएर कसैले हेर्‍यो भने स्पष्ट अक्षर देख्न सक्छ । तर, त्यो अक्षरमा के लेखिएको हो ? त्यो बुझ्नका लागि ब्राह्मी लिपि र पाली भाषाको ज्ञान हुनैपर्छ ।

भक्तपुरको चाँगुनारायण मन्दिरको ढोकैनिर एउटा स्तम्भले आजभन्दा १५०० वर्ष पुरानो इतिहासलाई छर्लङ्ग पारेको छ । तर त्यो पढ्न पनि जोकोहीको वशको कुरा छैन । यसका लागि लिच्छवि लिपि र संस्कृत भाषाको ज्ञान हुनैपर्छ ।

नेपालमा यस्ता सयौं अभिलेख, ताडपत्र, भोजपत्र जस्ता ऐतिहासिक स्रोतहरू छन्, जुन अध्ययन गर्नका लागि लिपिको ज्ञान अनिवार्य छ ।

वि.सं १९३७ तिर नेपालमा कसैले पनि प्राचीन अभिलेखको बारेमा जानकारी समेत नराखेको बेलामा भारतका पं भगवानलाल इन्द्राजीले नेपालका लिच्छविकालका र मल्लकालका केही शिलालेखबारे प्रकाश पारिदिए । त्यसपछि निरन्तर अभिलेख पढ्नका लागि लिपि र सम्बन्धित भाषाबारे चासो बढ्न थाल्यो ।

जुनसुकै क्षेत्रको प्रामाणिक इतिहास खोज्नका लागि लिपिको ज्ञान अनिवार्य शर्त हो

प्रकाशित मिति: : 2020-11-07 14:40:00

प्रतिकृया दिनुहोस्